ad ad

समाज


रुकु कार्की बयानको पूर्णपाठः रविको टोलीले योजनाबद्ध ‘ब्लाकमेल’ गर्दा आत्महत्या भएको हुनसक्छ

रुकु कार्की बयानको पूर्णपाठः रविको टोलीले योजनाबद्ध ‘ब्लाकमेल’ गर्दा आत्महत्या भएको हुनसक्छ

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ७:५४,

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणकी केन्द्रीय पात्र हुन् अस्मिता अर्थात् रुकु कार्की। प्रहरी समक्ष दिएको दिएको बयानमा उनले शालिकरामले झुटो बोलेर आफू अविवाहित हुँ भनी फँसाएको उल्लेख गरेकी छिन्। यो बाहेक शालिकराम आत्महत्याको कारणमा उनले भनेकी छिन्, ‘न्युज २४ का अनिल ढुंगेल, युवराज कँडेल र रवि लामिछानले सल्लाहगरी योजना बनाई शालिकराम हतोत्साही हुने किसिमले ब्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ। सोही कारणबाट शालिकरामले आत्महत्या गरेको हुनुपर्छ।’

पढ्नुहोस् अस्मिता अर्थात् रुकु कार्कीको बयानको पूर्ण पाठः

करिब एक वर्ष पहिले फेसबुकमार्फत् शालिकराम पुडासैनीसँग चिनजान भएको हो। त्यसपछि हामीबीच माया प्रेम बस्यो। हामी फोन तथा म्यासेजमार्फत् अन्तरंगका कुराहरु गथ्र्यौं। उनी अलि शंकालु स्वभावका थिए। बेलाबेला मसँग झगडा गर्थे।

मलाई छोडेमा तिम्रो र मेरोबीच भएका कुराकानी म्यासेजहरु सार्वजनिक गरी तिम्रो बेइज्जत गरिदिन्छु भन्दै धम्काउथे। बिष खाएर मर्छु भनेर मलाई दुःख दिन्थे।

घटनाभन्दा करिब ७–८ दिन पहिले मैले उनी विवाहित भएको र मलाई झुटो बोलीरहेको थाहा पाएँ। त्यसपछि मैले उनलाई तिमीले मलाई फसायौ भनेँ, अब मेरो पिछा गर्न छाडीदेऊ भनेकी हुँ। उनले मलाई पटक–पटक फोन गरे। बाटो समेत छेकेर दुःख हैरानी दिए। मैले यो कुराको जानकारी शाकिरामले पहिले काम गर्ने न्युज २४ को ‘सिधाकुरा जनतासँग’का रवि लामिछाने, युवराज कँडेल समेतलाई भनेमा उनीहरुले शालिकरामलाई मेरो पिछा गर्नबाट छुटाई देलान् भन्ने सोचेर घटना हुनुभन्दा ४–५ दिन पहिले उक्त टेलिभिजनका क्यामेरापर्सन अनिल ढुंगेललाई फोन तथा म्यासेज गरी भेटेकी हुँ। भेटमा रवि लामिछाने समेतलाई सो कुराको जनकारी गराई दिनु भनेकी थिएँ। म र शालिकरामबीच आदान–प्रदान भएका म्यासेजका केही स्क्रिन सर्टहरु समेत त्यतिबेला मैले अनिललाई दिएकी हुँ।

अनिलले भने बमोजिम मैले न्युज २४ को कार्यालय अगाडि उभिएको मेरो फोटो खिचेर शालिकरामलाई पठाएको साँचो हो। अनिलले त्यतिबेला सो विषयमा रवि लामिछाने, युवराज कँडेल समेतलाई जानकारी गराएको बताएका थिए। उनले नै शालिकरामलाई फोन गरी केही कुरा गरेको समेत भनेका थिए।

केही म्यासेजका स्क्रिन सर्टहरु मृतकका फेसबुक साथीहरु कृष्णा थापा, प्रतिमा देवकोटा, बेबिका भण्डारी समेतलाई पठाएकी हुँ। सो पश्चात पनि शालिकरामले पटक–पटक फोन गरी हैरानी दिइरहे। तर मैले उनको फोनलाई वास्ता गरिन।

मिति २०७६ साउन २० गते राती करिब साढे १२ बजेतिर निज अनिल ढुंगेलले मलाई फोन तथा म्यासेज गरी शालिकरामसँग कुराकानी भएका कुनै पनि म्यासेज डिलिट नगर्नु भनेका थिए।

भोलिपल्ट मिति २०७६ साउन २१ गते बिहानको सिफ्टको ड्युटीमा हुँदा शालिकरामको मृत्युबारे सुनेर थाहा पाएँ। त्यसपछि करिब साढे दुई बजेतिर न्युज २४ का अनिल ढुंगेल र दिपक बोहरा समेतले मलाई पटक–पटक फोन गरी भेट्न र ५ मिनेटको भए पनि भिडियो बनाइदिन भनेका थिए। तर म उनीहरुलाई भेट्न गइनँ, भेट भएन।

शालिकारमको मोबाइलबाट बरामद भिडियोहरु हेरेँ, सुने। उक्त भिडियोमा उनले म, रवि लामिछाने र युवराज कँडेल समेत मिली योजना बनाई जालझेल गरी आत्महत्या गर्ने बाध्यात्मक स्थितिको सिर्जना गराए भनेका रहेछन्। तर मैले उनलाई यसरी आत्महत्या गर्ने सम्मको कुनै कार्य गरेको छैन। उनले मलाई झुटो आश्वसन दिई प्रेममा पारी फसाएको र वास्तविकता थाहा पाएपछि पिछा गर्न छाडीदेउ भन्दा समेत नमानेकाले सम्झाई देलान् भन्ने मनसायले मैले रवि लामिछाने समेतलाई भनि दिनु भनेर न्युज २४ टिभीका क्यामेराम्यान अनिल ढुंगेल समेतलाई केही म्यासेजका स्क्रिनसर्टहरु दिएकी हुँ।

शालिकरामसँग सम्बन्ध बिग्रिएपछि मैले अनिल ढुंगेललाई शालिकराम र मबीचका म्यासेज र अन्य कुराकानी सेयर गरिदिएकी हुँ। सो पश्चात न्युज २४ का अनिल ढुंगेल, युवराज कँडेल र रवि लामिछानले सो सम्बन्धमा सल्लाहगरी योजना बनाई शालिकराम हतोत्साही हुने किसिमले ब्याकमेल गरी केही कुरा भनेको वा केही कार्य गरेको हुनुपर्छ। सोही कारणबाट शालिकरामले आत्महत्या गरेको हुनुपर्छ।

(जिल्ला सरकारी वकिलको कार्यालय चितवनले २०७६ भदौ ८ गते बुझाएको मुद्दाको मिसिलबाट)

यो पनि: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .