दाइजो प्रथा न्यूनिकरण गर्ने उद्देश्यले जनकपुरमा ११ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ। विवाहपञ्चमीको अवसरमा नेपाल हिन्दु राष्ट्र संघको आयोजनामा आइतबार जानकी मन्दिरमा ११ जोडीको आदर्श विवाह भएको हो।
विवाहको सम्पूर्ण खर्च नेपाल हिन्दु राष्ट्र संघले गरेको संघका धनुषा जिल्ला अध्यक्ष सन्तोष साहले बताए। मधेशमा व्याप्त रहेको दाईजो प्रथालाई न्यूनिकरण गर्ने सन्देश दिन ११ जोडीको सामूहिक विवाह गराइएको उनको भनाइ छ।
‘त्रेता युगमा पनि राम र सीताको आदर्श विवाह भएको थियो। तर आजको दिनमा दाइजो समाजको रोग बनेको छ। यसले गरिब तथा विपन्न परिवारहरु बढी समस्यामा पर्ने गरेका छन्। दाइजोकै कारण छोराछोरीमा व्याप्त विभेद छ। महिला हिंसा बढेको छ’ अध्यक्ष साहले भने ‘त्यसैले दाइजो प्रथालाई निरुत्साहित गर्न ११ जोडीको सामूहिक आदर्श विवाह गराएका हौं।’
सामूहिक विवाह अघि ११ जना बेहुलालाई रथमा चढाएर नगर परिक्रमा गराइएको थियो। सामूहिक विवाह हेर्न जानकी मन्दिरमा भीड लागेको थियो। गत वर्ष पनि विवाहपञ्चमीको अवसरमा जनकपुरमै दाइजो प्रथा अन्त्यको सन्देश प्रवाह गर्न ५३ जोडीको सामूहिक विवाह गरिएको थियो।
Shares
प्रतिक्रिया