ad ad

समाज


अहिले कस्तो छ, मेलम्चीको जनजीवन?

अहिले कस्तो छ, मेलम्चीको जनजीवन?

नेपालखबर
असार ६, २०७८ आइतबार ५:५६,

यही असार १ गते साँझ सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रवाती नदीमा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका क्षेत्र तहसनहस बनायो। कैयौं व्यक्ति आफन्त तथा घरबारविहीन भएका छन्। बाढीपछि बेपत्तामध्ये अहिलेसम्म ४ जना मात्र सकुशल सम्पर्कमा आएका छन्  भने ३ जना मृत भेटिएका छन्। अझै २१ जनाको अवस्था अज्ञात छ।

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी बाबुराम खनालका अनुसार खोजी जारी छ, तर उनीहरू अझै फेला परेका छैनन्। बेपत्ताको संख्या बढ्ने सम्भावना पनि छ।

‘किनकि बाढीपछि प्रहरी चौकीसमेत विस्थापित भए, फोन, इन्टरनेट सबै सम्पर्क टुट्यो,’ सहायक सीडीओ खनालले आइतबार बिहान नेपालखबरसँग भने, ‘बिस्तारै कताकताबाट सम्पर्क गरेर मेरा आफन्त हराए भन्नेहरू थपिन थाले।’

अहिले पनि सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा २१ बेपत्ता भनिएको छ भने हेलम्बु गाउँपालिकाले निकालेको सूचनामा २३ जना बेपत्ता भनिएको छ।

‘यो विषयमा हामी भेरिफाइ गर्दै छौं,’ उनले भने, ‘यो साँच्चै हो कि होइन भनेर हामी सम्बन्धित प्रहरी चौकीबाट त्यसलाई पुष्टि गर्ने प्रयासमा छौं।’

हजारभन्दा बढी व्यक्ति विचल्लीमा
सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार बाढीका कारण मेलम्ची तथा हेलम्बु क्षेत्रमा कति जना घरबारविहीन भए भन्ने एकिन भइसकेको छैन।

‘हेलम्बु गाउँपालिकाले चाहिँ ३७ परिवार अर्थात् ३०० जना व्यक्ति विस्थापित भनेर हामीलाई तथ्यांक उपलब्ध गराएको छ, त्यो पनि असार ३ गतेकै हो, थपिन पनि सक्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘मेलम्ची क्षेत्रको चाहिँ अहिलेसम्म विस्थापितको संख्या एकिन हुन सकेको छैन, प्रभावित व्यक्तिको संख्या भने ६ सय अनुमान गरिएको छ।’

यस्तै जुगल गाउँपालिकामा पनि केही परिवार समस्या परेको खबर आएको उनले बताए।

विस्थापित कसरी बाँचिरहेका छन्?
सहायक प्रमुख जिल्ला अधिकारी खनालका अनुसार धेरैजसो विस्थापितलाई मेलम्चीमा रहेको एक विद्यालयमा राखिएको छ भने केहीलाई नेपाली सेनाको ब्यारेकमा टेन्ट टाँगेर बस्ने व्यवस्था मिलाइएको छ।

‘कतिपय आफन्तकोमा जानुभएको छ, कतिपय काठमाडौंतिर जानुभएको जानकारी पाइएको छ, मेलम्चीमा समस्या छैन’ उनले भने, ‘हेलम्बुमा चाहिँ अलि समस्या छ, त्यहाँ प्रहरी चौकी पनि विस्थापित भयो, फोन सम्पर्क पनि टुट्यो, ३ गतेबाट बल्ल कतै कतैबाट सम्पर्क हुन थालेको हो। केही खाद्यान्न र टेन्ट केही पठाएका छौं।’

बाढीको मात्रा घट्यो, जनजीवन सामान्य हुँदै
बाढीपछि बिथोलिएको मेलम्ची क्षेत्रको जनजीवन बिस्तारै सामान्यीकरण हुँदै गएको छ।

‘बाढीको मात्रा घटेको छ, जनजीवन बिस्तारै सामान्यीकरण हुँदै छ,’ सहायक प्रमुख जिल्ला अधिकारी खनालले आइतबार बिहान नेपालखबरसँग भने।

हिलो पन्छाउने प्रयास
उनका अनुसार मेलम्ची बजारमा लेदो जमेको छ। दलदल हिलो छ। त्यसमा पुरिएको घरलगयात संरचना हिलो पन्छाएर निकाल्न सकिन्छ कि भन्ने झिनो आशा रहेको उनले बताए।

त्यसका लागि जिल्लाभरका क्रसर व्यवसायी तथा निर्माण व्यवसायीलाई आज मेलम्ची प्रहरी चौकीमा भेला भई लेदो हटाउन डोजरलगायतका साधन सहयोग गर्न भनिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .