ad ad

समाज


सरकारी अध्ययनले नै समुदायमा संक्रमण फैलिएको देखायो

सरकारी अध्ययनले नै समुदायमा संक्रमण फैलिएको देखायो

नेपालखबर
मंसिर २७, २०७७ शनिबार १०:७,

नेपालमा कोरोना संक्रमण समुदायमा फैलिएको नफैलिएकोबारे बहस हुँदै आएको छ।

सरकारी अधिकारीहरु समुदायमा नफैलिएको बताउँदै आएका छन भने जनस्वास्थ्यका विज्ञहरुले समुदायमै फैलिएको दाबी गर्दै आएका छन।

यसैबीच एक सरकारी अध्ययनले नै नेपालमा समुदायमा कोरोना संक्रमण फैलिएको देखाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको देखाएको हो।

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेका अनुसार गत असोजमा महाशाखाले कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भनि अवस्था पत्ता लगाउन एन्टिबडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गरेको थियो।

सर्वेक्षणमा प्रदेश २ र वाग्मती प्रदेशमा सङ्क्रमणको जोखिम बढी देखिएको पाण्डेले बताए। तराई र पहाडको तुलनामा हिमालमा सङ्क्रमणको जोखिम नदेखिएको उनले बताए।

अध्ययनमा १५ देखि ४५ वर्ष उमेर समूहका मानिसलाई सङ्क्रमण बढी भएको पाइएको छ। बालबालिकाका पनि सङ्क्रमण भएको पाइएको छ।

'बालबालिका लक्षण मात्र नदेखिएर सङ्क्रमण नभएको भन्ने थियो,' उनले भने, 'बालबालिकालाई भित्रीरुपमा सङ्क्रमण भएको अध्ययनले देखाएको छ।'

महाशाखाले प्रत्येक प्रदेशका ३० वटा वडामा रहेका मानिसको रगतको नमूना सङ्कलन गरेर समुदायस्तरमा सङ्क्रमण फैलिएको छ वा छैन भनेर एन्टिबडी परीक्षण गरेको थियो।

एक वडामा १५ जनाको दरले नमूना सङ्कलन गरिएको थियो। यसरी प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १७० जनाको नमूना सङ्कलन गरिएको थियो। महाशाखाले पूर्वी रुकुम र रसुवाबाहेक सबै जिल्लामा नमूना परीक्षण गरेको थियो।

परीक्षणका लागि बालबालिका, बृद्धा, महिला, युवालगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका तथा नभएका मानिस तथा सङ्क्रमित भएका र नभएका व्यक्तिको नमूना सङ्कलन गरिएको थियो।

महाशाखाले सङ्कलन गरेको रगतको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएको थियो।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सङ्क्रमण समुदायमा देखिए पनि मन्त्रालयबाट आधिकारिकरुपमा जानकारी अहिले नै सार्वजनिक नभएको बताए। उनले ‘सेरो प्रिभिलेन्स’ रिपोर्ट मन्त्रालयमा आएको र अध्ययन भइरहेको बताए।

डा पाण्डेले समुदायस्तरमा संक्रमणको दर कस्तो छ भनेर बुझ्न अझै व्यापक अध्ययन आवश्यक रहेको बताए। उनले अहिलेको अध्ययनलाई सबैलाई समेट्न नसकेकाले पुनःएन्टिबडी परीक्षण गरिने बताए।

'अहिले सङ्क्रमण पनि घटेको छ, किन घट्यो, अर्को कुरा अहिले कोभिड–१९ विरुद्धको खोप ल्याउने भनिएको छ, उक्त खोप कस्तालाई लगाउने हो त्यसको निक्र्यौल गर्नुपर्दछ,' उनले भने, 'त्यही भएर पहिलेकोभन्दा व्यापक रुपले एन्टिबडी परीक्षण गरिनेछ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .