ad ad

समाज


उपत्यकामा भुसको आगोसरी फैलियो कोरोना, परिवारका परिवार संक्रमित

उपत्यकामा भुसको आगोसरी फैलियो कोरोना, परिवारका परिवार संक्रमित

सागर न्यौपाने
बैशाख १४, २०७८ मंगलबार ११:४४,

हालै भारत भ्रमण गरेर स्वदेश फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहलाई बैशाख ७ गते कोरोना संक्रमण भएको पुष्टि भयो।

शाहलाई संक्रमण हुँदा उनीमात्र नभई पूर्वरानी कोमल र छोरी प्रेरणालाई समेत कोभिड पोजिटिभ देखियो।

बैशाख ७ मा संक्रमण पुष्टि भएका पूर्वराजदम्पती र छोरी प्रेरणाको स्वास्थ्यमा जटिलता देखिएपछि बैशाख ११ गते अस्पतालमा भर्ना भई उपचाररत् छन्।

उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।

सोमबार उनको परिवार र सचिवालयका गरी १० जनाको परीक्षण गरिएको थियो। सोही दिन आएको रिपोर्टमा ८ जनालाई संक्रमण पुष्टि भएको उनका निजी सचिव लीला जिसीले नेपालखबरलाई बताए।

काठमाडौँको बुढानीलकण्ठ बस्ने डिल्लीरमण दाहालको परिवार नै संक्रमणमा परेपछि शुक्रबारदेखि सबै जना आइसोलेसनमा बसेका छन्।

८३ वर्षका दाहालको परिवारमा रहेका १० जनामध्ये परीक्षण गरिएका ७ जनामै संक्रमण भएको पुष्टि भयो।

ललितपुरको भैँसेपाटी बस्ने एकै परिवारका ५ जनामा कोरोना संक्रमण भएको आइतबार पुष्टि भयो।

पाँच जनामध्ये २ जना गम्भीर बिरामी भएपछि पाटन अस्पतालमा उपचाररत् छन्।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमण कसरी फैलिइरहेको छ, यी केही उदाहरण हुन्। उपत्यकाका सबै अस्पताल कोरोना संक्रमितले भरिएका छन्। डाक्टरहरुले सबैलाई सेवा दिन सकेका छैनन्। परिवार नै संक्रमित भएपछि अस्पताल ल्याउने मानिस समेत छैनन्।

काठमाडौं महानगरपालिकामा पछिल्लो एक हप्तामा संक्रमणको दर ह्वात्तै बढेको छ। मंगलबार काठमाडौँमा १९ सय ६६ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ महाराजगञ्ज क्षेत्रमा पछिल्लो एक हप्ता १ सय ५ जना संक्रमित थपिएका छन्। सो क्षेत्रमा खटिएकी स्वास्थ्य कार्यक्रमकी सुपरभाइजर सिर्जना पाठकका अनुसार अस्पतालमा ८ र होम आइसोलेसनमा ७० जना संक्रमित उपचाररत छन्।

‘परिवारै संक्रमित भएका छन्,’ पाठकले नेपालखबरसँग भनिन्, ‘३/४ जना सदस्य भएकादेखि १० जनासम्मको परिवार संक्रमित भएर होम आइसोलेसनमा बसेको जानकारी टिपाउनुभएको छ।’

महानगरको वडा नम्बर ९, गौशाला क्षेत्रमा १ सय ६१ संक्रमित छन्। त्यसमध्ये १ सय ५३ जना होम आइसोलेसनमा छन्।

गम्भीर बिरामी ४ जना अस्पतालमा भर्ना गरिएको सो वडाकी स्वास्थ्य सुपरभाइजर सावित्री खड्काले जानकारी दिइन्।

‘होटल, रेस्टुरेन्ट र एयरपोर्ट भएकोले पनि होला यो वडामा संक्रमितको संख्या निकै बढेको छ,’ खड्काले भनिन्।

वडा नम्बर १६ बालाजु क्षेत्रमा दिनमै १५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य सुपरभाइजर रामचन्द्र पौडेलले बताए।

‘एउटै घरमा रहेका सबै व्यक्ति संक्रमित भएका छन्,’ पौडेलले नेपालखबरसँग भने, ‘अहिलेको कोरोना एकदमै छिटो सरेको देखिन्छ। यसले जटिलता पनि पहिलेको भन्दा बढी थपेको छ।’

वडा नम्बर ७ चाबहिल, मित्रपार्क क्षेत्रमा ५५ जना संक्रमित छन्।

मंगलबार पनि स्वाब संकलन कार्य भइरहेको र सोमबार दिइएको स्वाबको आज (मंगलबार) रिपोर्ट आउनेभएकोले यो संख्या बढ्ने स्वास्थ्य सुपरभाइजर शुभासिनी कर्माचार्यले बताइन्।

वडा नम्बर २० भीमसेनस्थानमा १५ जना संक्रमित छन्। स्वास्थ्य सुपरभाइजर शारदा थापाले कोभिडको दोस्रो लहर सुरु भएपछि संक्रमित बढ्दै गएको बताइन्।

बागबजार क्षेत्रमा सोमबारसम्म ३९ जना संक्रमित भएका छन्। मंगलबार २८ नम्बर वडाका वडा सदस्य, महिला स्वास्थ्य स्वयंसेविकामा पनि संक्रमण देखिएको छ।

सो वडामा खटिएकी स्वास्थ्य सुपरभाइजर सरस्वती पनेरुका अनुसार अघिल्लो पटकको भन्दा यो पटकको कोरोना निकै छिटो छिटो बढेको छ।

महानगरको वडा नम्बर ३२ कोटेश्वर क्षेत्रमा सबैभन्दा बढी १ सय ८३ संक्रमित छन्।

सो वडाकी स्वास्थ्य सुपरभाइजर मैया सैँजुले दिएको जानकारी अनुसार संक्रमितमध्ये १ सय ७४ जना होम आइसोलसनमा छन्। बाँकी ९ जना अस्पताल भर्ना भएका छन्।

‘अहिलेको कोरोनाले यस क्षेत्रमा परिवारका प्राय सबै सदस्य संक्रमित पारेको जानकारी पायौँ,’ सैँजुले नेपालखबरसँग भनिन, ‘संक्रमितले पनि निकै गाह्रो भएको भन्नुहुन्छ, यो स्थिति निकै डरलाग्दो देखिन्छ।’

उता ललितपुर महानगरपालिकामा पनि संक्रमितको संख्या ह्वात्तै बढेको छ।

पछिल्लो एक हप्तालाई हेर्दा ललितपुर महानगरमा ११ सय ४० संक्रमित थपिएका छन्।

भक्तपुरमा पनि संक्रमितको संख्या निरन्तर बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा.खेमराज भुसालले कोरोनाको पछिल्लो भेरियन्टमा संक्रमणदर निकै बढी भएकोले परिवारका परिवार प्रभावित भएको बताए।

उनका अनुसार अहिलेको कोरोना बढी ‘सिम्प्टोम्याटिक’ देखिन्छ।

‘सेकेण्ड वेभमा इन्फेक्सन बढी भएका बिरामी आएका छन्,’ डा. भुसालले नेपालखबरसँग भने, ‘नयाँ भेरियन्टका बिरामी सबैमा लक्षण छ।’

‘यसको ट्रान्समिसन गराउने क्षमता बढी छ। परिवारका सबै सदस्य संक्रमित हुनुको कारण यो पनि हो, परिवारमा सँगै बस्दा मानिसले मास्कको प्रयोग गर्दैनन्। मास्क नलगाएपछि कोरोना परिवारमा छिटो फैलियो,’ डा. भुसालले थपे।

कोरोनाको नयाँ हटस्पट बनेको कठमाडौँ उपत्यकामा लकडाउन नगर्ने हो भने स्थिति भयावह हुने डाक्टरहरु बताउँछन्।

‘तत्काल लडकाउन नगर्ने हो भने काठमाडौँ उपत्यकामा बिरामीको संख्या निकै बढ्छ,’ ‘पाटन अस्पतालका डा. भरत यादवले भने, ‘घरमै बसेका मानिसहरुलाई संक्रमणले छोइसकेको छ, यो भयावह हुने स्थितिमा पुग्दैछ।’

उनका अनुसार उपत्यकामा कतिपय मानिसले परीक्षण नै गराएका छैनन्।

‘थुप्रै मानिसमा सामान्य लक्षण भएर पनि परीक्षण गराउन गएका छैनन्। परीक्षण गराएका प्रायः सबैमा कोरोना पोजिटिभ देखिएको छ, यो राम्रो संकेत होइन,’ डा. यादवले थपे।

सरकारले बिहीबारदेखि लागू हुनेगरी उपत्यकामा निषेधाज्ञा घोषणा गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .