ad ad

समाज


पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

पचास वर्षपछि सशस्त्र गुल्मको जिम्मा महिला अधिकृतलाई

नेपालखबर
भदौ २४, २०७७ बुधबार ८:३०,

पचास वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छन्। जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन्। प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो।

अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी पोखराअन्तर्गत गुल्मपतिको नामावलीमा उनको नाम ३४ नम्बरमा छ। विसं २०२६ यताका गुल्मपतिमा उनी पहिलो महिला हुन भने नेपालमा दोस्रो गुल्मपति हुन। नेपालको पहिलो पूर्णिमा चन्द नारायणहिटी सुरक्षा गुल्मको गुल्मपति भएकी थिइन्।

जिम्मेवारी बहनसँगै गुरुङले भनिन्, ‘तीन दशक लामो प्रहरी सेवामा शान्ति सुरक्षा र अमनचयनलाई प्राथमिकता दिएर काम गर्दै आएकी छुु, गुल्मपतिको जिम्मेवारीलाई पनि यसको काम, कर्तव्य र अधिकारभित्र रहेर उत्कृृृष्ट बनाउनेतर्फ केन्द्रित हुनेछु।’ उनले गुल्मपतिको जिम्मेवारीले आफूलाई थप ऊर्जा र उत्साह थपेको बताइन्।

आपत्कालीन ब्याक फोर्सका रुपमा रहने गुल्ममा उनको नेतृत्वमा ११० प्रहरी रहनेछन्। गुल्ममा सशस्त्र हतियारसहितका प्रहरी सेवा सञ्चालनसम्बन्धी विविध तालिम प्रदान गरिन्छ। यसअघि उनले दुई दशक लामो समय जिल्ला प्रहरी कार्यालय कास्कीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुखको जिम्मेवारी बहन गर्दै आएकी थिइन्।

कास्कीमा हुने विभिन्न आन्दोलन तथा प्रदर्शनमा हुने दंगा र भीड नियन्त्रणमा नेतृत्व गर्दै समन्वयकारी भूमिकासमेत गुरुङले बहन गरेकी छन्। विसं २०७२ सालमा मानव बेचबिखनविरुद्ध प्रभावकारी काम गरेको मूल्यांकनका आधारमा महिला तथा बालबालिका मन्त्रालयबाट सम्मानित हुनाका साथै दर्जनभन्दा बढी संघसंस्थाबाट उनी सम्मानित भइसकेकी छन्।

गुरुङले प्रहरी सेवामा पछिल्लो समय महिलाको गर्विलो उपस्थिति निकै सकारात्मक भएको धारणा राखिन्। प्रहरी सेवामा महिला सहभागिताले लैङ्गिक समावेशीकरण कायमका साथै समतामूलक र न्यायिक समाजको लागि भूमिका खेल्ने विश्वास उनको छ। उनले २०४९ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रारम्भ गरेकी हुन्। उनले विसं २०६७ मा प्रहरी निरीक्षकमा बढुवा भएर आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक बहन गर्दै आएकी छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .