ad ad

समाज


अदालत परिसरबाटै ८५ वर्षीया आमालाई छोराले नै गरे ‘अपहरण’

अदालत परिसरबाटै ८५ वर्षीया आमालाई छोराले नै गरे ‘अपहरण’

नेपालखबर
चैत ३०, २०७७ सोमबार ३:२४,

जिल्ला अदालत सर्लाही परिसरबाट एक व्यक्तिले आफ्नै वृद्ध आमालाई ‘अपहरण’ गरेर बेपत्ता बनाएका छन्।

सर्लाहीको ब्रम्हपुरी २ घर भएका अरुणकुमार साहले आफ्नै आमा ८५ वर्षीया जनकदुलारी साहलाई आइतबार साँझ मलंगवास्थित जिल्ला अदालत परिसरबाटै अपहरण गरेर बेपत्ता बनाएका हुन्। दाजुले आमालाई अपहरण गरेर बेपत्ता बनाएको भन्दै जनकदुलारीका कान्छा छोरा राजकुमार साहले जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिएका छन्।

आमालाई अपहरण गरेको आरोप लागेका अरुणकुमार साह जनकदुलारीका माइला छोरा हुन्। रामदुलारीका चार भाइ छोराहरुबीच अंश सम्बन्धी ३२ थान मुद्दा जिल्ला अदालत मलंगवामा विचाराधिन अवस्थामा छ।

सोही मुद्दा मेलमिलापमा टुंग्याउने उद्देश्यले आइतबार साह परिवारबीच सर्लाही जिल्ला अदालतमा छलफल भएको थियो। आइतबारको छलफल सकिएर अर्को छलफलको पेसी वैशाख ३ गतेका लागि तोकिएको अवस्थामा आमाको अपहरण भएको कान्छा छोरा राजकुमारले बताए।

‘आमा मुटुको बिरामी हुनुहुन्छ, बृद्धावस्था छ,’ उनले भने, ‘अंश सम्बन्धी विवाद मेलमिलापमा टुंग्याउने प्रयास जारी रहेको बेला आमाको अपहरण भयो। मैले उहाँको ज्यान सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएको छु।’ अपहरणमा माइला दाजु अरुणकुमार साह र उनका छोरा अमितको संलग्नता रहेको उनले बताए।

कान्छो छोरा राजकुमारसँग काठमाडौंमा बस्दै आएकी जनकदुलारी आइतबार मात्रै अदालतले बोलाएको छलफलमा सहभागी हुन मलंगवा आएकी थिइन्। उनका पतिको चार वर्षअघि नै मृत्यु भइसकेको छ।

छलफल सकेर अदालत परिसरबाट बाहिरिँदै गर्दा आमालाई घिस्याउँदै जबर्जस्ती मोटरसाइकलमा राखेर लगिएको राजकुमारले बताए। बुवाले आमाको भाग नराखि सबै जमिन माइला दाजु अरुणकुमार साहको नाममा पास गरिदिएपछि विवाद बढेको राजकुमारको भनाई छ।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .