ad ad

समाज


मेडिकल काउन्सिलका कारण चीन पढ्ने नेपाली विद्यार्थी अन्योलमा

मेडिकल काउन्सिलका कारण चीन पढ्ने नेपाली विद्यार्थी अन्योलमा

चेतनाथ आचार्य
मंसिर ११, २०७७ बिहिबार ८:५७,

नेपाल मेडिकल काउन्सिलले चिनियाँ विश्वविद्यालयमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको अनलाइन इन्टर्नसिपलाई मान्यता नदिने भनेपछि थुप्रै नेपाली विद्यार्थीहरुको भविष्य अन्योलग्रस्त बनेको छ।

चिकित्साशास्त्र (मेडिकल साइन्स) अन्तर्गत चीनमा स्नातक (एमबीबीएस) र स्नातकोत्तर (एमडी) तहको अन्तिम सेमेस्टारमा पुगेका विद्यार्थीहरु विशेष समस्यामा परेका हुन्। सामान्य अवस्था भएको भए उनीहरु गत जुन महिनामै अध्ययन सकेर विश्वविद्यालयबाट दीक्षान्त भइसक्ने थिए। कोरोना महामारीका कारण नेपाल फर्किएका उनीहरु त्यत्तिकै समय कटाउन बाध्य भएका छन्।

सामान्यतः विश्वव्यापी चलन अनुसार एमबीबीएस तहको अन्तिम दुई सेमेस्टार इन्टर्नसिप कक्षा हुने गर्छ। इन्टर्नसिप कक्षा भनेको सैद्धान्तिक नभई अस्पतालमा गएर व्यावहारिक ज्ञान लिने कक्षा हो। एमबीबीएसको पाँचौँ वर्ष नपुगेका जो विद्यार्थीहरु अहिले नेपालमा छन् उनीहरुलाई खासै समस्या छैन किनभने उनीहरुले अनलाइन माध्यमबाट कक्षा लिइरहेका छन्।

एमडीको तीन वर्षे कक्षा प्राय इन्टर्नसिपकै जस्तो हरेक दिन अस्पतालमा गएर काम गर्नुपर्ने हुन्छ। चिनियाँ विश्वविद्यालयले विद्यार्थीलाई इन्टर्नसिपको कक्षा पनि अनलाइनबाट लिन लगाएर प्रमाणपत्र दिने गरेको छ। कतिपय देशबाट चीनमा पढ्न आएका विद्यार्थीहरुले आफ्नै देशका अस्पतालहरुमा इन्टर्नसिप गरिरहेका छन्।

सन् २००८ भन्दा अगाडिसम्म चीनमा चिकित्साशास्त्र पढ्ने विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्ने सुविधा थियो। १२ वर्ष अगाडि नेपालले चीनमा अध्ययन गरेका विद्यार्थीले चीनमै इन्टर्नसिप गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको हो।

चीनमा कोरोना महामारीका कारण गत फेब्रुअरीदेखि अगष्टसम्म सबै शैक्षिक संस्थाहरु ठप्प भएका थिए। चीनमै रहेकाले पनि अनलाइनबाट पढ्नुपर्ने बाध्यता थियो। गत सेप्टेम्बरदेखि चिनियाँ शैक्षिक संस्थाहरु खुलेका छन् तर विदेश फर्किएका विद्यार्थीलाई चीनले अझै बोलाएको छैन। चिनियाँ विश्वविद्यालयले विदेशमा रहेका आफ्ना विद्यार्थीलाई बोलाउनका लागि चीन सरकारबाट अनुमति लिनुपर्दछ। चीनबाट आफ्नो देश फर्किएका विदेशी विद्यार्थीलाई चीनले पठनपाठनका लागि कहिले फिर्ता बोलाउँछ भन्ने अझै निश्चित छैन।

कोरोना महामारीलाई नियन्त्रण गर्नका लागि विदेशी विद्यार्थीलाई चीनमा तत्काल नबोलाउने तर अनलाइन कक्षाबाट उनीहरुको अध्ययनको समयलाई खेर जान नदिने व्यवस्था चीनले मिलाएको छ। अनलाइनबाटै परीक्षा लिएर थेसिस बुझाउने कार्यसँगै भाइभा पनि अनलाइनबाट हुने सुविधा चीनले उपलब्ध गराएको छ।

यस्तो अवस्थामा नेपाली विद्यार्थीले इन्टर्नसिपको कक्षा पनि चिनियाँ विश्वविद्यालयले अनलाइनबाट उपलब्ध गराएपनि अनलाइनबाट इन्टर्नसिप लिएकालाई मान्यता नदिने भनेर नेपाल मेडिकल काउन्सिलले औँला ठड्याएपछि आफूहरु तनावमा रहेको पीडित विद्यार्थीले बताएका छन्।

कतिपय देशले चीनमा चिकित्साशास्त्र अध्ययन गरेका विद्यार्थीको इन्टर्नसिप आफ्नै देशमा गराउने सुविधा उपलब्ध गराएका छन्। पाकिस्तानले यस्तो सुविधा आफ्ना नागरिकलाई दिएको छ। अहिले कोरोना महामारीको प्रतिकूल अवस्थामा नेपालले पनि चीनमा अध्ययन गरेका विद्यार्थीलाई त्यस्तो सुविधा उपलब्ध गराउनका लागि पीडित विद्यार्थीको मागलाई नेपालका कुनै पनि निकायले सुनेका छैनन्।

नेपालका सम्बन्धित निकायहरुले चीनप्रतिको पूर्वाग्रही धारणा राखेर आफ्नो कुरा सुनुवाई नगरेको आरोप ती विद्यार्थीहरुले लगाएका छन्।

चीनको हुपेई प्रान्तको वुहानस्थित याङ्जी विश्वविद्यालयमा एमडी गरिरहकी जानुका भुसालले भनिन्, ‘हामी आफ्नै पैसाले चीनमा अध्ययन गरिरहेका छौँ। नेपाल मेडिकल काउन्सिलले एमडीमा अनलाइन कक्षाको मान्यता नदिएपछि विगत ९ महिनादेखि नेपालमा त्यतिकै बस्नु परेको छ।’

सोही विश्वविद्यालयमा एमबीबीएसको अन्तिम सेमेस्टारमा अध्ययनरत सजना न्यौपानेले पनि उस्तै गुनासो व्यक्त गरिन्। उनीभन्दा जुनियर विद्यार्थीहरुले धमाधम अनलाइन कक्षा लिइरहेका छन्। आफ्नो इन्टर्नसिप कक्षा भएको र नेपाल मेडिकल काउन्सिलले मान्यता नदिने भनेपछि अनलाइन कक्षा पनि नलिएको उनले सुनाइन्।

हुपेई मेडिकल विश्वविद्यालयमा एमडी गरिरहेका प्रिन्स रौनियार, अमित श्रीवास्तव, श्रवण श्रेष्ठ र मिलन अधिकारीले पनि उही समस्या भोगिरहेका छन्। उनीहरु सबै एमडीको अन्तिम सेमेस्टारका विद्यार्थी हुन्। तीन वर्षे एमडीमा उनीहरुले अढाई वर्षको अध्ययन पूरा गरिसकेका थिए।

आफ्नै पैसामा चीनमा चिकित्साशास्त्रमा विशेषज्ञता हासिल गरेर नेपालमा सेवा दिने उनीहरुको चाहनामा तुँवालो लागेको छ। उनीहरुको मिहिनेत र लगानीसँगै समय पनि घर्किरहेको छ। नेपाली जनतालाई सेवा दिनका लागि चाँडै प्रमाणपत्र लिएर नेपालमा केही गर्ने उनीहरुको इच्छामाथि तगारो आइलागेको छ।

नेपालको जनसंख्याको अनुपातमा अत्यन्त कम स्वास्थ्यकर्मी रहेको यथार्थ एकातिर छँदैछ, अर्कातिर विदेशमा आफ्नै पैसामा अध्ययन गरेर नेपालमा अभाव जनशक्तिलाई पुर्ताल गर्ने चाहनालाई पनि सरकारी निकायले बुझेको छैन।

नेपालको पूर्वाधार तथा स्वास्थ्य क्षेत्रमा चीनले निकै ठूलो सहयोग गर्दै आएको छ। चीनमा अहिले पनि ६ हजार ४ सय नेपाली विद्यार्थीहरु अध्ययनरत छन्। चीनले दिने छात्रवृत्तिमा नेपाल टपटेनमा रहेको केहीवर्ष अगाडि चाइना डेली पत्रिकाले उल्लेख गरेको थियो।

कोरोना महामारीको प्रतिकूल समयमा नेपालमा व्यापक स्वास्थ्यकर्मीको आवश्यकता खड्किरहेको छ। यस्तो अवस्थालाई ध्यान दिएर नेपाल सरकारले नेपालमै इन्टर्नसिप कक्षा लिने व्यवस्था गरेमा उनीहरुले बेकारमा समय खर्च गर्नुपर्ने थिएन।

उनीहरुको समयको सदुपयोग हुने थियो भने नेपाली नागरिकले पनि केही सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्ने थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .