ad ad

समाज


युवती हत्या प्रकरणः एसएसपीको कमान्डमा अनुसन्धान टोली, मोबाइल विश्लेषण गर्दैै प्रहरी

युवती हत्या प्रकरणः एसएसपीको कमान्डमा अनुसन्धान टोली, मोबाइल विश्लेषण गर्दैै प्रहरी

गोकुल जोशी
माघ २३, २०७७ शुक्रबार १३:२७,

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको हत्या प्रकरणको प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान अगाडि बढाएको छ।

बुधवार विद्यालय गएकी दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्ट बिहीवार साँझ स्थानीय लबलेक सामुदायिक वनमा मृत अवस्थामा भेटिएकी थिइन्।

प्रहरीका अनुसार विद्यालयबाट घर नफर्किएपछि खोजतलास गर्दै जाँदा ती युवतीको हत्या गरेर फालिएको अवस्थामा लबलेक सामुदायिक वनमा शव भेटिएको थियो। उनी दोगडाकेदार गाउँपालिका–७ सिर्कोटस्थित सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययरत थिइन्।

ती युवती बुधवारसम्म विद्यालय उपस्थित रहेको खुलेको छ। घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको आशंका छ।

‘शव बीच जंगलमा भेटिएको छ। गाउँबाट घटनास्थल पुग्न एक घण्टा हिँड्नुपर्ने हुन्छ,’ प्रहरी स्रोतले नेपालखबरसँग भन्यो, ‘शरीरभरि नीलडाम र घाउ छन्, कपडा पनि च्यातिएको छ। घटना शंकास्पद छ।’

बलात्कारपछि हत्या भएको आशंकामा परीक्षणका लागि आवश्यक पर्ने भेजाइनल स्वाब लगायतका अन्य आवश्यक नमूना संकलन गर्न प्रहरीले जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीलाई घटनास्थल मगाएको थियो। घटनाको सुक्ष्म र सघन ढंगले अनुसन्धान भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले बताए।

‘मुचुल्का उठाउने काम सकिएको छ। शव जिल्ला अस्पताल बैतडीमा राखिएको छ ’ उनले नेपालखबरसँग भने, ‘घटनाको अनुसन्धानमा सुक्ष्म र सघन रुपले लागेका छौँ। अहिलेसम्म कोही नियन्त्रणमा छैनन्।’

उनका अनुसार घटनाको विस्तृत अनुसन्धानका लागि तालिमप्राप्त कुकुर समेत परिचालन भएको छ।

‘तालिम प्राप्त कुकुरको प्रयोग गरेर एरिया सर्च गर्ने काम पनि जारी रहेको छ’ उनले भने।

घटनास्थलबाट बरामद भएका तथ्य, प्रमाणहरुको विश्लेषणमा अनुसन्धान केन्द्रित भएको प्रहरी स्रोतले जनाएको छ। घटनास्थलमा भेटिएकोे मृतक युवती भागरथीले प्रयोग गर्ने मोबाइल लगायतका सबुत प्रमाणको सुक्ष्म विश्लेषण भइरहेको प्रहरीले जनाएको छ।

‘घटनास्थलमा मृतकले प्रयोग गर्ने मोबाइल लगायत अन्य सबुत प्रमाण संकलन भएका छन्। ती सबुत प्रमाणमाथी विश्लेषण गर्ने काम भइरहेको छ’ स्रोतले भन्यो।

एसएसपीको कमान्डमा छुट्टै अनुसन्धान टोली
घटनाको अनुसन्धानमा सघाउनका लागि सुदूरपश्चिम प्रदेश प्रहरीले एक छुट्टै अनुसन्धान टोली गठन गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनकराज पाण्डेयको कमाण्डमा छुट्टै अनुसन्धान टोली गठन गरेको हो।

चार सदस्यीय सो अनुसन्धान टीममा एक जना केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का डीएसपी पनि सम्मेलित रहेका छन्।

‘जिल्लाको अनुसन्धान टीमलाई सघाउन छुट्टै टीम तयार पारिएको हो’ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रवक्ता एसएसपी सिंहले नेपालखबरसँग भने, ‘सो टीमले जिल्लाको टिमलाई प्रावधिक सहायता गर्ने छ।’

बैतडीतर्फ हिडेको सो टोली शुक्रवार राती त्यहाँ पुग्ने छ।

न्याय माग्दै ठाउँ-ठाउँमा प्रदर्शन
मृतक भागरथीको लागि न्यायको माग गर्दै शुक्रवार विभिन्न ठाउँमा प्रदर्शन भएकोे छ। पीडित परिवार र विद्यार्थी संगठनहरुले संयुक्त रुपमा बैतडी, कञ्चनपुर, कैलाली लगायतका ठाउँमा प्रदर्शन गरेका हुन्।

पीडित पक्ष, स्थानीय र विद्यार्थी संगनठनले किशोरीको बलात्कार पछि हत्या भएको भन्दै घटनाको सत्य, तथ्य छानविन गरेर अपराधीलाई कानूनी दायरा ल्याउनु पर्ने माग गरेका छन्। शुक्रवार स्थानीयले बैतडीको स्थानीय बजार खोचलेकमा प्रदर्शन गरेका थिए।

उनीहरुले केही समयमा महकाली राजमार्ग बन्द समेत गराएका थिए। प्रदर्शनमा मृतक किशोरी अध्ययरत सनातन धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरु पनि सहभागी थिए। यता कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर र कैलालीको धनगढीमा पनि स्थानीय सर्वसाधारण र विद्यार्थी संगठनले भागरथीको न्यायको माग गर्दै प्रदर्शन गरेका थिए। 

भागरथीको लागि न्याय माग्दै ठाउँ-ठाउँमा प्रदर्शन

पढ्न गएकी युवती जंगलमा मृत भेटिइन्, बलात्कारपछि हत्या गरिएको आशंका

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .