ad ad

समाज


भारतमा निरोगी युवतीलाई एक महिनापछि कोरोना दोहोरियो, डाक्टरले दिए यस्तो चेतावनी

भारतमा निरोगी युवतीलाई एक महिनापछि कोरोना दोहोरियो, डाक्टरले दिए यस्तो चेतावनी

नेपालखबर
भदौ २२, २०७७ सोमबार १०:९,

भारतमा एक युवतीलाई निको भएको एक महिनापछि फेरि कोरोना संक्रमण भएको छ।

बेंगलुरुस्थित एक निजी अस्पतालका अनुसार एक महिनाअघि संक्रमणमुक्त भइसकेकी २७ वर्षीया युवतीमा पुनः कोरोना पोजिटिभ देखिएको हो।

अस्पतालका अनुसार पहिलोपटक उनलाई गत जुलाईमा कोरोना संक्रमण भएको थियो। उपचारका क्रममा दोस्रोपटककाे रिपाेर्ट पनि कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो। उनमा अरु कुनै राेग पनि थिएनन्। 

तर त्यसको एक महिनापछि अगस्ट २४  देखि उनलाई फेरि जीउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता कोरोना संक्रमणसँग मिल्दाजुल्दा लक्षण देखिए।

फोर्टिस अस्पतालका संक्रामक रोग विभागका सल्लाहकार डा. प्रतीक पाटिलका अनुसार त्यसपछि उनको सुरुमा र्‍यापिड एन्टिजन र त्यसपछि पीसीआर परीक्षण गर्दा दुवै रिपोर्ट पोजिटिभ आएका हुन्।

बीबीसी हिन्दीसँग उनले भनेका छन्, ‘साथै उनमा एन्टिबडी (कोभिड इम्युनोग्लोब्युलिन जी) समेत नेगेटिभ देखियो।’

उनले ‘बेंगलुरुमा यसरी संक्रमण दोहोरिएको यो पहिलो घटना हुनुपर्छ’ भनेका छन्। भन्छन्, ‘सायद उनको शरीरमा संक्रमणपछि पनि रोग प्रतिरोधात्मक शक्ति विकास भएन।’

उनले पहिलेको देखिएको भाइरस र अहिले देखिएको भाइरसको आनुवांशिकता पत्ता लगाउने प्रयास गरिने बताएका छन्। उनले भने, ‘जसबाट यी दुई भाइरसबीच कति भिन्नता छ भन्ने थाहा पाउन सकियोस्।’

तर दुर्भाग्य ती महिलाको पहिलोपटक लिइएको स्वाबको नमुना अहिले नभएको उनले बताए। नमुना लामो समयसम्म राख्न सकिने प्रविधि नहुनाले त्यस्तो भएको उनले जानकारी दिए।

उनले भने, ‘यसको अर्थ बिरामीको उनको शरीरमा एन्टिबडी बन्दै बनेन अथवा कति प्रतिशत बिरामीको शरीरमा एन्डिबडी बन्छ र कति समयसम्म त्यो बनिरहन्छ भन्ने कुरा हामीलाई अझै थाहा छैन।’

डा. पाटिलले यस घटनाले एकपटक काेराेना ठीक भएका व्यक्तिलाई महत्वपूर्ण सन्देश दिएको बताउँछन्।

उनले भने, ‘यस घटनाले के सन्देश दिएको छ भने कोरोना संक्रमण निको भयो भनेर धेरै खुसी भएर लापरबाही गर्न हुँदैन। मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, हात धुनेजस्ता नियम पालना गरिरहन आवश्यक छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .