ad ad

समाज


पाँच पत्रकार संगठन भन्छन् : प्रेस काउन्सिलमार्फत प्रेसमाथि अंकुश लगाउन खोजियो

पाँच पत्रकार संगठन भन्छन् : प्रेस काउन्सिलमार्फत प्रेसमाथि अंकुश लगाउन खोजियो

नेपालखबर
जेठ २४, २०७८ सोमबार १०:८,

पत्रकारसँग सम्बद्ध विभिन्न पाँच संगठनले प्रेस काउन्सिलमार्फत प्रेस स्वतन्त्रतामाथि नै अंकुश लगाउन खोजिएको आरोप लगाएका छन्।

प्रेस युनियन नेपाल, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल र प्रगतिशील पत्रकार संघ, नेपालले संयुक्त वक्तव्य प्रकाशित गरी प्रेस काउन्सिलमार्फत सिंगो प्रेसमाथि अंकुश लगाउने सरकारी षडयन्त्रको भण्डाफोर गर्न पत्रकार महासंघसहित सरोकारवाला सबैमा आग्रह गरेका छन्।

‘पछिल्लो पटक पत्रकार आचारसंहिताको पालना गराउने र निर्वाचन आचार संहिताको अनुगमनसमेत गर्ने ‘अर्धन्यायिक निकाय’कोरुपमा रहेको प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्तिको प्रक्रिया र नियत हेर्दा आफ्ना विपक्षमा लेख्ने मिडियामाथि अंकुश लगाउने, निर्वाचन धाँधली गराउने गुरुयोजना अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली लागेको स्पष्ट छ’ विज्ञप्तिमा भनिएको छ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष भवानी बरालको सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। सर्वोच्चले २०७४ सालश्रावण ३१ गते मुद्दाको अन्तिम टुंगो नलागेसम्म नियुक्ति भएको पदको काम गर्न रोक लगाएको कुरा पत्रकार संघ, संगठनहरुले स्मरण गराएका छन्।

‘नेपाली पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको सुझाव र परामर्शमामात्र प्रेस काउन्सिलका पदाधिकारी नियुक्त गरिनुपर्ने ऐनको व्यवस्थालाई वर्तमान सरकारले पूर्णरुपमा उल्लंघन गरेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘प्रेसको समाचार सामग्री नियमनगर्ने काउन्सिल जस्तो संस्थाको बोर्डमा केपी ओली नेतृत्वको सरकारले एकलौटीरुपमा आफ्ना कार्यकर्ता मात्र नियुक्ति गरेको छ। नेपाली पत्रकारको साझा संस्था पत्रकार महासंघसमेतलाई मानमर्दन हुनेगरी गरिएको नियुक्तिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार कुण्ठित गर्न राज्य तल्लीन रहेको पुष्टि गरेको छ।’

विज्ञप्तिमा प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघका सचिव श्यामलाल पोखरेलको हस्ताक्षर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .