ad ad

समाज


पढ्न गएकी युवती जंगलमा मृत भेटिइन्, बलात्कारपछि हत्या गरिएको आशंका

पढ्न गएकी युवती जंगलमा मृत भेटिइन्, बलात्कारपछि हत्या गरिएको आशंका

गोकुल जोशी
माघ २३, २०७७ शुक्रबार २:६,

बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा बिहीबार साँझ एक युवती मृत भेटिएकी छन्। साेही वडास्थित कतोलाकी १९ वर्षीया भागरथी भट्ट जंगलमा मृत अवस्थामा फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार बुधबार विद्यालय जान्छु भनी घरबाट हिँडेकी उनको शव स्थानीय लबलेक सामुदायिक वनमा भेटिएको हो।

‘बुधबार घरबाट कलेज जान्छु भनेर गएपछि परिवारको सम्पर्कमा नआएको खुलेको छ। हिजो ६ बजेतिर जंगलमा शव भेटिएको खबर आएपछि प्रहरी टोली त्यसतर्फ गएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धामीले नेपालखबरसँग भने।

प्रहरीले घटनास्थल सुरक्षित गरेर अनुसन्धान थालेको छ। घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

‘शव बीच जंगलमा भेटिएको छ। गाउँबाट घटनास्थल पुग्न एक घण्टा हिँड्नुपर्ने हुन्छ,’ प्रहरी स्रोतले नेपालखबरसँग भन्यो, ‘शरीरभरि नीलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ। घटना शंकास्पद छ।’

बैतडी जिल्ला प्रहरी कार्यालयका प्रमुख, डीएसपी नारायण अधिकारी अनुसन्धानका लागि बिहीबार आफैं घटनास्थल पुगेका थिए। घटनास्थल सुरक्षित गरेर विस्तृत अनुसन्धान भइरहेको डीएसपी अधिकारीले बताए।

‘कसले र किन हत्या गरेको हो भन्ने विषयमा अहिले नै भन्न सकिने अवस्था छैन,’ उनले नेपालखबरसँग भने, ‘घटनास्थल पुग्दा हिजो राति भइसकेको थियो। घटनास्थललाई सुरक्षित गरेर अनुसन्धान गरिरहेका छौँ। पोस्टमार्टम रिपोर्टपछि केही खुल्ला।’

घटनाको विस्तृत अध्ययन गर्न धनगढीबाट तालिमप्राप्त कुकुरसमेत मगाइसकिएको उनले जानकारी दिए। ती युवती बुधबारसम्म विद्यालयमा उपस्थित रहेको खुलेको छ। उनी सनातन धर्म माध्यमिक विद्यालय सिर्कोटमा कक्षा १२ मा पढ्थिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .