ad ad

समाज


भयावह अवस्था आउँदैन, अब संक्रमितको संख्या घट्न थाल्छ : स्वास्थ्य मन्त्रालय

भयावह अवस्था आउँदैन, अब संक्रमितको संख्या घट्न थाल्छ : स्वास्थ्य मन्त्रालय

सागर न्यौपाने
असोज २, २०७७ शुक्रबार १५:४३,

पछिल्लो समय काठमाडौं उपत्यका र देशका कतिपय स्थानमा निषेधाज्ञा लगाउँदा पनि कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। शुक्रबार एकैदिन २ हजार २० जनामा संक्रमण पुष्टि भएको छ। बिहीबार १ हजार २ सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो।

काठमाडौं उपत्यका र देशका विभिन्न स्थानमा निषेधाज्ञा गर्दा पनि बढिरहेको संक्रमणको दर बिहीबारदेखि निषेधाज्ञा हटाएसँगै झन् बढ्न थालेको हो।

कोरोनाको हटस्पटहरुमा संक्रमण नियन्त्रणमा नआइकनै लकडाउन खोलेकोमा स्वास्थ्य मन्त्रालयकै विज्ञ डाक्टरहरुले असन्तुष्टि जनाएका छन्। निषेधाज्ञा हटेपछि हटस्पटमा संक्रमण रोक्न चुनौती थपिएको उनीहरु बताउँछन्।

‘हटस्पट पहिचान गर्ने, त्यसमा नियन्त्रणका उपाय लागू गर्ने र अन्य क्षेत्र खुला गर्नुपर्छ भनेर मैले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पटकपटक सुझाव दिएँ,’ मन्त्रालयका एक डाक्टरले भने, ‘तर सरकारले सबैतिर खुला गरिदियो।’

कोरोना संक्रमण देशका सबै ठाउँमा नपुगेको र कतिपय स्थानमा नियन्त्रणमा समेत आइसकेकाले हटस्पट बाहेकका क्षेत्र खुला गरेर जनजीवन सामान्य बनाउन उनीहरुले सुझाव दिएका थिए।

अहिलेसम्म ७५३ स्थानीय तहमध्ये ७५ प्रतिशतभन्दा बढीमा संक्रमितको संख्या शून्य छ। तिनीहरुलाई ग्रिन जोन बनाएर खुला गर्न पनि मन्त्रालयलाई सुझाव गएको थियो।

तर, मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन सक्ने अवस्था देखेरै देशभरको जनजीवन खुला गरिएको बताए।

‘काठमाडौंमा संक्रमित बढेका छन् तर, कुल जनसंख्या, यहाँ रहेका स्रोत, साधन, विशेषज्ञ डाक्टर, अस्पताल, आइसोलेसन र जनताको चेतनालाई हेर्दा लकडाउन वा निषेधाज्ञालाई निरन्तरता दिन आवश्यक छैन भन्ने सुझाव पनि आयो, संख्या ह्वात्तै बढेपनि भयावह हुँदै महामारी ल्याउने सम्भावना छैन,’ मन्त्रालयका प्रवक्ता गौतमले भने।

उनले काठमाडौं उपत्यकामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट संक्रमण फैलिएको बताए।

‘काठमाडौंमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबाट कोरोना संक्रमण फैलिन मद्दत पुग्यो, ती मानिस जहाँका भएपनि कार्यक्षेत्रमै गणना हुन्छन्। ठूलो संख्यामा प्रहरीको सरुवा हुँदा झन् त्यसले संक्रमण फैलाउन सहयोग ग¥यो’, गौतमले भने, ‘अब स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले थाहा पाइसके, अस्पतालहरुले स्वास्थ्यकर्मीलाई कडिकडाउन गरिसके।’

सुरुमा चैत ११ देखि साउन ७ गतेसम्म लकडाउन गरिएको थियो। तर, लकडाउन अन्त्यसँगै राजधानीलगायत स्थानमा संक्रमितको संख्या बढ्न थालेपछि भदौ ३ गतेदेखि संक्रमणको चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा लागू गरिएको थियो। भदौ २४ सम्म जारी निषेधाज्ञाले संक्रमणको तीव्रदर रोक्न सफल भएको गौतमले दाबी गरे।

‘३ हप्ता निषेधाज्ञा गरेर चेन ब्रेक नगरेको भए काठमाडौंमा दैनिक पाँच हजारको हाराहारीमा संक्रमित देखिन्थे,’ गौतमले भने, ‘अब हामी केही दिन मानिसको गतिविधि नियाल्छौं, जनस्वास्थ्य मापदण्ड पालना भए यो संख्या केही दिनपछि घट्न थाल्छ।’

शुक्रबारसम्म संक्रमित हुनेको संख्या ६१ हजार ५ सय ९१ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ७२ प्रतिशत छ।

अहिले मुलुकमा संक्रमणको स्थिति कस्तो छ भन्ने विषयमा अनुसन्धान भइरहेको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

‘विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा समुदायमा कुन रुपमा संक्रमण फैलिएको छ अध्ययन भइरहेको छ, त्यसको रिपोर्ट आएपछि अझै प्रष्ट होला,’ उनले भने, ‘अहिलेसम्म कुल जनसंख्याको ३ प्रतिशतमा गरिएको परीक्षणबाट नियन्त्रणमै लिन नसक्नेगरी संक्रमण बढेको देखिँदैन।’

मन्त्रालयकै विज्ञ भन्छन्ः सरकार दुविधामा छ
तर, मन्त्रालयमै कार्यरत विज्ञ डा. सुरेश तिवारीले कोरोना समुदायमा फैलिएको छ छैन र परीक्षण कति गर्ने भन्ने विषयमा सरकार नै अन्यौलमा रहेको टिप्पणी गरे।

‘समुदायमा संक्रमण फैलिसकेको छ, तर मन्त्रालयकै साथीहरु समुदायमा गएकै छैन भन्नुहुन्छ,’ डा. तिवारीले भने, ‘मन्त्रालय नै अलमलमा भएपछि यसको रोकथामको लागि तयारी नै पुगेको छैन। मन्त्रालयभित्र पनि कन्फ्युजन भयो।’

डा. तिवारीले पीसीआर परीक्षण गर्ने कि एन्टिजेन परीक्षण गर्ने भन्ने विषयमा पनि मन्त्रालय स्पष्ट हुन नसकेको बताए।

‘सरकार अलमलमा छ। परीक्षणको विधि के हुने भन्नेमा सरकारले कुनै निष्कर्ष निकाल्न सकेको छैन। कहिले पीसीआर भनेको छ, अलि सस्तो हुने भएपछि फेरि एन्टिजेन भनेको छ,’ उनले भने, ‘परीक्षण विधिमा कडाइ गर्ने राज्यको नीति नै देखिएन। अनि थप अलमलमा भएको छ।’

उनले महामारी नियन्त्रणसम्बन्धी सरकारी नीति जिल्लाकेन्द्रित गरिनु पनि गलत भएको बताए।

‘हाम्रो सोच जिल्लामा केन्द्रित हुनु भएन। संघीयतामा हामी गइसक्यौं तर, अझैपनि जिल्ला नै भनिरहेका छौं। यो कमजोरी हो,’ डा. तिवारीले भने, ‘स्वास्थ्य मन्त्रालयले स्थानीय तहमा विगत ३ हप्तादेखिको केस अध्ययन गरेर सरकारलाई सुझाव दिएको छ। तर, लकडाउन, निषेधाज्ञाको निर्णय त्यसअनुसार गरिएन।’

होम आइसोलेसनले जोखिम बढाउने चिन्ता
पछिल्लो समय कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये अधिकांश घरमै आइसोलेसनमा बसिरहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म सातै प्रदेशमा ८ हजार ८८ जना होम आइसोलेसनमा छन्। सबैभन्दा बढी बागमती प्रदेशमा ४ हजार १ सय ९७ होम आइसोलेसनमा छन्।

होम आइसोलेसन बस्ने संख्या बढ्दै जाँदा त्यसले समस्या निम्त्याउने विज्ञहरु बताउँछन्। अझ लक्षण देखियो भने त्यसले महामारी ल्याउने खतरा रहेको उनीहरुको चिन्ता छ।

‘होम आइसोलेसनमा ठूलो संख्यामा बसेकाहरु सुरक्षित छन् त? कि लक्षण देखिएपनि लुकाएका छन्? यदि त्यस्तो छ भने त्यो सबैभन्दा खतरनाक र घातक हुन्छ। त्यसले ज्यामितीय रुपमा महामारी बढाउने खतरा रहन्छ,’ डा. तिवारी भन्छन्।

होम आइसोलेसनमा पठाउनुअगाडि संक्रमितमा लक्षण छ छैन, अथवा अवस्था कस्तो छ, त्यसको निक्र्यौल गरिनुपर्ने उनको भनाइ छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .