ad ad

समाज


जसले नगरप्रहरीको पोसाकदेखि व्यवहारसम्म बदले

जसले नगरप्रहरीको पोसाकदेखि व्यवहारसम्म बदले

उजिर कार्की
कात्तिक १६, २०७७ आइतबार १५:२९,

लामो समय ललितपुरको ट्राफिक प्रहरी इन्चार्ज भएर काम गरेका थिए सीताराम हाछेथूले। त्यसबेला सबैले उनको हाइहाइ गर्थे। सेवानिवृत्त भएको दुई वर्षपछि नगरप्रहरी प्रमुख बनेर उनी सोही ठाउँमा गए। तर, मानिसहरुले गरेको व्यवहारबाट उनी चकित परे।

दुई महिना पहिले ललितपुर महानगरपालिकाले सीतारामलाई ललितपुरको नगरप्रहरी प्रमुखमा नियुक्त गरेको थियो। उनी पुरानै जोसका साथ फिल्डमा निस्किए। तर, आफूले गरेको नमस्कार समेत स्थानीयले नफर्काएपछि उनी सोच्न बाध्य भए।

केही दिन पहिलेको उनी लगनखेलको सडकमा राखेको ग्यास हटाउन पुगेका थिए। उनले सुरुमै साहुजीलाई नमस्कार गरे, साहुजी अर्कापट्टि फर्किए, सीतारामको नमस्कार फर्काएनन्।

पसलेको त्यो व्यवहारले उनलाई चसक्क घोच्यो। सोचे– किन?

नगर प्रहरीलाई हेला किन गर्छन्? सीतारामको मनमा यो प्रश्न घुमिरह्यो।

‘नगरप्रहरीलाई मान्छेले तरकारी र फुटपाथ जबर्जस्ती हटाउनेको प्रहरीको रुपमा मात्रै बुझ्दा रहेछन्। जब नगर प्रहरी पुग्छ, मान्छेहरु साग र कपडाका पोका लिएर फुटपाथबाट भाग्दा रहेछन्,’ सीतारामले भने, ‘नगर प्रहरीका १२ मध्ये यी बाहेकका काम त समाजलाई थाहा नै रहेनछ। हो यहीँनेर चुकेका रहेछौं। अब आफैंबाट सच्याउन सुरु गर्नुपर्छ।’

नगर प्रहरीले ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन, बिरुवा संरक्षण, दैवी प्रकोप व्यवस्थापन, जनावर व्यवस्थापन, नगरपालिकाको शान्ति सुरक्षा, फोहोर मैला, दमकल, नक्साबिनाका घर तथा अन्य संरचना हटाउने, सडकपेटी अतिक्रमण रोक्ने जस्ता काम गर्छ। तर यी सबै काम ओझेलमा छन्।

सीतारामले बुझे– यस्तो हुनुका पछाडि नगर प्रहरीको पोसाक र व्यवहारले पनि फरक पारेको छ। यी सबै बदल्न उनले योजना बनाउन थाले। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग सल्लाह गरे। पोसाक बदल्न मेयर सकरात्मक भए, व्यवहार बदल्न नगरप्रहरीहरु।

उनको कमान्डका ५० नगर प्रहरीलाई बाचा गराए, ‘अब समाजले नमस्कार फर्काउने काम गरेरै छाड्नुपर्छ।’

नगर प्रहरीले फुटपाथबाट मान्छेहरुलाई लखेट्न छाड्यो। निषेधित क्षेत्रमा व्यापार गर्न रोक लगायो। प्रहरीले लाठी बोक्न छाडे।

‘नगरप्रहरी समुदायमा गएर झगडा गर्ने होइन, समुूदायको अप्ठेरोमा सहयोग गर्ने हो। हामीले लठ्ठी बोक्नु हुँदैन,’ मातहतका कर्मचारीलाई सीतारामले सम्झाए, ‘बाहिर कसैलाई तिमी र तँ नभन्नू, फुटपाथमा गरिबलाई हेपेर तँ भन्न पाइँदैन।’

सभ्य व्यवहार गर्न र आर्थिक लोभमा नपर्न निर्देशन दिए। बाहिर गएर एउटा सुन्तला पनि सित्तैमा खाएर नहिँड्न उनले भनेका छन्।

संगठनलाई सबक सिकाएर सीतारामले बजारमा जथाभावी टाँगिएका होर्डिङबोर्ड निकाल्न सुरु गरे। मादकपदार्थका ठुल्ठूला होर्डिङबोर्ड निकाल्ने काम सुरु भयो मन्त्री निवास हरिहरभवन अगाडिबाट।

123135145_3206107086162267_720126734110069559_n.jpg

हालसम्म १६ ट्रक बढी होडिङबोर्ड निकालिसकेका छन्। यो अभियान चलिरहेको छ। सडकमा राखेर मोटरसाइकल वर्कसपहरु हटाएका छन्। फुटपाथका लागि स्थान र समय तोकिएको छ।

कुमारीपाटीदेखि कुपण्डोलसम्म फुटपाथ निषेधित क्षेत्र घोषणा गरिएको छ।

नगरप्रहरीको व्यवहारसँगै पोसाक पनि बदलिएको छ। टोपी र टाइसुटसहितका प्रहरीले अहिले खटिन्छन्।’

‘पोसाकले बाहिरी नजर त बदलियो नै नगरप्रहरीलाई पनि टाइसुटमा हिँडेपछि त्यही अनुसारको व्यवहार गर्न बाध्य गराएको छ,’ सीताराम भन्छन्।

फिल्डमा खटिँदा क्यामेरा लिएर हिँड्न थालेका छन् ललितपुरका नगर प्रहरी।

महानगरभित्र नगर प्रहरीले हातेमालो अभियान पनि सुरु गरेको छ। यो अभियान अन्तरगत टोलटोलमा पुगेर नगर प्रहरीले त्यहाँका समस्या बुझ्छन् र समस्या लिएर नगरपालिका फर्किन्छन्। आफैं गर्न सक्ने काम नगर प्रहरीले नै गर्छ। नसक्ने समस्या सम्बन्धित निकायसम्म पुर्‍याउँछन्।

सीताराम भन्छन्, ‘नगरपालिकालाई राम्रो बनाउँछु भनेर बाचा गरेर आएको हुँ, अब हाम्रो अधिकारभित्रका काम गर्छौं र नगरप्रहरी हाम्रो सहयोगी हो भनेर सबैलाई महसुस गराउँछौं।’

यो पनि:

अवकाशको २ वर्षपछि काममा फर्केका सीताराम भन्छन्ः नगरप्रहरीको छवि सुधार्छु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .