ad ad

समाज


ग्रिसको आप्रवासी शिविरमा आगलागी, एक हजार व्यक्ति ज्यान जोगाउन भागे

ग्रिसको आप्रवासी शिविरमा आगलागी, एक हजार व्यक्ति ज्यान जोगाउन भागे

नेपालखबर
भदौ २४, २०७७ बुधबार ८:३०,

ग्रिसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार ५०० आप्रवासीले आश्रय लिइरहेका छन्।

शिविरमा रहेका सोमाली एक व्यक्तिमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि केही दिनदेखि उक्त क्षेत्रलाई लकडाउनमा राखिएको थियो।

उक्त द्वीपको प्रमुख शहर माइलिनका मेयर स्ट्राटोस काइटेलिसले शिविरको भित्र र बाहिरको क्षेत्रमा आगो फैलिएको र घरहरु क्षतिग्रस्त भएको जानकारी दिए।

उनले त्यस इलाकामा रहेका करिब १२ हजार आप्रवासीलाई प्रहरीले सुरक्षा दिइरहेको बताए।

उनले भने, “यहाँ निकै कठिन अवस्था उत्पन्न भएको छ किनभने बाहिरबाट भित्र गएका केही व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ।”

आगलागीबाट कुनै पनि व्यक्ति घाइते भएका खबरहरु प्राप्त भएका छैनन्।

प्रहरीका अनुसार आगलागी अबेर राति शुरु भएको थियो। तर आगलागीको कारण र त्यसबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन। लकडाउनको विरोधमा जानाजान आगो लगाइएको हो कि भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ।

स्वास्थ्य अधिकारीहरुले मंगलबार शिविरमा रहेका ३५ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका थिए। निकै बाक्लो संख्यामा रहेका आप्रवासीमा कोभिड–१९ संक्रमणको खतरा भएपछि व्यापक रुपमा परीक्षण गर्न आदेश दिइएको छ। कोरोना पुष्टि भएका व्यक्तिहरुलाई अलग स्थानमा राखेर उपचार शुरु गरिएको छ।

बुधबार बिहान दङ्गा प्रहरी पनि परिचालन गरिएको छ।

गैरकानुनी रुपमा युरोप प्रवेश गर्न खोज्नेहरुका लागि सन् २०१५–१६ मा लेस्बोस निकै व्यस्त प्रवेश विन्दु रहेको थियो। सिरिया र इराक युद्धका कारण भागेका यी आप्रवासीहरु प्रायः टर्की हुँदै ग्रिसको लेस्बोस आउने गरेका थिए।

ठूलो संख्यामा आप्रवासी आएपछि ग्रिसले लेस्बोस र अरु चारवटा द्वीपमा शिविरहरु खडा गरेको छ जसको व्यवस्थापनमा युरोपेली युनियनले आर्थिक सहायता गरिरहेको छ। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .