ad ad

समाज


बझाङ युवा हत्या प्रकरणः वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ युवा हत्या प्रकरणः वडाध्यक्षसहित ४ जना पक्राउ

गोकुल जोशी
माघ १४, २०७७ बुधबार ८:५२,

बझाङमा एक युवाको खुँडा प्रहार गरी हत्या भएकोे छ।

छबीस पाथीभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको विद्यालय व्यवस्थापन समितिका विषयमा विवाद हुँदा हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

छबीसपाथीभेरा गाउँपालिका–३ स्थित बान्निचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकाएर घर फर्किने क्रममा मंगलबार बेलुका ८ बजेको समयमा सिंहमाथि खुँडा प्रहार भएको प्रहरीले जनाएको छ। प्रहरीका उनसार सिंहको खुँडा प्रहार भएको केहीबेरमा मृत्यु भएको हो।

‘विद्यालय व्यवस्थापन समितिलाई लिएर लामो समयदेखि विवाद रहेको खुलेको छ । त्यही विवादका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, प्रहरी स्रोतले नेपालखबरसँग भन्यो, ‘घटनाको विस्तृत अनुसन्धान भइरहेको छ।’

घटनाको अनुसन्धानका लागि छबीस पाथीभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकाश ऐडीसहित चार जनालाई नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले बताए। उनका अनुसार पक्राउ पर्ने अन्यमा छबीस पाथीभेरा गाउँपालिका–२ का प्रकाश ऐडी, ज्ञान बहादुर कडायत र केदार मान ऐडी छन्।

तीमध्ये कडायतलाई प्रहरीले मंगलबार राति नै खुँडासहित नियन्त्रणमा लिएको थियो। घटनापश्चात् फरार प्रकाश र केदारलाई बुधवार दिउँसो थलारा गाउँपालिका–३ जम्बाजबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनामा वडाध्यक्ष ऐडीको सरकारी मोटरसाइकल प्रयोग भएको खुलेपछि सोधपुछका लागि उनलाई बुधवार नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बतायो।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले कांग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजित भएका थिए। धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेको प्रहरीले जनाएकोे छ।

हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरानिकटका व्यक्ति हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .