चितवन जिल्लामा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा २६ जनामा डेंगुको संक्रमण देखिएको छ। एक हजार ३७० जनाको रगत परीक्षणमा यो संख्याका बिरामी देखिएका हुन्। जिल्ला स्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये ११ जना चितवनका छन्। अघिल्लो आर्थिक वर्षमा एक हजार २९१ को रगत परीक्षण गरिएकामा ५९ जनामा सो संक्रमण भेटिएको उनले जानकारी दिए।
जिल्लाको भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र, रत्ननगर नगगरपालिका र राप्ती नगरपालिकाको मुख्य शहरी क्षेत्रमा बढी सङ्क्रमित भेटिएका छन्। डेंगुको संक्रमण वर्षा भएसँगै शुरु हुने भन्दै किट नियन्त्रक केसीले यस रोगको संक्रमणबाट बच्नका लागि झुल लगाएर सुत्न, लामा बाउला भएका कपडा लगाउन, घर वरपर सरसफाइ गर्न, तथा पानी जम्न नदिन सुझाब दिए। पानी जम्ने ठाउँमा हप्तामा एक पटक एक दुई चम्चा मट्टितेल हालेमा पनि यस्तो समस्या हुँदैन। रोग नियन्त्रणका लागि कार्यालयले भरतपुर महानगरपालिकामा यही असार १ गते देखि ३ गतेसम्म लामखुट्टेका लार्भा खोज र नष्ट गर अभियान सञ्चालन गर्ने भएको छ।
डेंगु रोग सार्ने एजिप्ट एडिस नामको लामखुट्टेले पानी जमेको ठाउँमा फूलपार्ने भएकाले ती ठाउँमा देखिएका लार्भा खोजेर नष्ट गर्न महानगरपालिकामा रहेको स्वास्थ्य स्वयमंसेविका परिचालन गरिने र उनीहरुले आफ्नो क्षेत्रमा लार्भा खोजेर नष्ट गर्नाका साथै डेंगु रोगसम्बन्धी सचेतना फैलाउने छन्। रासस
प्रतिक्रिया