जेठ २०७४ मा महोत्तरीको औरही नगरपालिका–२, मुसहरी टोलकी ३५ वर्षीया उर्मिला देवी सदा घरायसी कामकाजको लागि ऋणको खोजीमा थिइन्। आर्थिक विपन्नताको कारण गाउँघरका साहु महाजन कहाँ हार–गुहार गर्दा समेत ऋण कतै ऋण पाइनन्।
औरहीमै सञ्चालित साझा लघुवित्त सहकारीमा मासिक रुपमा केही रकम जम्मा गर्ने गरेकीले उर्मिलाले त्यहाँ पनि ऋण मागको प्रस्ताव गरिन्। संस्थाले इन्कार गर्यो।
सहकारीमा ऋण माग्न पुगेकी उनलाई त्यहीँ कार्यरत विजय चौधरीले आफूले व्यक्तिगत ऋण लगानी गर्ने गरेको कुरा सुनाए। तर ‘बजारको हजार’ ब्याजदरमा। अर्थात ५० हजार ऋणमा औरहीमा प्रत्येक शुक्रबार र मंगलबार लाग्ने हरेक बजारको एक हजार रुपैँया ऋण तिर्नुपर्ने। बाध्य भएर उर्मिला घरको जोहो टार्न चौधरीसँग ५० हजार ऋण लिइन्।
चौधरी विगत पाँच वर्षदेखि बजारको हजार ब्याजदरमा ऋण लगानी गर्ने औरही बजारका नामुद मिटरब्याजी हुन्।
उर्मिलालाई ५० हजार रुपैँया ऋणको महिनामा आठ हजार रुपैँया ब्याज तिनुपर्ने भयो। कतैबाट पैसाको आम्दानी थिएन। तापनि उर्मिलाले मासिक रुपमा ६ हजार रुपैँया चौधरीलाई ब्याज बुझाउन थालिन्।
ऋण लिएको ६ महिना नबित्दै उनका श्रीमान् वीरे सदा वैदेशिक रोजगारीका लागि मलेसिया जाने टुंगो लाग्यो। पतिलाई विदेश पठाउन उर्मिला फेरि गाउँकै साहु महाजन चाहारिन्। तर, कतै ऋण पाइनन्। बाध्य भएर दोश्रो पटक पनि उनी मिटरब्याजी चौधरीसँगै ऋण लिन विवश भइन्।
चौधरीसित फेरि ५० हजार रुपैँया ऋण लिइन्। अन्यत्र पनि जोहो गरेर श्रीमानलाई मलेसिया उडाइन्। कम्पनीमा काम चल्न थालेपछि वीरेले पठाएको रकमबाट उर्मिलाले तीन महिनामै चौधरीको ५० हजार रुपैयाँ फिर्ता गरिदिएको बताइन्।
मिटर ब्याजी चौधरीलाई ५६ हजार रुपैँया तिरिसकेपछि उर्मिलाले मासिक सयकडा ३ प्रतिशतले ब्याज लिन आग्रह गरिन्। तर, चौधरीले भने बजार सिस्टममै ब्याजसहित साँवा चुक्ता गर्नुपर्ने अडान कायमै राखे। चौधरी ऋण ब्याजसहित चुक्ता गर्न पटक–पटक दबाब दिन थाले।
बजारको हजार ब्याज अनुसार कमाएर मात्र धेरै पैसा तिर्न नसक्ने देखेपछि उर्मिलाले संस्थाबाट एकलाख रुपैयाँ ऋण निकाल्न सहयोग गरिदिन चौधरीलाई नै आग्रह गरिन्। चौधरीले उनलाई १ लाख रुपैँया ऋण झिक्न सहयोग गरे। उनले संस्थाबाट लिएकी एक लाख ऋण तत्कालै हिसाब गरी चौधरीरलाई नै बुझाइदिइन्। तर धूर्त चौधरीले अझै एकलाख रुपैयाँ तिर्नुपर्छ भन्दै उल्टै उर्मिलासँग कपाली तम्सुकमा औंठाछाप गराए।
‘मैले सहकारीबाट एक लाख निकालेर तत्कालै विजयको सम्पूर्ण ऋण चुक्ता गरिदिएँ। तर, उनले उल्टै मेरो पैसा अझै एकलाख बाँकी छ भनेर सहकारीमै जबरजस्ती मसँग सही छाप गराए’ उर्मिलाले नेपालखबरसँग भनिन्, ‘किन यो तम्सकुकमा औँठाछाप गराएको सोधेपछि विजयले भन्यो ममाथि विश्वास छैन? अहिले त्यहीँ कपाली तमसुकले हामीलाई चौधरीले बर्बाद गर्दैछन्।’
उर्मिलाले त्यसयता पटक–पटक गरी साढे चार लाख बढी रुपैयाँ चौधरीलाई तिरिदिइन्। तर, त्यो कपाली तमसुक अझै सुदखोर चौधरीले उनलाई दिएका छैनन्। अन्त्यमा साढे ७ लाख रुपैयाँ साँवासहित ब्याज बाँकी भएको भनेर तिर्न फेरी पटक–पटक सुदखोर चौधरीले धम्की दिन थाले।
अन्ततः झण्डै एक वर्षअघि ७ लाख ५० हजार रुपैयाँ बराबरको उर्मिलाको घर छेउमा सासू रामो सदाको नाममा रहेको १७ धुर घडेरी नै चौधरीको नाउमा रजिस्टरी पास गरिदिइन्। तर तमसुक अझै मिटरब्याजी चौधरीकै सन्दुकमा रहेको उर्मिलाले दुखेसो पोखिन्।
उर्मिलाकी जेठानी लीलादेवी सदाका अनुसार चौधरीले घडेरी रजिस्टरी गराउन जाँदा नै कपाली तमसुक दिन्छु भनेका थिए। तर, घडेरी पास गरिदिएपछि मालपोत कार्यालयमै तमसुक माग्दा बिजयले घरमै बिर्सेको र घरमै फर्केर दिन्छु भनेका थिए।
‘घर आएर माग्दा एक लाख रुपैयाँ अझै बाँकी छ भन्यो। त्यो बेलादेखि तमसुक दिएको छैन। उल्टै पैसा माग्दैछ’, लीलाले भनिन्, ‘रजिस्टरीमा पनि मेरै १७ हजार रुपैयाँ खर्च गराइदियो। विजय महा बेइमान र कपटी छन्।’
विजयले ब्याजको स्याज गरी उर्मिलाबाट साढे ४ लाख रुपैयाँ र साढे ७ लाखको घडेरी लेखाए पनि उनलाई पैसाको लागि दबाब दिन छाडेका छैनन्।
‘अझै पनि बीचबीचमा मसँग पैसा मागिरहन्छन्। म जस्ता गरिबले कहाँबाट पैसा तिर्ने। मेरो भागको भएको घडेरी पनि उसलाई नै दिए’ उर्मिलाले गुनासो गरिन्। चौधरीको बेइमानी धन्धाले सदाका परिवार तनाबमा छन्। उर्मिलाले झण्डै डेढ महिनाअघि इलाका प्रहरी कायार्यलय गौशालामा मिटरब्याजी चौधरीविरुद्ध उजुरी दिएकी थिइन्। तर, प्रहरीले उजुरी लिए पनि दर्ता गरेको छैन।
उर्मिलाले भनिन्, ‘मैले विजयविरुद्ध उजुरी दिएकी थिएँ। प्रहरीले उजुरी लियो तर दर्ता गरेन। हामी जस्ता पीडितले न्याय कहाँ पाउनु?’
ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले उजुरी आएको तर जिल्लाले नै विजय चौधरीको घटना हेर्ने गरेको कारण जिल्लामै जान सल्लाह दिएको बताए। ‘सुरुदेखि विजय चौधरीको मिटरब्याज सम्बन्धी घटना जिल्लाले हेर्दैछ। त्यसैले मैले पीडितलाई जिल्लामै उजुरी दिन सल्लाह दिएको थिएँ। दोहर्याएर पीडितहरु आएनन्’ निरीक्षक रेग्मीले भने, ‘फेरि पनि पीडितहरु आएर उजुरी दिए हामी कारबाही प्रक्रिया अघि बढाउँछौं।’
को हुन् मिटरब्याजी चौधरी?
औरही बजारका सत्यनारायण चौधरी (कल्वार) का ३० वर्षीय छोरा विजय चौधरीको चर्को मिटरब्याजी र बेइमानी धन्धाबाट उर्मिलाका परिवार मात्र होइन गाउँकै दर्जनभन्दा बढी परिवार प्रताडित भएका छन्। गाउँका गरिब तथा विपन्नहरुको बाध्यताको मौकाछोपी गैरकानुनी रुपमा प्रतिबाजर हजार अर्थात १ सय ७२ प्रतिशत मासिक ब्याज दरमा ऋण लगाउँछन्।
बजारको हजार सिस्टमको ब्याज दरलमा ऋण लगाएर चौधरीले गाउँका आधा दर्जन परिवारलाई कंगाल बनाएर विस्थापित गरिदिएका छन्। समयमै ब्याजको स्याज गरेर ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई फिल्मी शैलीमा घरमा पसेर कुटपिट, यातना, श्रीमती उठाइदिने धम्की, शौचालयमै थुनेर कुपिट गर्नेजस्ता गतिविधि गर्नु सुदखोर विजयको धन्दा हो। उनको बजारको हजार ब्याजदर धन्दाले अझै गरिबहरु विस्थापित हुने क्रम जारी छ।
उनको यो अनैतिक गैरकानुनी धन्दाले गाउँकै तारादेवी मण्डल, नथुनी साह, मदन चौधरी, लक्ष्मण झा, राजु राउत विस्थापित भइसकेका छन्।
झण्डै एक महिनाअघि स्थानीय ऋणी गुदरी मण्डलको घरमा पसेर सुदखोर विजयसहित उनका परिवारले कुटपिट गरेका थिए। ऋण नतिरेको भन्दै गरेको निर्घात कुटपिटबाट गुदरी मण्डलकी श्रीमती पासोदेवी गम्भीर घाइते भएकी थिइन्। पछि जिल्ला प्रहरी कार्यालय महोत्तरी अन्तर्गत महिला तथा बालबालिका सेलमा उजुरी दिँदा विजयले पहल गरी गाउँमै घटना मिलाएका थिए। गुदारीको दुधालु भैँसी लिएका उनले आफ्नो पोल खुल्ने डरले झण्डै एक लाखको दुधालु भैँसी दिएर मिलापत्र गरेका थिए।
औरही बजारकै साझा लघुवित्त सहकारीमा काम गर्दै उनले त्यहाँ आउने सोझासिधा गाउँकी अनपढ महिलालाई ललाई–फकाई आफ्नो जालमा पार्ने र बजारको हजार भाउमा ऋण लगानी गरी कपाली तम्सुक बनाउने गरेको स्थानीयको भनाइ छ।
विजयका सबभन्दा ठूलो सहयोगी स्थानीय नेकपा नेता रामबाबु चौधरी छन्। रामबाबुले नै साझा लघुवित्त सहकारी चलाएका छन्। उनी विजयका आफन्त पर्छन्। रामबाबु गएको २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ ‘क’ बाट तत्कालिन नेकपा माआवादी केन्द्रबाट प्रदेशसभाको चुनाव लडेका थिए। यस्तै विजयलाई स्थानीय सुरेश साह, सन्तोष साह, धीरेन्द्र साह, रामपुकार साह, रविन चौधरी लगायतको जमातको सहयोग छ।
पीडितहरुका अनुसार समयमै ऋण चुक्ता नगरेको खण्डमा घरमै पुगेर कुटपिट गर्ने र समाजमा छलफल हुँदा यिनीहरु सबै विजयको पक्षमा उभिँदै आएका छन्।
प्रशासन किन मौन?
मिटरब्याजी विजय चौधरीको गलत धन्दासम्बन्धी पहिलोपटक गत भदौ २४ गते नेपालखबरमा समाचार सार्वजनिक भएको थियो। समचारकै प्रभावमा त्यसको भोलिपल्ट साँझ उनको घरमा प्रहरीले छापा मारेको थियो। जिल्ला प्रहरी कार्यालय महोत्तरीकै टोलीले छापा मार्दा उनको घरमा कुनै प्रकारको तमसुक फेला नपरेको बताएको थियो।
स्थानीयका अनुसार समाचार सार्वजनिक भएकै बेला विजय चौधरीले ऋण लगानीसँग सम्बन्धित कपाली तमसुकलगायतका कागजातहरु आफ्ना विश्वसनीय साथी र आफू कार्यरत सहकारीमा लुकाएर सतर्क भएका थिए। त्यसैले प्रहरीलाई केही फेला परेन। प्रहरीले उनी ठूलो मिटरब्याजी नरहेको दावी गर्दै आएको छ।
छापा मार्दा उनको घरमा केही कागजात नभेटिएकाले विजयमाथि कुनै कारबाही गर्न नसकेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए।
‘अहिलेसम्म विजय मिटरब्याजी भएको कुनै प्रमाण फेला परेको छैन। त्यसैले कुनै कारबाही गर्न सकेका छैनौँ’, उनले नेपालखबरसँग भने, ‘तर, विजयमाथि हाम्रो निगरानी छँदैछ। प्रमाण फेला परे कारबाही गर्छौँ।’
स्थानीयका अनुसार प्रहरीले छापा मारेपछि केही दिन विजयलगायत उनका सहयोगीहरु जिल्ला प्रहरी र जिल्ला प्रशासनमा निकै दौडधुप गरेका थिए। विजयले प्रहरी प्रशासन सबैलाई मिलाइसकेकाले उनी संरक्षण दिइरहेको पीडितहरुको आरोप छ।
सम्बन्धित समाचार
महोत्तरीका चर्को मिटरब्याजी चौधरीको घरमा प्रहरीको छापा
सुद्खोरको आतंकले आधा दर्जन परिवार गाउँबाट लखेटिए, तर प्रशासन भन्छः ठूलो मिटरब्याजी होइन रहेछ
Shares
प्रतिक्रिया