कञ्चनपुरमा शिक्षकको कुटाइबाट सोमबार दिउँसो एक छात्रा घाइते भएकी छन्।
भीमदत्त नगरपालिका–९ मटेनास्थित बैजनाथ सिद्धनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्टको कुटाईबाट कक्षा ९ मा अध्ययरत १५ वर्षीया मनिषा नाथ घाइते भएकी हुन्।
खेल नखेलेको भन्दै प्रधानाध्यापक बिष्टले टाउकोमा लाठी प्रहार गरी निर्घात कुटपिट गरेको छात्रा मनिषा नाथले बताइन्।
‘सर नआएर पिरियड खाली थियो। हेडसर आएर कबड्डी खेल भन्नु भयो। मलाई खेल्न नआउने भएकाले म खेल्न बाहिर गइन’ मनिषाले भनिन्, ‘त्यसपछि सरले एक्कासी डण्डाले टाउकोमा पिट्न थाल्नु भयो।’
शिक्षकको कुटाइबाट घाइते छात्रालाई अहिले उपचारका लागि महाकाली अस्पताल भर्ना गरिएको छ। उनको टाउको चोट लागेको छ।
‘स्कुलबाट साथीहरुसँग रुँदै रुँदै मनिषा घर आइन्। घर पुगे पछि त बेहोस नै भइन्। त्यस पछि आत्तिएर अस्पताल ल्याएका छौँ’ मनिषाकी जेठी आमा कलावती नाथले भनिन्।
कुटाइबाट घाइते मनिषा अहिले भने होसमा आएकी छन्। उता विद्यालयका प्रधानाध्यापक खडकसिंह बिष्ट अतिरिक्त क्रियाकलाप अन्तर्गत खेल खेल्न छात्राले इन्कार गरे पछि सजाय दिएको बताए।
‘कक्षामा शिक्षक नभएकाले बाहिर कबड्डी खेल भइरहेको थियो। ती छात्राले खेल्न नमानेपछि सजाय दिएको हुँ’ उनले भने।
प्रतिक्रिया