ad ad

समाज


समाजले अपहेलना गर्ने डरले कोरोना परीक्षणमा आनाकानी

समाजले अपहेलना गर्ने डरले कोरोना परीक्षणमा आनाकानी

सिद्धराज भट्ट
मंसिर २३, २०७७ मंगलबार ९:२६,

धनगढीको व्यापारिक फर्ममा काम गर्दै आएका स्थानीय एकजना पुरुषलाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि बिदा मागेर घरमै बसे। कोरोना भाइरस संक्रमण भएको शंका गर्दै छिमेकी र परिवारका सदस्यले नमूना परीक्षण गराउन पटक पटक सल्लाह दिए पनि उनले परीक्षण गराउन मानेनन्।

घरमै तुलसीपात र ज्वानो घोलिएको तातोपानी नियमित खाने गरे। घरको बसाइमा उनी १२ दिनमै सञ्चो भई आफ्नो नियमित काममा फर्किए। रुघाखोकी र ज्वरोको लक्षण देखिएका धनगढीकै अर्का नाम उल्लेख गर्न नचाहने पुरुषले पनि नमूना जाँच गराउन परिवार र छरछिमेकीले दिएको सल्लाह मानेनन्।

उनले भने, ‘नमूना लिन घरमै स्वास्थ्यकर्मी आइदिएको भए दिन्थे, घरबाहिर गएर नमूना दिन असहज महसुस हुँदा दिइन।’

कोरोनाको संक्रमण भए/नभएकोबारे जानकारी नभए पनि बिरामी भएको समयमा घरमा बस्दा परिवारका अन्य सदस्यको स्वास्थ्य सुरक्षाका लागि भने आफू सचेत भएको उनले बताए। घरमै अलग्गै बसेका उनी दुई हप्तापछि निको भई काममा फर्किए।

उनीहरु जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने, हातखुट्टाका जोर्नी दुख्ने लक्षण देखिने कतिपय व्यक्ति पछिल्ला दिनमा आफ्नो नमूना परीक्षण गराउन इच्छुक देखिँदैनन्। कोरोना भएको पुष्टि भएमा समाजले सम्बन्धित व्यक्तिमाथि गर्ने व्यवहार र परिवारका सदस्यमा देखिन सक्ने त्रासका कारण पनि कतिपय व्यक्तिले आफ्नो नमूना जाँच गराउन इच्छुक नदेखिएको बताइन्छ। यस्तो लक्षण देखिने व्यक्ति बिरामी भएर घरमै बस्ने गरेका छन्।

लक्षणसहित सिकिस्त अवस्थाका बिरामीले भने नमूना जाँच र परीक्षण गराउने गरेका छन्। पछिल्ला दिनमा प्रदेशमा नमूना संकलनमा पनि कमी हुँदै गएको छ। प्रदेशका प्रयोगशालामा दैनिक छ हजार नमूना परीक्षण गर्ने क्षमता रहे पनि नमूना संकलन सुस्त हुँदा निकै कम नमूनाको परीक्षण हुने गरेको छ।

पछिल्ला दिनमा अस्पतालमा गम्भीर अवस्थाका बिरामी बढ्दै जाँदा मृत्यु दर पनि बढ्दै गएको देखिएको छ। मंसिर १६ गतेयता एक हप्ताको अवधिमा प्रदेशका विभिन्न जिल्लाका कोभिड–१९ का शंकास्पद दुई हजार ३०६ जनाको नमूना संकलन हुन सकेको छ। सो अवधिमा सक्रिय संक्रमित ३३० जना थपिएका छन् भने चार जनाको मृत्यु भएको छ। सामाजिक विकास मन्त्रालयको तथ्यांक विश्लेषण गर्दा एक हप्तामा थप ४६४ मा संक्रमण देखिँदा १३१ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन्। अहिलेसम्म कूल संक्रमितको संख्या ११ हजार ८१६ पुग्दा नौ हजार ६४८ जना उपचार व्यवस्थापनपछि डिस्चार्ज भएका छन्।

संकलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ। सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमर कोरोना भाइरसको संक्रमण हुने दरमा कमी नआएको बताउँछन्।

‘जाडो मौसममा भाइरल इम्फेक्सनको जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्न सक्छन्’, उनले भने, ‘कोरोना भाइरसका जटिल अवस्थाका बिरामी भर्ना हुने दर बढ्दो छ।’

स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले कोरोनाको जस्तो लक्षण भएर पनि कतिपयले आफ्नो नमूना जाँच नगराइरहेको भन्ने जानकारी नभएको बताए।
‘हरेक पालिकामा व्यवस्था गरिएको संकलन केन्द्रमा नमूना दिन सकिने व्यवस्था गरिएको छ’, जोशीले भने, ‘नमूना नदिनेलाई कोरोना भाइरसको संक्रमण भएको भए त्यसले समाजमा थप जटिलता निम्त्याउन सक्छ।’

लक्षण देखिएका र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, अन्यत्र ठाउँबाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना संकलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना संकलनमा कमी आएको हुन सक्ने बताइएको छ। सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना संक्रमित ४२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीमा २२, कञ्चनपुरमा छ, डडेलधुरा र बझाङमा तीन/तीन, अछाम, बाजुरा, दार्चुलामा दुई/दुई, डोटी र बैतडीमा एक/एकजना छन्। संक्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्यांक भने मन्त्रालयसँग छैन।

सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना संक्रमणको जटिल अवस्थाका सातको सघन उपचार कक्ष (आईसीयू) मा र दुईजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। कोरोना भाइरस संक्रमणको समस्यासँगै सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा सञ्चालनमा ल्याइएका पीसीआर मेसिनमार्फत कोरोनाको नमूना परीक्षण भइरहेको छ।

तर मेसिन सञ्चालन गर्न आवश्यक सामग्रीको व्यवस्थापनमा ढिलाइ हुँदा कञ्चनपुरको महाकाली अस्पतालको यो मेसिन अझै सञ्चालनमा आउन सकेको छैन। दुई महिनाअघि सो अस्पतालमा पिसिआर मेसिनको व्यवस्थापन भएको थियो। कैलालीको सेती प्रादेशिक अस्पतालमा दुई र डडेलधुरा, डोटी, बैतडी, अछाम अस्पतालमा व्यवस्थापन गरिएका एक/एक पीसीआर मेसिनबाट कोरोनाको नमूना परीक्षण भइरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .