नेपाली सेनाले भारतीय सेनाका प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी लगाईदिने परम्परामा सच्याउनुपर्ने सैन्य मामलाका एक अध्येताले बताएका छन्।
भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाली सेनाको मनार्थ महारथी दर्ज्यानी लिनका लागि यहि कात्तिक १९ गते नेपाल आउँदै छन्। नेपाल र भारतले दुबै देशका सेनापतिलाई एक अर्काले मानार्थ महारथीको दर्ज्यानी दिने प्रचलन रहदै आएको छ।
विभिन्न सञ्चार माध्यम र छापाहरुमा सन् १९५० देखि दुबै मुलुकले एक अर्का देशका सैन्य प्रमुखलाई मानार्थ महारथीको पदवी दिँदै आएको उल्लेख गरिएको पाइन्छ । तर सैन्य मामला इतिहासका अध्येता मोहन थापाले भने विक्रम सम्बत २०२० जेठ २५ गते राजा महेन्द्र वीरविक्रम शाहले भारतीय स्थल सेनाका सेनाध्यक्ष एस मानेकसा (मानेक साह) लाई नेपाली सेनाको मानार्थ महारथी पद्वी प्रदान गरेपछि एक देशले अर्को देशका सेनाप्रमुखलाई मानार्थ महारथी पदवी दिने प्रचलन सुरु भएको बताए।
शुक्रबार पत्रकारसँग कुरा गर्दै थापाले अहिलेसम्म लिखित रुपमा भेटिएको प्रमाण अनुसार २०२० मा नेपालले भारतीय सेनाध्यक्षलाई दिएको दज्र्यानी नै पहिलो भएको बताए। यस्तै २०२७ देखि २०३२ सम्म नेपाली सेनाको प्रधान सेनापति रहेका सिंहबहादुर बस्नेतलाई भारतले पहिलोपटक मानार्थ महारथीको पदवी दिएको लिखित प्रमाण रहको पनि बताए। त्यसपछि मात्रै नियमित रुपमा एक देशले अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन बसेको उनको भनाइ छ। तर २०४४ साल देखि २०४८ साल सम्मका नेपाली सेनाका प्रधान सेनापति महारथी सच्चित शमशेर जबराले भने भारतीय सेनाको मानार्थ महारथी पदवी नलिएको पनि उनले बताए।
तत्कालिन समयमा नेपाली सेनाले चीनबाट सैन्य सामग्री खरिद गरेको र पञ्चायतको बेला नेपालमा भएको आन्दोलनलाई भारतले सघाएका कारण नेपाली सेनाका तत्कालीन प्रधान सेनापति जबराले भारत भ्रमण नगरेका हुन्। त्यसैकारण उनले पदवी नलिएको थापाले बताए।
नेपालमा एकमात्र सेनाप्रमुख रहने र भारतमा जल, हवाई र स्थल सेनाप्रमुख रहने हुँदा स्थल सेना प्रमुखलाई पदवी दिने गरिएको छ। दुबै देशका राष्ट्रपतिले सेना प्रमुखलाई मानार्थ महारथीको पदवी दिने परम्परा रहेको छ।
प्रतिक्रिया