ad ad

समाज


कोरोना बढ्दै जाँदा सीमामा लापरबाही, सरकार भन्छ: रोक्न सकिन्न

कोरोना बढ्दै जाँदा सीमामा लापरबाही, सरकार भन्छ: रोक्न सकिन्न

उजिर कार्की
बैशाख २, २०७८ बिहिबार १५:४८,

कोरोना संक्रमणको दर बढ्दै जाँदा सरकारले देशभित्र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ। बिहीबार मात्रै १४ जिल्लामा विद्यालय बन्द गर्न सूचना जारी गरेको छ।तर,  भारतसँगको सिमाना भने खुल्लै राख्ने भएको छ।

भारतीय सिमानाबाट आउन रोकटोक नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

‘मूल बाटोबाट आउन रोकियो भने अन्यत्रबाट आउँछन्, रोक्न सम्भव छैन,’ गौतमले नेपालखबरसँग भने, ‘आउने मान्छेलाई नरोक्ने, १० वटाका दरले मास्क दिने। भारतका अति प्रभावित क्षेत्रबाट आएका मान्छेको एन्टिजेन परीक्षण गर्ने, पोजिटिभ आयो भने आइसोलेसनमा पठाउने र नेगेटिभ आयो भने घरमै गएर क्वारेन्टिनमा बस्नु भन्ने, सरकारको नीति यही हो।’

१४ सय किलोमिटर खुल्ला सिमाना रहेका कारण मूलबाटोबाट रोक्न खोजे अन्यत्रबाट आउने भएकाले रोक्ने पक्षमा सरकार नरहेको गौतमले बताए।

प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) धिरजप्रताप सिंहले पनि मुख्य नाकामा सामान्य जाँच गरेर निर्वाध रुपमा आउजाउ भइरहेको बताए।

तराईका धेरै स्थानबाट नेपाल–भारत आउजाउ गर्न सकिने भएकाले सबै ठाउँमा जाँच सम्भव नभएको प्रशासनको भनाइ छ। गतवर्ष सरकारले सिमानामा प्रतिबन्ध लगाए पनि आफूखुसी अन्य बाटो भएर प्रवेश गरेका थिए।

यसपटक अन्य क्षेत्रमा कडाइ गर्न थालेको सरकारले सीमानाका विषयमा भने कुनै योजना ल्याएको छैन। अन्य विभिन्न देशले भने भारत आउजाउमा प्रतिबन्ध लगाएका छन्। बंगलादेशले समेत पछिल्लो एक साताका लागि सम्पूर्ण हवाई उडान रोकिसकेको छ।

नेपाल–भारत खुल्ला सिमाना र आउजाउ बढी हुने भएका कारण दुवै देशले खुल्ला राखेका छन्। होलीसम्म भारतबाट फर्किने बढी भएपनि अहिले नेपालबाट भारततर्फ जानेको संख्या बढी रहेको डीआईजी सिंहले बताए।

‘माटिबाट अहिलेलाई यही सर्कुलर छ। जस्तो निर्देशन आउँछ, त्यहीअनुसार कार्यान्वयन गर्ने हो अहिलेलाई खासै कडाइ गरिएको छैन,’ उनले भने।

प्रवक्ता गौतमले पनि अहिले सेवा रोक्नेभन्दा पनि मापदण्ड पालना गरेर सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए। नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ५ सय ८८ जनाको पीसीआर र ५ सय ६४ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यो अवधिमा ५ जनाको मृत्यु भएको छ।

संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई अति प्रभावित घोषणा गर्दै शैक्षिक संस्था लगायत बढी भिडभाड हुने स्थानहरु बन्द गर्न आग्रह गरेको छ। मन्त्रालयले बिहीबार काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा, बागलुङमा शैक्षिक संस्था बन्द गर्न सूचना मार्फत अपिल गरेको हो। यी जिल्लामा बढी भिडभाड हुने क्षेत्रका सेवा पनि तत्काल बन्द गर्नु पर्ने अवस्था आएको मन्त्रालयले जनाएको छ।

विद्यालय, रात्री व्यवसायहरु, सात बजे पछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा, सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमाहल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुलजस्ता स्थलहरुमा सहभागी नभइदिन तथा जनस्वास्थ्यका मापदण्डहरुको कडाइका साथ पालना गर्न गराउन भूमिका बढाइदिन अनुरोध गरिएको छ।

उता भारतमा भने दैनिक दुई लाख बढीमा संक्रमण देखिँदा हरेक दिन एक हजार हाराहारीको मृत्यु भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .