ad ad

समाज


सुदूरपश्चिमका सात पहाडी जिल्ला आईसीयूविहीन, ६ जिल्लामा भेन्टिलेटर पनि छैन

सुदूरपश्चिमका सात पहाडी जिल्ला आईसीयूविहीन, ६ जिल्लामा भेन्टिलेटर पनि छैन

गोकुल जोशी
असोज १९, २०७७ सोमबार १२:४३,

सुदूरपश्चिममा दिन–प्रतिदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ। तर स्वास्थ्य पूर्वाधार, उपकरण र जनशक्ति नहुँदा बिरामीहरु समस्या झेल्न बाध्य छन्। दिनहुँ संक्रमित बढिरहेको अवस्थामा गम्भीर प्रकृतिका बिरामीका लागि आईसीयू र भेन्टिलेटर आवश्यक पर्छ।

यद्यपी नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला भने आईसीयूविहीन छन्। डडेल्धुरा बाहेक अन्य ६ पहाडी जिल्लामा भेन्टिलेटर पनि छैन।

तराई क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली अस्पतालमा २ भेन्टिलेटर सहित ८ बेड र कैलालीको सेती प्रादेशिक अस्पतालमा ७ भेन्टिलेटरको १० बेडको आईसीयू कक्ष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। पहाडी जिल्ला डडेल्धुराको अस्पतालमा दुई वटा भेन्टिलेटर छन् तर छुट्टै आईसीयू कक्ष छैन।

चैतको १४ गते पहिलो संक्रमित देखा परेको सुदूरपश्चिममा ६ महिना बित्नैलाग्दा पनि तीन तहका सरकारले स्वास्थ्य क्षेत्रमा पूर्वाधार, उपकरण र जनशक्ति थप गर्न सकेका छैनन्। जसले गर्दा कोरोनाका गम्भीर बिरामीले उपचार नपाएर प्राण त्याग्नुपर्ने अवस्था छ।

गत साता जिल्ला अस्पताल अछाममा भेन्टिलेटर नहुँदा एक जना संक्रमितले ज्यान गुमाएका थिए। लक्षण सहितका संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरको सुविधा नहुँदा बिरामी जोखिममा पर्ने सम्भावना भएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट जगदिशचन्द्र बिष्टले बताए।

‘सुदूरपश्चिमका सात पहाडी जिल्लामा एउटा पनि आईसीयू छैन। गम्भीर बिरामी आए उपचार गर्न सक्ने अवस्थामा छैनौँ। रेफर गर्नु पर्छ’ उनले भने, ‘डडेल्धुरामा दुई भेन्टिलेटर छन्, तर आईसीयू बेड छैन।’

सुदूर पहाडी भेगमा स्वास्थ्य पूर्वाधार, उपकरण तथा दक्ष जनशक्ति नहुँदा समयमै स्वास्थ्य सेवा नपाएर वर्षेनी कयौँले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ। कोरोना महामारीले गर्दा स्वास्थ्य सेवा सुधार हुने विश्वास बोकेका सुदूरपश्चिमबासीले झण्डै ६ महिनासम्म पनि त्यो महसुस गर्न पाएका छैनन्।

कोरोनाका बिरामीमा श्वासप्रश्वासजन्य समस्या आउने भएकाले उपचारका लागि आईसीयू र भेन्टिलेटर आवश्यक भएपनि कोरोना महामारीको ६ महिने अवधिमा समेत अझै पहाडी भेगमा यसको सेवा उपलब्ध हुन सकेको छैन। प्रदेशको पहाडी भेगमा आईसीयू र भेन्टिलेटर अभाव हुँदा गम्भीर बिरामीलाई रेफर गर्नुपर्ने हुन्छ। लामो बाटोका कारण कतिपयले बाटोमै ज्यान गुमाउने गरेको स्थानीय बताउँछन्।

‘आफ्नो ठाउँमै स्वास्थ्यको राम्रो सेवा नहुँदा पहाडबासी हामी सास्ती खेपिरहेका छौँ। रेफर गरेर अन्यत्र लैजानु पर्छ। बाटो लामो हुनाले कतिपयले त बाटोमै ज्यान गुमाउँछन्’, बैतडीको सिगास गाउँपालिका–२ का तेज सिंह धामीले भने, ‘अन्यत्र निजीमा साह्रै महँगो हुन्छ। आर्थिक अवस्था कमजोर भएका गरिबले त स्वास्थ्य सेवा नै पाउदैनन्।’

कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा पहाडी क्षेत्रमा स्वास्थ्य पूर्वाधार, आईसीयू र भेन्टिलेटर थप गर्नु आवश्यक रहेको चिकित्सकहरु बताउँछन्। उता सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले आईसीयू सेवा सञ्चालन गर्नका लागि जनशक्ति अभाव रहेको बताए।

‘नयाँ २० भेन्टिलेटर आएका छन्। जिल्लाका प्रत्येक अस्पतालमा २÷२ भेन्टिलेटर पठाउने तयारी छ’ उनले भने, ‘आईसीयूका लागि छुट्टै जनशक्ति आवश्यक पर्छ। त्यो हामीसँग छैन। जनशक्ति अनुसार भेन्टिलेटर थपिँदै जान्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .