ad ad

समाज


तीन महिनादेखि नगरपालिकामै थन्कियो पीसीआर मेसिन

तीन महिनादेखि नगरपालिकामै थन्कियो पीसीआर मेसिन

गोकुल जोशी
कात्तिक १८, २०७७ मंगलबार ९:५६,

कोरोना परीक्षणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले खरिद गरेको आरटीपीसीआर मेसिन सञ्चालनमा ढिलाई भएको छ।

झण्डै तीन महिना अगाडि २८ साउनमा भीमदत्त नगरपालिकाले ३८ लाखमा आरटी पीसीआर मेसिन खरिद गरेको थियो। तर मेसिन खरिदको तीन महिना बित्दै लाग्दा पनि अझै मेसिन जडान हुन नसक्दा नगरपालिकामै थन्किएको हो।

भीमदत्त नगरपालिकाले आव्हान गरेको सार्वजनिक सूचना अनुसार सुदिप इन्टरनेशनले ३८ लाख रुपैयाँमा मेसिन खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको थियो।

नगरपालिकाले पीसीआर मेसिन खरिद गरेर सञ्चालनको जिम्मेवारी महाकाली अस्पताललाई दिए पनि अस्पतालले ल्याब सञ्चालनमा ढिलाई गरिरहेको हो।

‘पीसीआर मेसिन सञ्चालन गर्ने सवालमा यहाँका अन्य स्थानीय तह र प्रशासनसँग छलफल भएको थियो। त्यसमा हामीले मेसिन खरिद गर्ने भनेका थियौँ। त्यसै अनुसार मेसिन खरिद गरेका छौँ’, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भने, ‘अस्पताल र प्रदेशले अन्य व्यवस्थापन गर्ने भनिएको थियो। तर सञ्चालनमा आउन सकेको छैन।’

उनका अनुसार मेसिन अस्पताललाई हस्तान्तरण गरिएको र छिटो सञ्चालनमा ल्याउन पहल भइरहेको छ।

उता महाकाली अस्पतालले सार्वजनिक खरिद कार्यालयबाट कागज प्राप्त गर्नमा ढिलाई भएकाले केही दिनयता अन्य प्रक्रिया अगाडि बढ्न नसकेको जनाएको छ।

‘सार्वजनिक खरिद कार्यालयबाट कागज पाउन ढिलाई भयो। त्यसैले अन्य प्रक्रिया अगाडि बढाउन सकिएन। आज कागज प्राप्त भएका छन्’ अस्पतालका स्टोर प्रमुख तिलक जोशीले भने, ‘प्रारम्भिक मूल्याङ्क हुँदैछ। यस पछि प्रावधिक मूल्याङ्कनका लागि इन्जिनियरहरु आउँछन्।’

उनका अनुसार ल्याब सञ्चालनका लागि आवश्यक पर्ने अन्य उपकरण ल्याउन अझै दुई साता बढि समय लाग्न सक्ने छ। अस्पतालको कुरुवा घरमा बनाउन लागिएको ल्याब तिहार पछि प्रयोगमा आउने अस्पताल प्रशासनको दाबी छ।

अस्पतालले ल्याबका लागि आवश्यक पर्ने पीसीआर क्वाबिनेट, बायोसेफ्टी क्याबिनेट, डि–फ्रिज र माईक्रोसेन्टिफ्युज उपकरण खरिद गर्न ८२ लाखकोे टेण्डर आह्वान गरेको छ। महाकाली अस्पतालले पीसीआर ल्याब सञ्चालनका लागि ११ जना नयाँ कर्मचारी भर्ना गरेको छ।

अस्पतालका अनुसार बिएमएलटी ४ जना, माइक्रो बायलोजिष्ट एक जना, ल्याब टेक्नेसियन २ जना र स्वीपर ४ जना भर्ना गरिएका हुन्। तर उनीहरुको तलब कस्ले दिने भन्ने बारे भने अझै यकिन हुन नसकेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .