ad ad

समाज


कोटेश्वरमा श्रीमानले ऋण तिरेकै राति श्रीमतीले लुटिन् सहकारी

कोटेश्वरमा श्रीमानले ऋण तिरेकै राति  श्रीमतीले लुटिन् सहकारी

नेपालखबर
फागुन १७, २०७७ सोमबार १२:२५,

काठमाडौंको कोटेश्वरस्थित सौभाग्यशाली बचत तथा ऋण सहकारी संस्था आफ्नै कर्मचारीबाट लुटिएको खुलेको छ।

सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले उक्त सहकारीकी लेखापाल सावित्री सुवेदी र उनका श्रीमान् कपिल खड्कालाई पक्राउ गरेको हो।

उनले श्रीमानसँग मिलेर सहकारीको १७ लाख ८५ हजार ५ सय ६५ रुपैयाँ लुटेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी अशोक सिंहले बताए।

गत माघ २५ गते साँझ ५ बजेपछि र २६ गते बिहान ७ बजेभित्र उक्त सहकारी लुटिएको भए पनि कर्मचारीले भने २६ गते बिहान कार्यालय पुगेपछि मात्रै थाहा पाएका थिए। कार्यालय खुल्लै रहेको देखेपछि कर्मचारीहरुले लुटिएको जानकारी पाएको र त्यसपछि मात्रै प्रहरीलाई खबर गरेका थिए।

रकम राख्ने कोठा र दराजको चाबी सहकारीका अध्यक्षसँग मात्रै थियो। तर पनि सहकारी तोडफोड नगरी चाबी खोलेरै चोरिएको पाइएपछि प्रहरीले सुरुदेखि नै त्यहीँका कर्मचारीमाथि बढी आशंका गरेको थियो।

२५ गते बैंक बन्द भइसकेपछि एक ऋणीले १० लाख रुपैयाँ बुझाएका थिए। उनी सावित्रीकै श्रीमान् थिए। बाँकी रकम बजारबाट संकलन भएको थियो।

सावित्रीका दम्पतीले भक्तपुरको ठिमीमा घर बनाउँदा सहकारीबाट ऋण लिएका थिए। घर बनिनसक्दै उक्त ऋण तिर्न सो दिन कपिल सहकारीमा पुगेका थिए।

कपिलले ऋण बुझाएपछि सावित्रीले उक्त रकम निकालेको र उनले पहिले नै नक्कली चाबी तयार गरेको पाइएको छ। सहकारीका अध्यक्षलाई गत कात्तिकमा कोरोना संक्रमण भएको थियो। त्यही बेला सावित्रीले नक्कली चाबी तयार गरेको पाइएको छ।

नक्कली चाबी तयार गरेको सहकारीका सञ्चालक र अन्य कर्मचारीलाई भने थाहा थिएन।

सहकारीबाट रकम लगिसकेपछि उनीहरुले विभिन्न व्यक्तिलाई राख्न दिएका थिए। उनीहरुले पैसा राख्न दिएका व्यक्तिलाई पैसा राख्न दिएको कुरा नभन्न भनेका थिए। ‘घरायसी समस्या भएकाले यो कुरा कतै नभन्दिनु होला भनेको रहेछन्’, एसएसपी सिंहले नेपालखबरसँग भने, ‘लामै योजना गरेर लुटेको देखिन्छ।’

सुरुमा अस्वीकार गरे पनि अहिले उनीहरुले गल्ती स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .