ad ad

समाज


सुदूरपश्चिममा कोरोना कहरः सहरमा बढ्दै, गाउँमा घट्दै

सुदूरपश्चिममा कोरोना कहरः सहरमा बढ्दै, गाउँमा घट्दै

गोकुल जोशी
भदौ २८, २०७७ आइतबार ९:३८,

शनिवार कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भयो। तीमध्ये १० जना कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार क्षेत्र पर्ने भीमदत्त नगरपालिका–१८ का थिए। सहरी क्षेत्रमा कोरोना संक्रमण तीव्र भइरहेको यो एउटा उदाहरण मात्रै हो। पछिल्लो समय सुदूरपश्चिमको सहरी क्षेत्रमा कोरोना संक्रमण दिन–प्रतिदिन बढ्दै गएको छ।

सुरुवातमा भारतबाट फर्केर गाउँ–गाउँ पुगेका मानिसमा संक्रमण देखिने क्रम थियो। यद्यपी अहिले भने संक्रमण भीडभाड हुने सहर क्षेत्रतिर बढ्न थालेको हो। झण्डै चार महिना लामो लकडाउन र त्यसपछि जारी निषेधाज्ञा खुकुलो हुँदै गएपछि सहरी क्षेत्रमा भीडभाड बढ्यो।

त्यसले गर्दा पछिल्लो समय सहरी क्षेत्रमा संक्रमण तीव्र रुपमा फैलिएको चिकित्सकहरु बताउँछन्। भीडभाड हुने सहरी क्षेत्रतिर दैनिक संक्रमण बढिरहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले बताए।

‘लकडाउन खुलेपछि सबैतिर मानिसको आवतजावत भयो, भीडभाड बढि हुन थाल्यो’ धामीले नेपालखबरसँग भने, ‘लकडाउन खुल्नुको अर्थ महामारीको जोखिम घटेको ठानेर मानिसहरुले हेलचेक्र्याइँ गरे। जसले संक्रमण फैलिरहेको छ।’

मास्क नलगाउने र दूरी कायम नगर्दा संक्रमण भीडभाड हुने घनाबस्तीतिर फैलिएको उनको भनाई छ।

यस्तो छ सहरी क्षेत्रमा संक्रमणको अवस्था
पछिल्लो समय सुदूरपश्चिमका सहरी क्षेत्रमा संक्रमण तीव्र रुपमा फैलिँदै गएको छ। अहिले ग्रामिण क्षेत्रमा फाटफुट मात्रामा संक्रमण देखा परिरहेको तथ्यांकले देखाउँछ। कैलाली, कञ्चनपुर, डोटी र अछाममा संक्रमण तीव्र रुपमा फैलिरहेको छ। पछिल्लो समय संक्रमण तीव्र भइरहेका यी चार जिल्लाका संक्रमित अधिकांश सहरी क्षेत्रका रहेका छन्।

सुदूरपश्चिमको अस्थायी राजधानी रहेको कैलालीमा संक्रमित संख्या १ हजार ९ सय ८५ छ। तीमध्ये सबैभन्दा बढी गोदावरी नगरपालिकाका ५१३ छन् भने धनगढी उपमहानगरपालिकाका ३ सय ६६ छन्।

यी क्षेत्र प्रदेशकै अति भीडभाड हुने सहरी क्षेत्र अन्तर्गत पर्दछन्। डोटीमा कोरोना संक्रमित संख्या ९ सय ६८ छ। ती मध्ये जिल्ला सदरमुकामको दीपायल सिलगढी नगरपालिकामा मात्रै १ सय ७० जना संक्रमित रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए।

यस्तै अछाममा संक्रमित संख्या ९ सय ३४ छ। यता कञ्चनपुरमा कोरोना संक्रमित संख्या ७ सय २६ छ। जिल्ला सदरमुकाम महेन्द्रनगर बजार क्षेत्र पर्ने भीमदत्त नगरपालिकामा मात्रै १ सय १५ जना संक्रमित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र जोशीले बताए।

पछिल्लो तथ्यांक अनुसार बैतडीमा ३ सय ८१, बझाङमा ४ सय ३९, बाजुरामा ४ सय ५३, डडेल्धुरामा ३ सय २३ र दार्चुलामा ५२ जना कोरोना संक्रमित भएका छन्। प्रदेशभर कोरोना संक्रमित संख्या ६ हजार २ सय ६१ पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। तीमध्ये ५ हजार ४ सय ७५ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ।

गाउँमा त्रास
भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा नराखी सिधै घर पठाउँदा ग्रामिण क्षेत्रमा संक्रमण फैलिने त्रास छ। कोरोना संक्रमण ‘भुसको आगो जस्तो जताततै फैलिएको’ र परीक्षणको दायरा बढाए अझै संक्रमित संख्यामा वृद्धि हुने चिकित्सकहरु बताउँछन्। भारतबाट आउँदा नाकामा कुनै स्वास्थ्य परीक्षण नगरी प्रवेश गराइएको र क्वारेन्टिनमा समेत नराख्दा संक्रमण भयावह बन्ने जोखिम बढेको उनीहरुको विश्लेषण छ।

भारतबाट फर्किएकालाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टिन राख्नु पर्ने भए पनि पछिल्लो समय त्यसो नभएकाले संक्रमणको जोखिम बढेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय राजपुर डोटीका निर्देशक डा. गुणराज अवस्थीले बताए।

‘भारतबाट फर्किएकाहरुलाई क्वारेन्टिनमा नराखी होम क्वारेन्टिनमा पठाउँदा संक्रमण जताततै फैलिएको छ। जोखिम अहिले एकदमै बढी छ’ उनले भने, ‘कोरोना परीक्षणको दायरा बढाएर तत्काल संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्नु पर्छ।’

भारतमा रोजगारीका लागि गएका मानिसहरु स्वदेश फर्किने क्रम रोकिएको छैन। दैनिक एक/दुई सय मानिस भारतबाट स्वदेश फर्किरहेका छन्। सुरुमा सिमानाकामा सामान्य ज्वरो परीक्षण गरेर मात्रै नेपाल प्रवेश गराइन्थ्यो। त्यसपछि पनि नाकाबाटै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा राखेर कोरोना परीक्षण गरेर मात्रै घर पठाइन्थ्यो।

तर अहिले भने परीक्षण बिना भारतबाट आइरहेका नागरिकहरूलाई धमाधम घर पठाइँदै छ। त्यसैले गर्दा सुदूरपश्चिमका ग्रामिण क्षेत्रमा कोरोनाको त्रास बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .