ad ad

समाज


बटेश्वर गाउँपालिकामा दुई सातादेखि ताला, फरार अध्यक्षको खोजी गर्दै अख्तियार

बटेश्वर गाउँपालिकामा दुई सातादेखि ताला, फरार अध्यक्षको खोजी गर्दै अख्तियार

शैलेन्द्र महतो
चैत २, २०७७ सोमबार १२:२६,

गाउँपालिका अध्यक्ष फरार भएपछि धनुषाको बटेश्वर गाउँपालिका कार्यालयको कामकाज ठप्प भएको छ।

गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत गएको फागुन १७ गते साँझ ८ लाख घुस रकम फालेर भागेपछि स्थानीयले फागुन १८ गतेबाट कार्यालयको योजना शाखा लगायतमा तालबन्दी गरेका छन्।

फरार गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गरी कारबाही गर्नूपर्ने, भएको विकासे कामको हरहिसाब पारदर्शी हुनुपर्ने लगायतका माग राखेर स्थानीय राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजले अध्यक्ष, प्रशासकीय अधिकृत, योजना र लेखा शाखामा तालाबन्दी गरेका थिए।

१४ दिनअघि भएको तालाबन्दीको कारण कार्यालयको कामकाज ठप्प भएको हो। सर्वसाधारण सेवाग्राही कार्यालयमा पुगेर रित्तै फर्किन बाध्य छन्। तर तालबन्दी खोलाउन गाउँपालिका उपप्रमुख प्रमिलादेवी महतो, निमित प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण यादव लगायत जनप्रतिनिधिहरुले कुनै चासो नदेखाएको सेवाग्राहीको गुनासो छ।

फरार गाउँपालिका अध्यक्ष राउत अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनलाई अख्तियारले समेत खोजविन गरि रहेको छ।
कार्यालय बन्द हुँदा कर्मचारीहरु कार्यालय जाने र हाजिरी गरेर फर्किने गरेका छन्। विकासे योजनाका कामहरु समेत ठप्प भएको एक कर्मचारीले बताए।

गाउँपालिका निमित प्रशासकीय अधिकृत यादव घटनाको भोलि पल्टदेखि मोबाइल स्वीच अफ गरेर कार्यालय आउन छाडेका छन्।

अध्यक्ष राउत घुस प्रकराणमा परेपछि निमित प्रशासकीय अधिकृत यादव आफैँ तनावमा छन्। अध्यक्ष राउतले आफूखुसी गाउँपालिका चलाउन तल्लो दर्जाका कर्मचरी रहेका जनस्वास्थ्य निरीक्षक यादवलाई निमित प्रशासकीय अधिकृत बनाएका थिए।

उनी अध्यक्ष राउतको ‘यस म्यान’ भएका स्थानीयको आरोप छ। उनले अध्यक्ष राउतको निर्देशनमा कानुननी रुपमा नमिलेको कामसमेत गर्ने गरेका स्थानीय बताउँछन्।

निमित प्रमुख प्रशासकीय अधिकृत यादवले चासो नलिएका कारण कार्यालय नखुलेको र कामकाज समेत ठप्प भएको कार्यालयकै एक कर्मचारीले बताए।

‘यादव मोबाइल स्वीच अफ गरेर कार्यालयमा आउनुहुन्न। उहाँले कुनै चासो नै नदेखाएको कारण हामी कर्मचारी कार्यालय आउँछौं कामै नगरी घर फर्किन्छौं। जनप्रतिनिधिले पनि खासै चासो देखाएका छैनन्’, ती कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा नेपालखबरलाई भने ‘विकासे योजनाको काम पछाडि पर्दैछ। सेवाग्राही रित्तै फर्किन्छन्।’

यता गाउँपालिका उपाध्यक्ष प्रमिलादेवी महतोले कार्यालयमा लागेको ताला खोलाउन आफूले पहल गरिरहेको बताइन्। ताला खोलाउने, गाउँपालिकाको कामकाज नियमित सुचारु गराउने विषयमा आइतबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलासँग छलफल भएको उनले जानकारी दिइन्।

‘निमित प्रमुख प्रशासकीय अधिकृत नै आइराख्नु भएको छैन। उहाँ आएपछि आन्दोलनरत्त पक्षसँग समन्वय गरी ताला खोल्ने विषयमा छलफल हुन्छ’, उपाध्यक्ष महतोले भनिन् ‘अख्तियारबाट जवाफ लेखेर पठाउनुपर्ने केही पत्रहरु आएको छ। सो विषयको जवाफ लेखेर पठाउनु पर्नेछ।’

गाउँपालिका अध्यक्षलाई अख्तियारमा हाजिर हुन पत्र र जवाफ माग
अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाडौंले गाउँपालिक कार्यालयमा चार पाँचवटा पत्र पठाएको गाउँपालिका स्रेतले बताएकाे छ। केही दिनअघि दुई दिनको अन्तरालमा पठाएको चार पाँचवटा पत्रमा अख्तियारले पाँच प्रश्नको जवाफ मागेको हो।

चालक को हुन्, तिनका गतिविधि लेखि पठाउने, गाउँपालिका कार्यालय परिसरमा नवनिर्मित भवनको सम्पूर्ण लागत, गाउँपालिका कार्यालयको जीपमा को सवार हुने गरेको थियो सो एकिन गरी पठाउन पत्रमा जवाफ माग गरेको कार्यालय श्रोतले जनाएको छ।

यस्तै गाउँपालिका अध्यक्ष राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको १९ नम्बर कोठामा हाजिर हुन पत्रमा भनेको छ।

गएको फागुन १७ गते गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि सेवाग्राहीबाट धनुषाको क्षिरेश्वरनाथ नगरपालिका स्थित सखुवा महेन्द्रनगरमा ८ लाख रुपैयाँ घुस बुझेका थिए।

अख्तियारको टोलीले पछ्याएको थाहा पाएपछि उनी चढ्ने गाउँपालिका कार्यालयकै प्रदेश २–०२–००१ झ ०००२ गाडीमा चढेर भागेका थिए। भाग्ने क्रममा क्षिरेश्वरनाथ नगरपालिका ५ औरही खोलाको किनारमा लिएको ८ लाख रुपैयाँ घुस झाडीमा फालेका थिए भने चालकले तीव्र गतिमा गाडी चलाएर उनलाई बाटोबाटै भाग्न सघाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले गाडी र चालक वीरबहादुर मगरलाई बटेश्वर बजारबाट नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .