ad ad

समाज


कोरोना महामारीबीच अस्पतालहरुले कसरी काम गरिरहेका छन्?

कोरोना महामारीबीच अस्पतालहरुले कसरी काम गरिरहेका छन्?

नेपालखबर
भदौ २४, २०७७ बुधबार ९:२१,

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) बाट नेपाल पनि नराम्ररी प्रभावित बनेको छ। सामाजिक, आर्थिक र शैक्षिक गतिविधिहरु ठप्प छन्। पछिल्लो केही सातायता देशभरी नै संक्रमणको दर बढ्दो क्रममा रहेको छ। सरकारले कोरोना नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसककेको भन्दै जनस्तरबाट तिव्र आलोचना समेत भइरहेको छ। 

यसैबीच प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति नै गठन गरेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयास, समस्या र समाधानका लागि उपायसहित अनुगमन गरिरहेको छ। उपसमितिले कोरोना रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल समेत गरिरहेको छ। यसैक्रममा मंगलबार उपसमितिले कोभिड र नन कोभिडका विरामीहरुलाई सेवा दिइरहेका विभिन्न सरकारी तथा निजी अस्पतालका सरकोकारवालाहरुसँग छलफल गरेको छन्।

छलफलमा सहभागी सरकारी तथा निजी अस्पतालका निर्देशक तथा पदाधिकारीहरुले आफ्नो अस्पतालले दिइरहेका सेवा र भोग्नुपरेका समस्याहरु बताएका छन्। नेपालमा कोरोना संक्रमण देखिएपछि आफ्नो अस्पतालबाट सम्पादन भएका सेवाहरु, स्वास्थ्यकर्मीहरुले भोगेका समस्याका बारेमा उनीहरुले समितिलाई जानकारी गराएका छन्। छलफलका क्रममा प्रस्तुत भएका उनीहरुको विचारको सम्पादित अंशः

छलफलमा कसले के भने ?

केदार प्रसाद सेन्चुरी, निर्देशक, वीर अस्पताल
हामीले सुरुमा गेटमै ज्वरो जाँच गर्ने हेल्प डेस्कको व्यवस्था गर्‍यौं। त्यसपछि ज्वरो क्लिनिक, आइसोलेसन वार्ड र अन्य वार्डहरु तोकेर सुरु गर्‍यौं। त्यो भन्दा अगाडि हामीले विभिन्न उप समितिहरु बनायौं। जसले गर्दा काम गर्न सहज भयो। ती समितिहरु अहिले पनि सक्रिय छन्। अहिलेको सन्दर्भमा अस्ति भर्खरै भदौ २१ गतेदेखि अस्पताल कोभिड अस्पतालका रुपमा सेवा दिइरहेको छ। ४ सय ६० बेड रहेकोमा ४ सय २२ बेड सञ्चालनमा रहेको छ। र पुराना स्टक्चरहरु छन्। त्यसै भित्र कोभिड र ननकोभिड दुवैलाई सुरुदेखि नै हामीले छुट्याएर काम गरिराखेका छौं भने अब डेडिकेटेड कोभिड अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने र केही सेवाहरु ननकोभिड पनि सञ्चालन गर्नुपर्ने बाध्यता छ। खास गरेर मिर्गौला सम्बन्धी उपचारको सेवा हाम्रोमा गर्नुपर्ने अवस्था छ। अन्य सेवाहरु हामीले राष्ट्रिय ट्रमा सेन्टरबाट दिने व्यवस्था मिलाएका छौँ।

डा. रोहित पोखरेल कार्यकारी निर्देशक, त्रिवि शिक्षण अस्पताल
लक डाउनपछिको समयमा नन कोभिड विरामीको संख्या कम भएपनि त्रिवि शिक्षण अस्पतालले आकस्मिक सेवा, अपरेशन र ओपीडी सेवा खुला गरेर सेवा दिइरहेको छ। अहिले सबैभन्दा बढी अस्पतालले अपरेसनमा आकस्मीक र न्यून आकस्मीकलाई प्राथमिकता दिएको छ। तर आवस्यकता अनुसार सबै अपरेशन गर्ने गरेका छौँ। तर ननकोभिडलाई अलिकति कम गर्नुको कारण के हो भने स्रोतहरु धेरै खर्च नगरौं पछि गाह्रो प¥यो भने अप्ठेरो होला भनेर सकेसम्म इमरजेन्सी र सेमि इमरजेन्सी अपरेसनको लागि मात्रै ध्यान दिएका छौं। कोभिडको लागि चैत महिनादेखि भदौको अन्तिमसम्म आउँदा झण्डै ३ हजार कोभिड संकास्पद विरामीहरुलाई हामीले सेवा दिएका छौँ। त्यो मध्ये झण्डै १३ सय विरामी भर्ना गरेर उपचार गरेका छौं। गणेशमान सिंह भवनमा नाक कान घाँटीको ओपीडी अपरेशन र वार्ड सबै चलिराखेको र अर्थोपेडिकको चाहिँ वार्ड र अपरेसन थिएटर भएकोमा कुल पाँचवटा अपरेसन थिएटर भएकोलाई हामीले कोभिड ब्लक भनेर सेपरेट गर्‍यौं। ताकि त्यो भिन्दै भएको हुनाले छुट्याउन सकियोस् भनेर हामीले गरेका थियौं।

तर अहिलेको अवस्थामा विरामीहरुको चाप हेरेपछि हामी अर्को म्याटोनिटि ब्लकलाई पनि कोभिडको लागि प्रयोग गरेका छौं। त्यस्तै एनएस थ्रीलाई पनि कोभिडको वार्ड भनेर अहिले हामीसँग कोभिडको लागि भनेर १ सय २० वटा बेड छुट्याएका छौं। निकट भविश्यमा हामी २ सय वटा बेड छुट्याउने पक्षमा छौँ। अहिलेसम्म हामीले २ सय ३३ जना कोभिड बिरामीलाई सेवा दिएर पठाएका छौँ। हेमो डायलासिस हामीले दिनमा झण्डै ४० वटा गर्छौं। दुईवटा हेमो डायलासिस मेसिन कोभिडको लागि छुट्याएका छौँ। कोभिड पोजेटिभ भएको विरामीको डायलासिस त्रिवि शिक्षण अस्पतालमा मात्रै हुन्छ। अहिलेसम्म १८ जना पोजेटिभ केस भएका बिरामीको हेमो डायलासिस गरेका छौँ। अहिले बच्चाहरुको पनि पोजेटिभ केस आउन थालेपछि हामीले पीआईसीयू वार्ड बच्चाहरुको लागि छुट्यायौँ र त्यो वार्डमा अहिलेसम्म २८ जनालाई भर्ना गरेर सेवा दिएका छौँ। भेन्टीलेटरमा पाँच जनालाई सेवा दियौँ भने कोभिड पोजेटिभ भएका बच्चाहरु २ जना थिए।

डा. रवि शाक्य कार्यकारी निर्देशक, पाटन अस्पताल
कोभिड संक्रमणको दर बढेसँगै पीपीई लगायतका सामग्रीको अभाव हुने देखेर हामी आफैँले त्यसको उत्पादन सुरु गर्‍यौं। पीपीई, मास्क र सेनिटाइजर सबै उत्पादन गरिरहेका छौँ। तर अहिले पनि पर्याप्त त छैन तर सक्दो उत्पादन गरेर हामीले प्रयोग गरिरहेका छौँ। आजको मितिसम्म हाम्रो अस्पतालमा २ हजार कोडिभका विरामीहरु भर्ना भएका छन्। जसमा १८ सयजना निको भएर घर फर्किएका छन्। अहिले १ सय १० जना उपचाररत छन्। ३० जनाको मृत्यु भएको छ। हामीले २ वटा मेसिन राखेर लगातार हेमोडायलासिस गरिरहेका छौँ। कोभिड वार्ड भित्र पनि सबै सेवा सुविधाहरु छन्। त्यहाँ सुत्केरी सेवा, साइक्याटिक सेवा र सर्जरीहरु सबै सेवा दिइरहेका छौँ। सर्जरीको छुट्टै सेटअप पनि छ। कुनैपनि अरु सेवाहरुलाई बन्द गरेको अवस्था छैन।

अहिले हाम्रो स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण देखिएको अवस्था छ। अस्पतालको बिरामीबाट सर्ने भन्दा पनि कम्युनिटीबाट नै सरेर आएर एउटा स्वास्थ्यकर्मीले अर्कोलाई सारेको अवस्था बढी छ। बरु कोभिड वार्डमा छिर्नेहरु एकदमै सतर्क भएका छन्। उनीहरुमा त्यति फैलिएको छैन। अरुहरु फैलिएको अवस्था छ। आजको दिनमा करिब करिब ३ दर्जनजति पोजेटिभ भएर अहिले पनि १६ जना भर्ना भएर उपचार गराइरहेका छन्। स्वास्थ्यकर्मी अथवा काम गर्ने म्यानपावरको पनि हामीलाई कठिनाई भइरहेको छ। संक्रमण नभएका स्वास्थ्यर्मीहरु पनि त्रसित बन्दै गएका छन्। उनीहरुको मनोबल एकदमै कम भएको अवस्था छ। काम गरेपनि जस पनि नदिने समाजले पनि सम्मान पनि नदिने अवस्था छ। त्यो अवस्थामा स्वास्थ्यकर्मीहरुबाट काम लिन एकदमै गाह्रो भएको छ।

डा. संगिता शाक्य कोभिड व्यवस्थापन प्रमुख, बिएण्डबि अस्पताल
सबै भन्दा ठूलो गल्ती कोभिड र नन कोभिड विरामीहरु एकै डाउँमा राखेर भएको छ। त्यो गल्ति हामीले गरिरहेका छौँ। बरु यो गर्नुको सट्ट कोभिड डेडिकेटेड अस्पतालहरु क्षमता बढाएर कोभिड बिरामीहरुलाई कोभिडका लागि तोकिएका अस्पतालमा राख्यो भने कमसेकम ननकोभिड बिरामीले त सेवा पाउने भयो नी। स्टाफहरुले बिरामी छुनै डराउँछन्। हामीले त्यो समस्या भोगिरहेका छौँ। नर्सहरुले छुनै डराउँछन्। अब बच्चा एकजना आएको छ इमरजेन्सीकोले लिन मानिरहेको छैन हामीले बिएण्डबिमा यो समस्या भोगिरहेका छौँ। इमरजेन्सीमा आएको स्टाफहरुले के भन्छ राति १२ बजे आएको बच्चालाई बिहान ४ बजेसम्म इमरजेन्सीमा नल्याउ भन्छ। पीसीआर टेस्ट गरेर मात्र ल्याउ भन्छ। यो हाम्रो अस्पतालको समस्या मात्रै होइन अरु अस्पतालमा यस्तै समस्या छ। जबसम्म हामीलाई फोन आउँदैन तबसम्म तुरुन्त बच्चालाई उपचार गर नभनुन्जेलसम्म लिनै नमान्ने। यो समस्या छ। यो हामीले भोग्दै आएको म त यसमा लाज नै मान्दिन म त भन्छु। हाम्रै कर्मचारीले गररहेको छैन। अनि त्यो बिरामीलाई त्यहा गाह्रो भयो। के हामी ठिक गरिरहेका छौँ यो गरेर? २० प्रतिशत सबै अस्पतालमा कोभिड बिरामी राखेर संक्रमणको झन जोखिम भयो।

डा. चक्रराज पाण्डे, मेडिकल डाइरेक्टर, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
डाक्टर, नर्स र हाउसकिपिङहरुको सुरक्षाका लागि एकदम क्रिटिकल छ हाम्रो लागि। त्यो भन्दा अर्को ठूलो कुरा भनेको विरामीलाई जुन खालको आत्मबल दिएर उपचार गर्नको लागि धेरै लगानी जरुरी हुन्छ तर पब्लिकले हेर्दा निजीमा आफूले पैसा तिरेर उपचार गर्ने अधिक खर्च हुने अवस्था अहिलेको बेलामा मैले देखेको छु। कोभिड बिरामी लिनु सुरु भएपछि हामीले ४६ जना बिरामीलाई भर्ना ग¥यौं। जसमा धेरै सिरियस बिरामीहरु आइसीयूमा भना गर्यौं। हामीले कोभिडका लागि १२ वटा आइसीयू बेड छुट्याएका छौँ। हामीले खर्च गर्न सक्ने विरामीलाई एकल कोठा दिएका छौँ। अलिकति कम खर्च गर्न सक्ने र आइसीयूमा राख्न नपर्नेलाई चार जनाको बेड उपलब्ध छ। जुन आइसीयूमा राख्न नपर्ने त्यस्तो खालको इकोनोमिक बेड त्यो भन्दा तल्लो बिरामीलाई १८ बेडको आइसोलेसन गरेर सरकारले मागेको २० प्रतिशत बेडमा हामीले झण्डै ३० प्रतिशत बेड अस्पतालको कुल क्षमताको बेड थपेका छौँ। ४६ जना बिरामी भर्ना भएकोमा २२ जना निको भएर घर फर्किएका छन्। भेन्टीलेटरमा राखेको उपचार गरिएको तीन जना घर फर्किएका छन्। जसमा प्लाज्मा थेरापी, रेन्डीकेसन जस्ता रेन्डिसिपेड जस्ता सेवाहरुपनि दिइएको थियो। केही विरामीलाई नेगेटिभ भएपनि नर्मल वार्डमा सार्न सक्यौँ। अहिले पनि २३ पोजेटिभ बिरामी अहिले पनि हाम्रो अस्पतालमा हुनुहुन्छ।

अर्को चुनौतिको कुरा भनेको स्टाफको हो। अव वार्डमा पीसीआर गर्नुभयो बिरामीको पीसीआर नेगेटिभ अब बिरामीलाई सर्जरिमा लिएर गयौँ। सर्जरीमा लग्यौँ अपरेसन भयो सबै ठिक छ दुई दिन पछि ज्वरो आउँछ। अब पीसीआर गर्‍यो अब पोजेटिभ आउँछ। त्यो कसैले पनि भविश्यवाणी गर्न नसक्ने चुनौति छ। स्टाफ र डक्टरलाई उत्प्रेरित गर्न उनीहरुको उपचारमा लागेको खर्च अस्पतालले गर्ने, खानकिको व्यवस्था गर्ने, उनीहरुलाई होटल अथवा अस्पतालको बेडमा भर्ना गरेर टेक केयर गर्ने गर्दा आर्थिक क्षेत्रबाट सर्भाइभ हुने देखिँदैन। तर अर्को विकल्प पनि छैन किन भने स्टाफको केयर गर्न सकेनौँ भने उनीहरुलाई समयमा तलब दिन सकेनौँ भने त हाम्रो अस्पतालले कोभिडको सेवा दिने कुरा त परै जाओस् उनीहरुको केयर पनि हाम्रो लागि धेरै चुनौति हुन आउँछ। कोभिड मेडिकल संक्रमण मात्रै नभएर यो समाजिक चुनौति हो। अहिले जसरी सरकारी संस्थालाई गाह्रो छ त्यो भन्दा कम गाह्रो निजी अस्पताललाई छ भन्न मिल्दैन।

डा. अजय खड्का आइसालेसन इञ्चार्ज, नर्भिक अस्पताल
स्टाफहरुलाई छुट्टै होस्टल लिएर राखिएको छ। खाना लगायतको व्यवस्था सबै अस्पतालले नै गरेको छ। कर्मचारीका लागि इन्सेन्टीभको रुपमा तलबमा नै थप गरेर दिने गरिएको छ। बिरामीलाई असर नहोस् भनेर कोभिडका विरामीहरुको उपचारका लािग भवन छुट्याइएको छ। २८ जना पोजेटिभ बिरामीको उपचार भएकोमा अहिलेसम्म ९ जना डिस्चार्ज भएका छन्। दोस्रो अथवा तेस्रो परीक्षणमा नेगेटिभ आएको खण्डमा डिस्चार्ज गरेर पठाउने गरेको छ। आफ्नो ल्याब नभएको कारण परीक्षणको लागि बाहिर पठाउने गरिएको छ।

डा. जेनश आचार्य, सह निर्देशक, केएमसी अस्पताल
जेठ १० गते पहिलो बिरामी लिदा हामीले सिनामंगलमा ९ सय ३० जना बिरामी स्क्रिनिङ क्लिनिकबाट हेरिरहेका थियौँ। आजको दिनसम्म ३८ हजार ६ सय ६२ जनालाई ओपिडि सेवा दिइसकेका छौँ। २२ हजार १ सय ६६ जना भर्ना भएर निको भएर ननकोभिड बिरामीको उपचार भएको छ। इमरजेन्सीमा ४ हजार ७ सय ८१ जना बिरामीलाई सेवा दिइसकेका छौँ। अहिले सम्म ११ सय वटा सर्जरी भइसकेको छ भने ७ सय ८८ वटा डेलिभरी भइसकेको छ। दुवाकोटमा आजको दिन सम्ममा २ सय ६ जना कोभिडको संकास्पद बिरामीलाई आउने वित्तीकै क्वारेन्टाइनमा राख्ने काम गर्‍यौं। दुवाकोटको हस्पिटल पनि ग्रिन जोन र रेड जोनमा वर्गिकरण गरेर ग्रिन जोनमा डेन्टल कलेज भएको हुनाले डेन्टल सुविधा दिएका थियौँ। रेड जोनमा लिफ्ट प्रयोग गरेर संकास्पद बिरामीलाई ८ तलामा राख्यौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .