सुनसरीमा एक वृद्धाको हत्या तथा लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङ पथरी ३ घर भई हाल धरान बस्ने ३८ वर्षीय सन्तोष भन्ने वीरबहादुर परियार, मोरङ पथरी शनिश्चरे ५ पिपलडाँडाका ३५ वर्षीय सोनी राई र धरान १३ अमरहाटकी २९ वर्षीया लक्ष्मी लिम्बू रहेका छन्।
धरान उपमहानगरपालिका १५ पूर्वेली पथमा ८४ वर्षीया गोबिन्दमाया बिश्वकर्माको हत्या भएको थियो। गत वैशाख ११ गते बिहान साढे ११ बजे उनीमाथि धारिलो हतियार प्रहार गर्दै अज्ञात समूहले लुटपाट गरेको थियो।
बुहारी झरना बिश्वकर्मा र उनका छोरा जोहन बिश्वकर्मा पुजा गर्न बाहिर गएको समयमा लुटेराले उनीमाथि आक्रमण गरेका थिए।
विश्वकर्मालाई टाउको लगायत शरिरका बिभिन्न भागमा धारिलो हतियारले प्रहार गरेर गम्भीर घाईते बनाएका थिए। लुटेराले नगद २ लाख, वृद्धाले लगाएका र घरमा रहेका नौगेडी, चुरा, सिक्री, जन्तर लगायतका गरगहना गरी ११ लाख ४० हजार ९५० बराबरको लुटेका थिए।
घाइते वृद्धालाई उपचारका लागी न्यूरो अस्पताल विराटनगरमा पठाईएकोमा वैशाख १९ गते मृत्यु भएको थियो।
पक्राउ परेका व्यक्तिबाट प्रहरीले लुटिएका गहना समेत बरामद गरेको छ। गहनाहरु सोनी राईकी बहिनी नाता पर्ने लक्ष्मी लिम्बुलाई लुकाई छिपाई राख्न दिएको खुलेपछि उनको कोठा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा सुनका गरगहना बरामद गरिएको धरान प्रहरीले जनाएको छ।
झरनाले जाहेरी दिएपछि उनीहरुमाथि कर्तव्य ज्यान र डाका मुद्दामा प्रहरीले अनुसन्धान गरेको छ।
Shares
प्रतिक्रिया