ad ad

समाज


बैतडी बस दुर्घटना : घाइते भन्छन्- बिग्रेको गाडी जबर्जस्ती चलाइयो, चालक भन्छन्- स्टेरिङ अनियन्त्रित भयो

बैतडी बस दुर्घटना : घाइते भन्छन्- बिग्रेको गाडी जबर्जस्ती चलाइयो, चालक भन्छन्- स्टेरिङ अनियन्त्रित भयो

गोकुल जोशी
कात्तिक २८, २०७७ शुक्रबार ८:३३,

अछामकोे चौरपाटी गाउँपालिका–४ का २६ वर्षीय अमृत कुमाल पेशाले ‘ड्राइभर’ हुन्। उनी दार्चुलामा स्काभेटर चलाउँछन्।

दीपावली मनाउनका लागि घर जान भनि बिहीबार साँझतिर अमृत महेन्द्रनगर आउने पवनदूत यातायातको ना५ख ५१४१ नम्बरको बस चढे। डडेल्धुरास्थित स्याउलेबाट अछाम जाने गाडी चढेर घर जाने योजनासाथ बस चढेका उनी घर होइन अस्पतालको शय्यामा पुगे।

अमृतजस्तै विभिन्न गन्तव्य पुग्नका लागि हिँडेका ४३ जना यात्रुले भरिएको बस बिहिवार राति साढे १० बजेतिर बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा दुर्घटनामा पर्‍यो।

सडकबाट ६ सय मिटर तल खसेको बसमा सवार ४३ जनामध्ये ९ जनाले ज्यान गुमाए भने अन्य ३४ जना घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएका अमृतको टाउको, कम्मर र छातीको चोट लागेको छ। तिहार मनाउन घर हिँडेका उनी यतिबेला डडेल्धुरा अस्पतालमा उपचाररत छन्।

ब्रिगेको गाडी जबरजस्ती चलाउँदा दुर्घटना भएको अमृत बताउँछन्। ‘गाडीमा सुरुदेखि नै समस्या थियो। चालकले टायरमा गन्ध आउँदैछ भनेर बीचबीचमा रोक्दै चलाउँदै गर्दै हुनुहुन्थ्यो’, अमृतले नेपालखबरसँग भने, ‘उकालोमा गाडीलाई तान्नै धौधौ भएको थियो।’

No description available.डडेल्धुरा अस्पतालमा उपचाररत घाइते अमृत कुमाल । फोटोः प्रकाश पार्की

बसको अवस्था देखेपछि यात्रुले ड्राइभरलाई बस मर्मत गरेर मात्रै चलाउन सुझाब दिएका थिए। तर, चालकले यात्रुको कुरै सुनेनन्, केही हुँदैन भनेर अटेरी गरी बस चलाइरहे।

‘गाडी राम्रोसँग बनाएर चलाउनु भन्यौँ तर उहाँले मान्नु भएन। केही हुँदैन भनेर चलाएको केही समय पछि त गाडी अचानक फन्नक घुमेको जस्तो लाग्यो’, उनले भने, ‘म त मोड काटेको होला भन्ने सोचेको थिएँ। तर, गल्ड्याङ–गुल्डुग गर्दै बस पल्टियो, सबै यात्रु तितरवितर भयौँ।’

उनले अगाडि थपे, ‘केही यात्रु निधाएका थिए, केही जागै थिए। गाडी चार पाँच पटक पल्टेपछि हामीहरु चिच्याउन थाल्यौँ।’

पाटन नगरपालिका–८ खोड्पेमा बस पल्टिनु केहीअघि पनि उक्त गाडी दुर्घटना हुनबाट जोगिएको उनले सुनाए।

अमृतले बस बिग्रिएकै कारण दुर्घटना भएको बताइरहाँदा बसका चालक भने घुम्तीमा स्टेरिङ अनियन्त्रित भएर बस दुर्घटना भएको प्रहरीमा बयान दिएका छन्।

के भन्छ प्रहरी ?
यता प्रहरीले भने अहिलेसम्म दुर्घटनाको कारण पत्ता लागि नसकेको बताएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी मुकेश सिंह बस दुर्घटनाको यकिन कारण अझै खुल्न नसकेको बताए।

‘यात्रुहरुले गाडी बिग्रिएकाले दुर्घटना भएको बनिरहेका छन्। दुर्घटना हुनुअघि धुँवा बढी फालेर गाडीमा समस्या आए पछि चालकले चेक गरेको पाइएको छ’ एसएसपी सिंहले भने, ‘तर, चालकले घुम्ती बाटो भएकाले स्ट्रेरिङ अनियन्त्रित भएर दुर्घटना भएको भनिरहेका छन्।’

  दुर्घटनामा परेको बस

मृतक ९ जनाकै सनाखत
दुर्घटनामा परी ज्यान गुमाएका ९ जनाकै सनाखत भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक बहादुर धामीले बताए।

मृत्यु हुनेमा बैतडीको दोगडाकेदार–६ सित्तडका २५ वर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ बर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरका १५ वर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका ४ का तर्कराज गिरी रहेका छन्।

प्रहरीका अनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिका–५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका–४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका–१८ का ऋषिराम चौधरीको पनि दुर्घटना परी मृत्यु भएको छ।

दुर्घटनामा परी ३४ जना घाइते भएका छन्। प्रहरीका अनुसार गम्भीर घाइते २० जनालाई डडेल्धुरा अस्पतालबाट धनगढी रेफर गरिएको छ। बाँकी सामान्य घाइते १४ जना भने डिस्चार्ज भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .