जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आइतबार (१ भदौं, २०७६) मा हेभी इक्विपमेन्टको सवारी चालक अनुमतिका लागि प्रयोगात्मक परिक्षा लिने तालिका थियो।
प्रयोगात्मक परिक्षामा सहभागी हुने सबै १३ परिक्षार्थी तयार थिए। त्यसमा १२ जना पुरुष थिए। एउटी युवती थिइन्।
यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीको रोहबरमा पालैपालाे हेभि इक्पिमेन्ट अन्तर्गत पर्ने ठूला निर्माण उपकरणको परिक्षा सुरु भयो। १२ जना पुरुषसँगै लाइनमा रहेकी ती युवतीले हेभि इक्विपमेन्ट अन्तर्गत कठिन मानिने ग्रेडर मेसिन स्टार्ट गरिन्। निर्धक्क चलाइन्।
प्रयोगात्मक परिक्षाका लागि हेभि इक्विपमेन्ट अन्र्तगत डोजर, क्रेन, दमकल र ग्रेडर चलाउनु पर्ने थियो। उनलै निर्धारित मापदण्डअनुसार पालैपालो सबै कुशलतापूर्वक चलाइन्।
आइतबारको परिक्षामा सहभागी १३ मध्ये नतिजा आउँदा ९ जना फेल भए। ४ जना उत्तीर्ण भए। उत्तीर्णमध्ये एक हुन्, बर्दिया ठाकुरबाबा नगरपालिका बगनाहकी अनिता थारु।
यो अप्ठ्यारो परिक्षा उत्तीर्ण गर्दै उनले सारै थोरै महिलाको रोजाइमा पर्ने कठीन पेशा छानेकी छिन्।
‘हाम्रोमा हेभी इक्विपमेन्ट चलाउने उनी पहिलो महिला हुन्,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रेम रेग्मी भन्छन्, ‘परिक्षामा सहभागी हुँदा हामी पनि अचम्ममा परेका थियौं।’ उनी नेपालकै पहिलो ग्रेडर मेसिन चालक हुनसक्ने रेग्मीको अनुमान छ।
बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बगनाहकी अनिता हाल गुलरिया नगरपालिकामा गे्रडर मेसिन चालकका रुपमा कार्यरत छिन्।
‘अन्य उपकरणभन्दा यो मेसिन चलाउन निकै कठिन हुन्छ,’ निरीक्षक रेग्मी भन्छन्, ‘प्रयोगात्मक परिक्षामा उत्तिर्ण भएसँगै सवारी चालक अनुमति पत्रको प्रक्रिया सुरु भएको छ।’
ग्रेडर मेशिनले बाटो खन्ने र सम्याउने काम गर्छ। विशेष गरी ग्रामीण सडक निर्माणका लागि उपयोगी यो उपकरण चलाउने दक्ष जनशक्तिको नेपालमा कमी छ।
‘मैले सहायकका रुपमा तीन वर्षदेखि सिक्दै थिएँ,’ नेपालखबरसँग टेलिफोनमा कुराकानी गर्दै अनिताले भनिन् ‘यो मेरो रहर हो।’ अनिताले ग्रेडर अप्रेटर बन्दा आफूलाई गर्व लागेको सुनाइन्।
‘गाह्रो भए पनि मलाई यही पेशामा सन्तुष्टि छ,’ अनिता भन्छिन्,‘कोही डाक्टर, इन्जिनियर र वकिल बन्ने लक्ष्य लिन्छन, मेरा लागि ग्रेडर अप्रेटर नै त्यो लक्ष्य हो।’ अनिता बगनाहको थारु परिवारका ३ सन्तानमध्ये एक्ली छोरी हुन्।
स्थानीय चुरे माविबाट १० कक्षा उत्तिर्ण गरेपछि परिवारले उनलाई १२ कक्षा पढ्न नेपालगञ्ज पठायो। बागेश्वरी उच्च माबिबाट १२ कक्षा उत्तीर्ण गरे लगत्तै आफन्तले उनलाई प्युठान बोलाए। त्यहीँ उनले जलजला निर्माण सेवामा आवद्ध आफन्तको सहयोगमा ग्रेडर मेसिन सिकिन्।
‘तीन वर्षदेखि सहायकका रुपमा चलाउँदै आएकी थिएँ,’ अनिताले भनिन् ‘प्युठान र दाङका ग्रामीण भेगमा बाटो खन्ने काममा सक्रिय थिएँ।’
गुलरिया नगरपालिकामा अस्थायी कर्मचारीका रुपमा कार्यरत अनिता आफ्नो अध्ययन समेत अघि बढाउने योजनामा छिन्। उनलाई कम्तिमा स्नातकसम्मको अध्ययन पूरा गर्ने इच्छा छ।
‘मैले ग्रेडर चलाएको हेर्न प्युठानको ग्रामीण भेगमा महिला पुरुष भेला हुन्थे,’ अनिताले अनुभव सुनाउँछिन्, ‘आम्दानी राम्रो छ तर सुरु मा निर्माण कम्पनी अवसर दिन हच्किन्छन।’
आफ्नो पेशामा परिवारको पूर्ण सहयोग रहेको उनको भनाइ छ। आत्मविश्वासले आफूलाई यो ठूलो मेसिन चालक बनाएको उनको बुझाइ छ।
‘ग्रेडर चलाउने अधिकांश विदेश जाने गर्छन,’ अनिता भन्छिन्, ‘म देशको बाटो बनाएर यतै बस्छु।’
प्रतिक्रिया