ad ad

समाज


‘नेताले वाचा पूरा गरेनन्, तिहार आएजस्तै लागेको छैन’

‘नेताले वाचा पूरा गरेनन्, तिहार आएजस्तै लागेको छैन’

गोकुल जोशी
कात्तिक २९, २०७७ शनिबार ४:४१,

यतिबेला चारैतिर तिहारको चहलपहल छ। घरगाउँ सिँगारिएका छन्, बत्तीले झिलिमिली पारिएका छन्। तर कञ्चनपुरको भीमदत्त नगरपालिका-९, चुरे क्षेत्रका खल्ला, मसेट्टी र टुँडिखेल गाउँमा भने त्यस्तो रौनक छाउन सकेको छैन।

उल्लिखित ३ गाउँका ३ सयभन्दा बढी परिवार चुनावमा नेताले गरेका वाचाअनुसार यसपालि तिहारमा घर बत्तीले झिलिमिली बनाउने ठूलो आशामा थिए। तर आशा निराशामा परिणत भएपछि उनीहरू तिहार पनि ‘अँध्यारो’ मै मनाउन बाध्य भएका हुन्।

खल्ला, मसेट्टी र टुँडीखेलमा विद्युत् पुर्‍याउन गत आर्थिक वर्ष २०७६/०७७ मै काम सुरु गरिएको थियो। तर ढिलासुस्तीका कारण काम अझै पूरा हुन नसकेको हो।

स्थानीयका अनुसार चुनावताका नेताहरूले यस वर्षको तिहारमा जसरी भए पनि बिजुली पुर्‍याउने वाचा गरेका थिए। तर त्यो वाचा पूरा गर्न नसक्दा आफूहरू यसपालिको तिहार पनि अन्धकारमै मनाउन बाध्य भएको स्थानीयको गुनासो छ।

‘चुनावका बेला नेताहरूले बिजुली ल्याउने सपना देखाएका थिए। तर विद्युत आएन,’ स्थानीय हरिदत्त जोशीले गुनासो गरे।

खल्ला, मसेट्टी र टुँडिखेलको पश्चिम महाकाली नदीले भारतसँगको सीमा छुट्याएको छ। महाकाली पारिका भारतीय बस्ती बिजुलीले झिलिमिली छ, तर वारिका नेपाली बस्ती अन्धकार छ।

वि.सं. २०५१–०५२ तिरदेखि बसोबास सुरु भएको ती बस्तीमा अहिलेसम्म विद्युत सेवा पुग्न नसकेको हो।

‘पारि झिलिमिली छ, वारि तिहारका बेला पनि अन्धकारमा बस्नुपरेको छ,’ अर्का स्थानीय शान्ता मगरले नेपालखबरसँग भनिन्, ‘हामीलाई तिहार आएजस्तै लागेको छैन।’

विद्युत नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन्। न टेलिफोन, न इन्टरनेट, बिजुली नभएकै कारण अति जरुरी यस्ता प्रविधि प्रयोग गर्नबाट स्थानीय वञ्चित छन्।

टुकी बालेर अँध्यारो हटाउनुपर्ने बाध्यता रहेको स्थानीय तेज विकले गुनासो गरे। ‘कुटान, पिसानदेखि मोबाइल चार्ज गर्नसम्म समस्या छ,’ उनले नेपालखबरसँग दुखेसो गरे। उनका अनुसार खानेपानी, सञ्चार, यातायातको सुविधा पनि छैन।

खल्ला, मसेट्टी र टुँडिखेलमा बिजुली पुर्‍याउन पोल गाड्ने र तार तान्ने काम त भएको छ। तर बजेट अभावले केही महिनायता काम अघि बढ्न सकेको छैन।

खल्ला र मसेट्टीमा एक/एक ट्रान्सफर्मर राखिएको भीमदत्त नगरपालिका-९ का वडाध्यक्ष राम नाथले जानकारी दिए।

‘खहरे खोला, कामदारको मृत्यु र विद्युतका हाकिमको सरुवालगायत कारण विद्युतीकरणमा केही ढिलाइ भएको छ,’ वडाध्यक्ष नाथले नेपालखबरसँग भने। उनका अनुसार टुँडिखेलमा एक ट्रान्सर्फमर थप्ने तयारी भइरहेको छ। ब्रह्मदेव–खल्ला खण्डमा गाडिएका केही पोल रुख ढलेरर लाग्दा भाँचिएका छन्।

तार खरिद र ट्रान्सफर्मर थप्ने काममा ढिलाइ हुँदा यो तिहारमै बिजुली बाल्न नसकिएको प्रदेशसभा सांसद प्रकाश रावल बताउँछन्।

‘बजेट अभावले केही उपकरण नहुँदा तिहारमै बिजुली सेवा पुर्‍याउन सकिएन। आवश्यक बजेट नगरपालिकाले व्यवस्था गर्ने भएको छ,’ उनले नेपालखबरसँग भने, ‘तिहारलगत्तै त्यहाँ बिजुली बल्छ।’

बाँकी काम सक्न ६ लाख बजेट विनियोजन गरिएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट बताउँछन्।

‘खल्ला, मसेट्टी र टुँडिखेलमा विद्युतीकरणको जिम्मा विद्युत् प्राधिकरणलाइ दिइएको छ। आवश्यक बजेटको इस्टिमेट गरेर प्राधिकरणले नगरपालिकालाई बुझाएको छ,’ नगर प्रमुख विष्टले भने, ‘ट्रान्सफर्मर प्राधिकरणले नै राख्ने भएको छ। थप लाइन विस्तारलगायत काम गर्न ६ लाख विनियोजन भएको छ। छिट्टै विद्युत् सञ्चालन गर्न हामी प्रतिबद्ध छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .