ad ad

समाज


उपत्यकाबाट भीडसँगै कोरोना गाउँ पुग्ने डर, कस्तो छ स्थानीय तहको तयारी?

उपत्यकाबाट भीडसँगै कोरोना गाउँ पुग्ने डर, कस्तो छ स्थानीय तहको तयारी?

वसन्त अर्याल
बैशाख १५, २०७८ बुधबार १०:५१,

कोभिड संक्रमण उच्च फैलिएको काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिसहरु बाहिरिँदा गाउँ–गाउँमा कोरोना फैलिने जोखिम बढेको छ।

सरकारले वैशाख १६ गते बिहानबाट काठमाडौंमा निषेधाज्ञा जारी गरेसँगै काठमाडौं उपत्यकाबाट गाउँ जानेको भीडले फेरि गाउँसम्म कोरोना फैलिने डर बढेको हो।

बुधबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार मात्रै काठमाडौं उपत्यकामा थप १ हजार ९ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। 

दैनिक तीव्रगतिमा कोरोना फैलिएको समयमा काठमाडौं उपत्यका छाड्नेकाे संख्या दैनिक ४० हजार हाराहारीमा पुगिसकेकाे छ। 

Buspark lockdown14Baisakh77 6

दैनिक करिब ४० हजारले छाेड्दै उपत्यका
ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक करिब ४० हजारको हाराहारीमा काठमाडौं उपत्यका आउजाउ गर्ने गरेकोमा बाहिरिनेको संख्या बढेको छ। नागढुंगाबाट एकै दिन २६ हजार ८८१ जना यात्रु भित्रिँदा ४५ हजार ६६५ यात्रु बाहिरिएका छन्।

त्यसैगरी भक्तपुरबाट ६ हजार ३६० जना र फर्पिङबाट ४५ जना उपत्यकाबाट बाहिरिएको महाशाखाले जनाएको छ।

ट्राफिक प्रहरी महाशाखा प्रवक्ता श्यामकृष्ण अधिकारीले मंगलबारको तुलनामा आज (बुधबार) भीड झन् बढेको बताए।

उनका अनुसार प्रहरीको सम्पूर्ण जनशक्ति भीडभाड कम गर्न प्रयोग भइरहेको छ।

‘हिजोभन्दा आज उपत्यका छाड्नेको संख्या बढी छ’, प्रवक्ता अधिकारीले नेपालखबरसँग भने, ‘जति भीड भए पनि सिट संख्याभन्दा बढी यात्रु बोक्न दिएका छैनौँ।’

उनले सिट क्षमताभन्दा बढी यात्रु बोक्ने गाडीलाई कारबाही तथा सम्झाइ बुझाइ गरी पठाइएको जानकारी दिए। 

Buspark lockdown14Baisakh77 2

यात्रुको चाप बढेपछि छोटो दूरीका बस लामो दूरीमा
बिहीबारबाट निजी तथा सार्वजनिक यातायात बन्द हुने भएपछि बुधबार काठमाडौं उपत्यका छाड्नेको संख्या झन् बढेको छ।

काठमाडौं उपत्यका छाड्नेको संख्या बढेसँगै छोटो दूरीमा चल्ने सार्वजनिक यातायातले यात्रु ओसार्नथालेका छन्।

काठमाडौं उपत्यकाभित्र चल्ने संयुक्त यातायात, रिद्धिसिद्धिलगायतले यात्रु बोकिरहेका छन्।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बिहीबारबाट काठमाडौंबाहिर जाने सवारी नचल्ने हुँदा भएका सबै गाडी प्रयोग भएको बताए।

सरकारले १५ दिनको निषेधाज्ञा जारी गरे पनि फेरि थपिने भन्दै यात्रुले कोठा छाडी गुन्टा बोकेर जाने संख्या समेत छ।

dr rabindra

जनस्वास्थ्यविद्काे चिन्ता 
जनस्वास्थ्यविद् डाक्टर रविन्द्र पाण्डेले सरकारले उपत्यका छाड्ने यात्रुलाई व्यवस्थित गर्न नसक्दा गाउँ–गाउँमा कोरोना संक्रमण पुग्ने जोखिम बढेको बताए।

‘गत वर्ष लकडाउन एक हप्ता मात्रै हुन्छ भन्ने थियो। पछि लम्बिँदै जाँदा ६/७ दिन हिडेर गाउँ जानुपर्यो’, डा.पाण्डेले भने, ‘अहिले गत वर्षजस्तो दुःख नपाइयोस् भनेर बसपार्कलगायतका क्षेत्रमा भीड देखिएको छ।’

उनले भीडभाड हुन्छ भन्ने सरकारलाई थाहा भए पनि व्यवस्थित गर्नेतर्फ ध्यान नदिएको बताए।

‘संघीय सरकारले व्यवस्थित गर्न नसके पनि स्थानीय तहले आईसोलेसन वा क्वारेन्टिनको व्यवस्थापन गरी कोरोना फैलिन रोक्नुपर्छ’, पाण्डेले भने, ‘अब गाउँ–गाउँमा कोरोना फैलिन नदिने भूमिका पालिकाको काँधमा आएको छ। नभए अहिले सहरमा भएको कोभिड गाउँ–गाउँमा सहजै फैलिन्छ।’

पालिकाहरुले उपत्यका छोडेर गाउँ पुग्नेलाई १० दिन अनिवार्य होम क्वारेन्टिन बस्न लगाउनुपर्ने उनको सुझाव छ।

quarantineparaci

पालिकाहरु भन्छन्– क्वारेन्टिनको व्यवस्था गरेका छौँ
तर यता पालिकाहरुले भने सहरबाट आउनेलाई गाउँमा क्वारेन्टिनको व्यवस्था गरेको दाबी गरेका छन्।

पालिकाहरुले सहरबाट आएका मानिसको कारण कोरोना नफैलियोस् भनेर छुट्टै क्वारेन्टिन वा होम क्वारेन्टिनको व्यवस्था गरिएको बताएका हुन्।

सिन्धुलीको सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोराले गाउँ फर्किनेलाई क्वारेन्टिनको व्यवस्था गरिएको बताइन्।

‘काठमाडौं वा भारतबाट गाउँमा फर्किने सबै क्वारेन्टिनमा बस्नुपर्छ भनेका छौँ’, अध्यक्ष बोहोराले भनिन्, ‘त्यसको लागि उनीहरु सबैको जानकारी वडामा हुने व्यवस्था मिलाएका छौँ।’

उनले बाहिरबाट भित्रिने सबैको जानकारी वडामा दिन अनुरोध गरेको बताइन्।

‘गाउँ आउने व्यक्ति आफैँले वा त्यो नभए छिमेकीले वडा कार्यालयलाई जानकारी गराउन अनुरोध गरेका छौँ’, उनले भनिन्, ‘गाउँमा आएर क्वारेन्टिनमा बस्नुपर्छ र पीसीआर टेष्टपछि मात्रै घरमा जान पाउने भनेका छौँ।’

कैलाली जिल्लाको कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले गाउँपालिकामा बाहिरबाट भित्रिनेको लागि क्वारेन्टिनको व्यवस्था गरिएको बताए।

‘हाम्रोमा काठमाडौंबाट आउने संख्या कम छ’, गाउँपालिका अध्यक्ष चौधरीले भने, ‘गाउँमा आउने सबैलाई क्वारेन्टिनमा बस्ने व्यवस्था गरेका छौँ।’

उनले काठमाडौंभन्दा पनि धनगढी बजारमा आउजाउ बढी हुने गरेको बताए।

‘कोरोना संक्रमित भए आइसोलेसनको व्यवस्था गरेका छौँ। भोलिबाट कैलालीमा लकडाउन हुँदै छ। घरबाट बाहिर निस्किन पनि कडाइ गर्छौँ’, चौधरीले भने।

यता, स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सहरबाट फर्किने सबैले सिधै आफ्नो घरमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरेको जनाएको छ।

कालीगण्डकीका अध्यक्ष खिम बहादुर थापाले छुट्टै क्वारेन्टिनको व्यवस्था नभए पनि होम क्वारेन्टिन बस्न अनिवार्य गरेको जानकारी दिए।

‘छुट्टै क्वारेन्टिनको व्यवस्था छैन। बाहिरबाट गाउँ आउनेलाई होम क्वारेन्टिनमा बस्न अनिवार्य गरेका छौँ’, गाउँपालिका उनले भने, ‘संक्रमितको लागि अक्सिजनसहितको आइसोलेसन तयार छ।’

यो पनि–
निषेधाज्ञा सुरु हुनु २ दिनअघि उपत्यका छोड्नेको लर्को (फोटोफिचर)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .