ad ad

समाज


बयान नसकिएकाले रवि लामिछानेलाई फेरि म्याद थप्न लगिँदै

बयान नसकिएकाले रवि लामिछानेलाई फेरि म्याद थप्न लगिँदै

नेपालखबर
भदौ ३, २०७६ मंगलबार २:५९,

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका न्यूज २४ का पत्रकार रवि लामिछानेसहित तीन जनालाई प्रहरीले आज (मंगलबार) पुनः म्याद थप माग गरी अदालत लैजाँदैछ।

लामिछानेसँगको बयान नसकिएकाले थप अनुसन्धानका लागि मंगलबार पुनः म्याद माग्न लागिएको चितवन प्रहरीले जनाएको छ। पक्राउपछि प्रहरीले ३१ साउनमा अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान नसकिएकाले प्रहरीले थप समय खोजेको हो।

म्याद थपका लागि तीनैजनालाई मंगलबार दिउँसो पुनः अदालत पेस गर्ने प्रहरीको तयारी छ। स्रोतका अनुसार त्यसअघि रविसँग थप बयान लिइनेछ। लामिछानेसँगै पक्राउ परेका अस्मिता कार्की र युवराज कँडेलसँगको बयान भने सोमबारै सकिएको चितवन प्रहरीले जनाएको छ।

रविसँगको बयान नसकिएकाले पुनः म्याद थप्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।

सोमबार बयानका क्रममा सरकारी वकिलसँग रविले आफूलाई आरोप लगाएर पुडासैनीले बोलेको भिडियो अहिलेसम्म नहेरेको बताएका छन् । उनले बयानका क्रममा आफूलाई गाली गरेको र आरोप लगाएको भन्ने अरूबाटै सुनेको तर भिडियो भने नहेरेको बताएका प्रहरी श्रोतले जनाएको छ।

पुडासैनीकी श्रीमतीले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी थिइन्।

पोस्टमार्टम रिपोर्टले झुन्डिएकै कारण पुडासैनीको मृत्यु भएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पाइएको छ।

पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ। उनको मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको प्रहरी स्रोतले जनाएको छ।

पत्रकार पुडासैनीको मृत्यु प्रकरणसँग जोडिएका प्रमाण संकलनका क्रममा प्रहरीले सोमबार उनले आत्महत्याका लागि डोरी किनेको पसल पत्ता लगाएको छ।

नारायणगढ बसपार्कस्थित एक प्लास्टिक पसलमा गई उनले पाँच मिटर लामो डोरी किनेको सिसिक्यामेरा फुटेजसमेत प्रहरीले लिएको छ।

पुडासैनी मृत्यु घटनाको अनुसन्धानकै लागि भनेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी पनि चितवनमै छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .