ad ad

समाज


अस्पताल जाँदै ज्यान गुमाउँदै

अस्पताल जाँदै ज्यान गुमाउँदै

शैलेन्द्र महतो
बैशाख २६, २०७८ आइतबार ६:११,

महोत्तरीको महोत्तरी गाउँपालिका ४ का ४२ वर्षीय रघुनाथ पाण्डेय गत बिहीबार अचानक मुर्छा परे। सामान्य ज्वरो, रुघाखोकी लागेका पाण्डेय बेहोस भएपछि उनलाई आफन्तजनतले जिल्ला अस्पताल जलेश्वर लगे।

श्वासप्रश्वासमा समस्या आएपछि उनलाई बिहीबारदेखि नै आइसोलेसन वार्डमा राखेर अक्सिजन दिँदै उपचार थालियो। शुक्रबार एन्टिजिन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो। त्यस राति १० बजे अचानक पाण्डे सिकिस्त भए। श्वास लिनसमेत कठिन हुन थालेपछि चिकित्सकले उनलाई भेन्टिलेटरमा राख्नुपर्ने बताए। तर आफ्नो अस्पतालमा भेन्टिलेटर नभएकाले बिरामीलाई अन्यत्र लान त्यहाँका चिकित्सकले सुझाव दिए।

त्यसपछि पाण्डेयका परिवारजनले त्यही अस्पतालको एम्बुलेन्समार्फत बिरामीलाई प्रादेशिक अस्पताल (जनकपुर) पुर्‍याइदिन चिकित्सकसँग गुहार मागे। तर अस्पतालमा एउटै एम्बुलेन्स भएका कारण सहयोग गर्न नसकिने जवाफ पाए।

यसपछि अर्काे एम्बुलेन्स खोजेर लानुपर्दा ढिला भएकाले लाँदालाँदै बाटैमा पाण्डेयको मृत्यु भएको उनका आफन्त वैभव चौधरीले बताए।

धनुषाको बटेश्वर गाउँपालिका ४ का ४५ वर्षीय लोकबहादुर परियार रुघाखोकी लागेपछि घरनजिकैको औषधि पसलबाट औषधि किनेर खाइरहेका थिए। तर गत सोमबार राति ८ बजे उनलाई अचानक श्वासप्रश्वासमा समस्या भयो। आफन्तले हतारहतार एम्बुलेन्स बोलाएर प्रादेशिक अस्पताल जनकपुर पुर्‍याए। तर बेड खाली छैन भनेर अस्पतालले भर्ना लिएन।

त्यसपछि उनलाई एम्बुलेन्समा जनकपुरका केही निजी हस्पिटलमा पुर्‍याइयो। तर सबैले पहिले पैसा डिपोजिट राखे मात्र भर्ना लिने भनेपछि उनको गरिब परिवारले त्यसो गर्न सकेन। अन्ततः बाध्य भएर उनलाई घर फर्काइयो र नजिकैको आरपी मेडिकलमा लगियो। तर त्यहाँ एम्बुलेन्सबाट ओराल्नासाथ उनको मृत्यु भयो।

प्रादेशिक अस्पतालले अहिले कोरोना संक्रमण पुष्टि नभएका बिरामीलाई भर्ना लिने गरेको छैन। कोरोनाका लक्षण भएका तर पुष्टि भइनसकेका जतिसुकै जटिल अवस्थाका बिरामी लगिए पनि उसले फर्काइदिने गरेको छ। जसका कारण अस्पताल पुगेर पनि त्यस्ता बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता छ।

उपचार अभावकै कारण ज्यान गुमाउन बाध्य महोत्तरीका रघुनाथ पाण्डेय र धनुषाका लोकबहादुर परियार प्रतिनिधि पात्र मात्र हुन्। उनीहरूजस्ता कैयौं बिरामी र संक्रमितले अकालमै ज्यान गुमाइरहेका छन्।

प्रदेश २ कै ठूलो अस्पताल– जनकपुर प्रादेशिक अस्पतालमा पछिल्लो समय प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानसमेत स्थापान गरेको छ। यूएस एड भन्ने संस्थाको सहयोगमा त्यहाँ गत बुधार मात्र चारवटा नयाँ भेन्टिलेटर जडान गरिएका छन्। तर तीमध्ये एउटा पनि २४ घण्टासम्म पनि चलेन। त्यसपछि प्रदेश २ को समाजिक विकास मन्त्रालयले उपलब्ध गराएको आठवटा भेन्टिलेटर गत शुक्रबार जडान गरिएका छन्।

तर हाल प्रादेशिक अस्पतालले कोरोना पुष्टिको प्रमाण भएका संक्रमितलाई मात्र भर्ना लिन्छ। संक्रमितका लागि ६१ बेडको आइसोलेसन वार्ड तयार छ। जसमा ४० वटा अक्सिजनसहितको बेड रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। प्रमोद यादवले जानकारी दिए।

‘अक्सिजनसहितका सबै बेड बिरामीले भरिएका छन्। त्यसैले यहाँ सिकिस्त बिरामीलाई पीसीआर रिपोर्ट हेरेर मात्रै भर्ना लिन्छौं,’ उनले नेपालखबरसँग भने, ‘सामान्य बिरामीलाई हामी भर्ना लिँदैनौं।’

अन्य स्थानहरूमा पनि आइसोलेसनको व्यवस्था रहेकाले सामान्य बिरामीलाई त्यतै व्यवस्थापन गर्नुपर्ने उनले बताए।

सप्तरी, सिरहा, महोत्तरी, सर्लाहीलगायत जिल्लाबाट गम्भीर बिरामी प्रादेशिक अस्पताल (अस्पताल) मै आउने गरेका छन्। तर जनशक्ति र उपकरण अभावका कारण चाहेजस्तो सेवा दिन नसकिएको अस्पतालले जनाएको छ।

उता महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा एक वर्षअघि सामाजिक विकास मन्त्रालयले २ करोड ५५ लाख ५२ हजार रुपैयाँमा खरिद गरी पाँचवटा भेन्टिलेटर दिएको भए पनि त्यसै थन्किएर बसेका छन्। भेन्टिलेटर नभएकै कारण रघुनाथ पाण्डेयले ज्यान गुमाउनुपर्‍यो।

जनशक्ति अभावका कारण भेन्टिलेटर सञ्चालन गर्न नसकिएको अस्पतालका प्रमुख डा. सतिश साहको भनाइ छ।

‘अस्पतालमा भेन्टिलेटर छ। तर जनशक्ति छैन। भेन्टिलेटर सञ्चालनमा ल्याउन एमडी डाक्टर, एनएसथेसियालगायत जनशक्ति चाहिन्छ,’ उनले नेपालखबरसँग भने, ‘सम्बन्धित निकायमा पटकपटक जनशक्ति माग गर्दा अहिलेसम्म दिएको छैन।’

जलेश्वर अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १५ वटा अक्सिजन र ५ वटा आईसीयूसहितका आइसोलेसन बेड छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .