सुन्नी मुस्लिम देश हो, ब्रुनाई। मलेसियाको छिमेकी ब्रुनाईसँग साउथ चाइना समुन्द्र पनि जोडिन्छ। भूगोल जहाँ जोडिए पनि के भो र? ७२.११ वर्गकिलोमिटर क्षेत्रफल रहेको यो देशसँग नेपाली साइनो पनि पुरानै छ। र, ब्रुनाईसँग नेपाली साइनो जोडिनुमा बेलायतको हात छ।
बेलायतको गोर्खा पल्टनमा जोडिएका नेपालीले यहाँ कुनै बेला सुल्तान बचाउन रगत बगाए। अहिले उनीहरु त्यहाँ पसिना बगाउँदैछन्। सन् १९६२ मा भएको बिद्रोह दबाउँदा गोर्खांलीले देखाएको वीरताकै कारण अहिले पनि त्यहाँ करिब २ हजार नेपाली सुरक्षा गार्डको रुपमा काम गर्दैछन्। त्यहाँका सुल्तान याङको दरबारदेखि अन्य सामरिक क्षेत्रको सुरक्षा उनीहरुकै जिम्मामा छ।र, यही मुस्लिम देश ब्रुनाईमा यतिबेला दशैँको रन्कोले छोएको छ।
सिंगापुर पुलिस हुँदै हाल ब्रुनाईको गोर्खा रिजर्भ युनिटमा जोडिएका पोखराका चिजकाजी गुरुङ दशैँको तयारीमा छन्। राजधानी बन्द सेरी बेगवानदेखि सुंगाइआचारसम्म रहेका नेपालीलाई यतिबेला दशैँ लागेको छ।
‘हो, गोर्खा रेजिमेन्ट युनिट (जीआरयू) मा दशैँ लागेको छ, दशैँको दिनमा यहाँको मन्दिरमा पूजापाठ हुन्छ, पण्डितको हातबाट टीका थापेर हामी पनि रमाइलो गर्दैछौँ’, चिजकाजीले भने,‘ दशैँ भनेर ठ्याक्कै बिदा त हुँदैन तर दशैँको दिनमा हामी यहाँ पार्टी गर्छौँ।’ बेलायती सेना र सिंगापुर पुलिसबाट पेन्सन पकाएर त्यहाँ गएकाहरुले दशैँमा मासुभात खान्छन्, नाचगान गर्छन् र रमाइलोसँग दशैँ मनाउँछन्। ‘यहाँ नाचगानको लागि नेपालबाट कलाकार त ल्याइँदैन तर यहीँका साथीभाई अनि भान्जाभान्जी (त्यहाँ कार्यरत गोर्खालीका छोराछोरी)हरु मिलेर नाचगान गर्ने हो’, उनले नेपालखबरसँग टेलिफोनमा भने, ‘यहाँ पनि कालारात्री हुन्छ, काम गर्ने त रोयल फेमेलीतिर नै हो तर हामीलाई दशैँमा खाना छुट हुन्छ। रक्सी खाएर गाडी चलाउन भने यहाँ मिल्दैन।’
यो पटकको दशैँ उतै मनाउँदै गरेका चिजकाजीका अनुसार ब्रुनाईमा गोर्खा पल्टन बस्दादेखिकै चलन हो, यो। बेलायती सेनामा कार्यरत गोर्खालीको पल्टन बस्दादेखिको मन्दिरमा पूजाआजा गर्ने र दशैँ मनाउने चलन अहिले पनि कायम रहेको उनले बताए।
पोखरा बगरका ७१ वर्षीय दुरकमल गुरुङले १४ वटा दशैँ ब्रुनाईमै मनाए। १९८५ देखि १९९९ सम्म ब्रुनाईमा बसेका दुरकमलका अनुसार मुस्लिम देश भए पनि ब्रुनाईमा नेपालीहरुले भव्य रुपले दशैँ मनाउँछन्। ‘ब्रुनाईमा नेपालीको लागि मन्दिर, पण्डित र बच्चाहरुको लागि स्कूल पनि छ। दशैँमा पण्डित भएकोले यहाँ जे छ, त्यही सिस्टमले दशैँ मान्ने हो’, उनले पुराना कुरा सम्झँदै भने, ‘नेपालको जस्तै फूलापाती हुन्छ,टीकाको दिनमा मन्दिरमा गएर बाजे (पण्डित)का तर्फबाट टीका फुकाउने हो।’
उनी १९९५ मा कान्छा सरकारको सुरक्षामा खटिए। कान्छा सरकारको नामले चिनिने तत्कालीन राजाका भाइ पछि भ्रष्टाचारको मुद्दामा जोडिए। दुरुकमलका अनुसार कान्छा सरकार उदार थिए। त्यहाँ काम गर्नेहरुले दशैँमा कान्छा सरकारलाई फूलको गुच्छासहित शुभकामना चडाउँथे। गएपछि त्यस्तो भएन। ‘कान्छा सरकारमा गएपछि चाडबाडको छुट्टी हुँदैनथ्यो, कान्छा सरकारलाई हामीले दशैँमा फूल चढाउँथ्यो’, उनले आफ्नै लवजमा भने, ‘हामीले सरकार भनेर फूल चढाउँदा उनले टिप्स दिन्थे।’ गोर्खा रिजर्भ युनिटमा भएको मन्दिरमा बोका नै काटेर बलि भने दिइँदैन। ‘मार हान्ने हुँदैनथ्यो तर त्यो दिनमा काँक्रो र फर्सीको बली दिइन्थ्यो’, उनले थपे,‘ ‘यहाँको जस्तै फूलपातीदेखि छुट्टी हुन्थ्यो तर काम भने गर्नुपथ्र्यो।’
त्यहाँ २ हजारकै हाराहारीमा नेपाली छन्। चिजकाजी र दुरकमलका अनुसार त्यति धेरै नेपाली भएपछि रमाइलो हुने नै भयो। चिजकाजीका अनुसार दशैँमा त्यहाँ पण्डितको हातबाट जमरा र टीका लगाउने अनि परिवारलाई लगाइदिने चलन अझै छ।
दशैँमा ब्रुनाईभन्दा सिंगापुर पुलिसमा रमाइलो गरेको याद छ, चिजकाजीसँग। सिंगापुरमा दशैँको बेला झण्डै ५ हजार जति नेपाली हुन्थे, कुनै बेला। ‘सिंगापुरे पुलिस, उनीहरुको परिवार पनि त्यहीँ हुने भएकाले दशैैँ औधी रमाइलो हुन्थ्यो’, चिजकाजीले भने, ‘सिंगापुरमा नाचगानको लागि नेपालबाटै कलाकार झिकाइन्छ ,दशैँको लागि पल्टनले नै खर्च व्यहोरेर पार्टीको आयोजना गरिन्छ।’ रमाइलो त के छ भने, सिंगापुरमा कालारात्रिमा बलि समेत दिइन्छ। बलि दिनको लागि बोका र राँगा मलेसियाबाट ल्याइन्छ। मन्दिरमा भएका पण्डित र गोर्खा मेजरको हातबाट टीका लगाएपछि दशैँ सुरु हुन्छ। परिवार र आफन्त हुनेहरुले उनीहरुको घरमा गएर पनि टीका लगाउँछन्।
‘सिंगापुरमा त सर्लक्कै नेपालकै जस्तो हो, दशैँ’, चिजकाजीले भने, ‘त्यहाँ रक्सी पनि कम्पनीले नै दिन्छ, नेपालको पुलिस र आर्मीजस्तो त्यहाँ सानो–ठूलो दर्जा भन्ने हुँदैन, पार्टीमा सबै बराबरी हुन्छ।’
सिंगापुरमा मात्रै हैन, बेलायती सेनाको क्याम्प भएका सबै ठाउँमा दशैँ भव्य हुन्छ। हङकङमा बेलायती सेना हुँदा हङकङको दशैँ पनि यस्तै हुन्थ्यो। केही दशैँ श्रीमान् दुरकमलसँगै हङकङमा मनाएकी गंगा गुरुङका अनुसार त्यो बेला पल्टनैपिच्छे आफ्नै पण्डित हुन्थे। पण्डितको हातबाट टीका थापेपछि दशैँ सुरु हुन्थ्यो। पल्टन जहाँ जान्छ, पण्डित त्यहीँ जान्थे, त्यही भएको मन्दिरमा दशैँ मनाइन्थ्यो। टीका त सेतो र रातो दुबै लगाइन्थ्यो। पण्डितसँग टीका थापेपछि त्यहीँबाट टीका र जमरा लिएर घरका अन्य सदस्यलाई पनि टीका लगाइदिने चलन थियो।
लाहुरे संस्कृति बदलिएको छ। छातीको इञ्च नपाएर हैन, रोजगारीको क्रममा अहिले संसारका सबैजसो देशका नेपालीको बसोबास छ। उनीहरु आ–आफ्नै तरिकाले दशैँ मनाउँछन्। काम नगरी खान नपाइने ठाउँमा दशैँको लागि छुट्टी लिन पनि भएन। अरबका खाडीदेखि मलेसियासम्म फुर्सद मिलाएर दशैँ मनाउने नेपाली भए पनि गोर्खा आर्मी भएको ठाउँमा भने दशैँको रौनक हिजोदेखि नै उस्तै छ। दशैँमा बलि पनि दिइएकै छ, नाचगान पनि भएकै छ। शक्तिको आराधना गर्ने सेनाकै यही परम्पराका कारण ब्रुनाई र बेलायतमा पनि दशैँको रौनक भित्रिएको हो।
प्रतिक्रिया