ad ad

समाज


अब ‘नो हर्न, नो ओभरटेक’

अब ‘नो हर्न, नो ओभरटेक’

नेपालखबर
भदौ २५, २०७७ बिहिबार १:३५,

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले बुधबारदेखि दमौली बजारमा हर्न बजाउन र ओभरटेक गर्न निषेध गरेको छ।

दमौली बजारभित्र तीव्र गतिमा सवारी चलाउने क्रम बढेपछि ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न र नो ओभरटेक’ को अवधारणा ल्याएको हो।

अनावश्यक रुपमा हर्न बजाउने र ओभरटेक गर्ने प्रवृत्तिले दुर्घटना बढाएकाले दुर्घटना न्यूनीकरणका लागि यो अभियान शुरु गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए।

‘तीव्र गतिमा सवारी हाँक्दा दुर्घटनाको जोखिम र अनावश्यक रुपमा हर्न बजाउँदा कोलाहल हुने भएकाले यो अभियान शुरु गरेका हौँ’, उनले भने, ‘शुरु शुरुमा सवारी चालकलाई यसबारेमा जानकारी गराउने र अटेरी गर्नेलाई कानून बमोजिम कारवाही गर्नेछौँ।’

प्रहरीको यो अभियानलाई तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाईले साथ दिएको छ । एकाईले प्रहरीलाई सचेतनामूलक चार वटा सङ्केत सामग्री हस्तान्तरण गरेको छ । सङ्केत सामग्रीमा तीव्र गतिमा सवारी नचलाऔँ, ओभरटेक नगरौँ र हर्न नबजाऔँ भन्ने सचेतनामूलक सन्देश राखिएको छ।

दमौली बजार क्षेत्रको सवारी व्यवस्थापनका लागि एकाईले विगतदेखि नै प्रहरीलाई सहयोग गर्दै आइरहेको एकाई सभापति राजकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार एकाईले सहयोग गरेको उक्त सङ्केत सामग्री दमौली बजार प्रवेश गर्ने बुल्दी र मादी पुलमा राखिनेछ। त्यसका साथै भोर्लेटार चोक र जिल्ला प्रहरी कार्यालय अगाडी पनि उक्त सामग्री राख्ने तयारी छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक अरुण पौडेलले सवारी व्यवस्थापनका लागि सामाजिक सङ्घसंस्थाको सहयोग सकारात्मक रहेको बताए। तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष मानकाजी श्रेष्ठले प्रहरीसँग हातेमालो गर्दै सामाजिक क्षेत्रका काममा सहयोग गर्न व्यवसायी तयार रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .