ad ad

समाज


१३ दिनदेखि अनशनरत जानकी मेडिकलका दुई कर्मचारी आईसीयूमा भर्ना

१३ दिनदेखि अनशनरत जानकी मेडिकलका दुई कर्मचारी आईसीयूमा भर्ना

शैलेन्द्र महतो
कात्तिक २८, २०७७ शुक्रबार ११:१९,

जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत दुई कर्मचारी आमरण अनशनमा बसेको १३ दिन पुगेको छ।

विभिन्न मागसहित गएको कार्तिक १६ गतेदेखि मेडिकल कलेजको इमर्जेन्सी विभागमा कार्यरत कुल्दीप साह र सुरक्षा विभागका कर्मचारी जानकी शरण यादव आमरण अनशनमा बसेका हुन्।

लामो समय आमरण अनशन बसेको कारण स्वास्थ्य सिकिस्त हुँदा साह र यादवलाई प्रादेशिक अस्पतालको आइसियुमा भर्ना गरिएको छ।

दुवैजनालाई १२ औं दिनमा बिहीबार आईसीयूमा भर्ना गरिएको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले बताए। अनशरत साह र यादव कर्मचारी हकहित संरक्षण संघर्ष समितिका सदस्य छन्।

सहकर्मी कर्मचारीमाथि कलेज प्रशासनले गरेको कारबाही फिर्ता लिनुपर्ने, ८ महिनादेखि बाँकी पारिश्रमिक, दसैँ खर्च र ६ वर्षको संचय कोषको हरहिसाब दिनुपर्ने लगायतको मागसहित दुवैजना अनशनमा बसेका हुन्।

लामो समयसम्म अनशन बसेर स्वास्थ्य अवस्था खराब हुँदासमेत कलेज व्यवस्थपन पक्ष माग पुरा गर्न चासो नदेखाएको अनशनरत कर्मचारी साहले गुनासो पोखे। उनले माग पुरा नभएसम्म अनशन जारी राख्ने बताए।

‘हामी बितगमा थुप्रै पटक आन्दालन गर्यौं। व्यवस्थापन पक्षले थुप्रै पटक सहमति गर्यो, तर कार्यान्वयन गरेनन्। उल्टै कर्मचारीहरुलाई नै विभिन्न बाहानामा निकाल्ने, स्पष्टीकरण सोध्ने, कारबाही गर्ने जस्ता कार्य गरेर आतंकित बनायो’ अनशनरत कर्मचारी साहले नेपालखबरसँग भने ‘त्यसैले अन्तमा बाध्य भएर अनशन बसेका हौँ। जबसम्म हाम्रो समस्या समाधान हुँदैन। तबसम्म अनशन तोड्दैनौं।’

कर्मचारीहरु झण्डै दुई महिनादेखि हरहिसाब माग गर्दै ओपीडी सेवा र प्रशासनिक सेवा बन्द गरी धर्ना दिँदै आएका थिए। भदौ ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा कलेज व्यवस्थापक र आन्दोलनरत कर्मचारीबीच असोज ४ गते भित्र लेखापाल राखेर हर हिसाब गर्ने, असोज ३० गतेसम्म दसैँ खर्च, संचय कोष र पारिश्रमिकलगायतका सम्पूर्ण रकम भुक्तानी गर्ने सहमति भएको थियो।

सहमति पश्चात कर्मचारी काममा फर्किँदा व्यवस्थापन पक्षले केही कर्मचारीलाई स्पष्टीकरण र कारबाहीको पत्र थमाएपछि पुनः आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प गरी आन्दोलन गर्दै आएको संघर्ष समितिका संयोजक उमेश यादवले बताए।

कर्मचारीहरु विगतमा पनि महिनै पिच्छे आन्दोलन गर्दै आएका थिए। तर दीर्घकालिन रुपमा कलेज व्यवस्थपन पक्षले समस्या समाधान गर्ने तर्फ चासो नदिएको र झारा टार्ने काम मात्र गरेको कर्मचारीहरुको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .