कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो।
जीप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रुपमा शव नछाड्न आममानिसहरुलाई अनुरोध गर्न थालेका छन्।
प्रहरीले लाउडस्पिकरबाट भनिरहेको थियो, “हामी तपाइँलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौं।”
शुक्रबार, वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज शहरको गङ्गा नदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो।
उत्तर प्रदेश राज्य सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चार माध्यममा छापिएका समाचारको खण्डन गरेका थिए।
समाचारमा कोभिड–१९ का कारण मृत्यु भएका एक हजारभन्दा बढी शव विगत दुई सातामा गङ्गा नदी किनारामा बेवारिसे अवस्थामा भेटिएको उल्लेख थियो। तर सेहगलले दाबीका साथ भने, “यी शव कोभिड–१९ बाट पीडित व्यक्तिका होइनन् ।”
उनले केही मानिसले हिन्दु परम्परा अनुसार गर्नुपर्ने आफ्ना मृतक परिवारजनको दाहसंस्कार यसपटक विभिन्न कारणले विधिपूर्वक नगरेको बताए।
एक जना वरिष्ट प्रहरी अधिकृत के.पी सिंहले कोभिड–१९ का कारण मृत्यु भएकाहरुको दाहसंस्कारका लागि प्रयागराजको नदी किनारामा अलग्ग ठाउँको व्यवस्था गरिएको बताए।
उनले प्रचार गरिएजस्तो नभई नदी किनारामा सानो संख्यामा शव भेटिएका बताएका छन्। रासस/एपी
प्रतिक्रिया