ad ad

समाज


टाउकोमा ढुंगो बजारिँदा पनि यात्रुको ज्यान जोगाउने बसका चालकलाई सरकारले सम्मान गर्ने

छोरालाई मरणोपरान्त सम्मान र राहत दिने खबर सुनेर भक्कानिइन् आमा भानुमती
टाउकोमा ढुंगो बजारिँदा पनि यात्रुको ज्यान जोगाउने बसका चालकलाई सरकारले सम्मान गर्ने

सुनिता विष्ट
साउन २२, २०८१ मंगलबार १३:४, काठमाडौँ

गत असार २८ गते मुग्लिन नजिक पहिरोसँगै खसेको ढुंगाले लागेर ज्यान गुमाएका बसका चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ। 

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ मा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बसका चालक मेघनाथ विकलाई मरणोपरान्त सम्मान गर्न लागिएको हो।
 
गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा बस चलाइरहेका नवलपरासी सुनवल नगरपालिका–४ का ३६ वर्षीय विकको मृत्यु भएको थियो। 

बस चलाइरहेको अवस्थामा माथिबाट आएको ढ्ंगाले लागेर अर्धचेत भएका विकले बस रोक्न भ्याउँदा ३० जना यात्रुको ज्यान भने जोगिएको थियो। आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको हो।

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । 

‘कस्तो सम्मान, कति राहत भन्ने कुरा पछि खुल्ला तर आफू मरेर बसका यात्रुलाई जोगाएकाले चालकलाई मरणोपरान्त सम्मान गर्ने निर्णय भएको छ,’ भट्टराईले नेपालखबरसँग भने।

सरकारको निर्णयले खुसी भइन् आमा
सरकारले गरेको यो निर्णयले मेघनाथकी ६५ बर्षीया आमा भानुमतीको ओठमा थोरै मुस्कान थपिएको छ। कान्छो सन्तानको रुपमा रहेका मेघनाथको शोकमा डुबेकी उनलाई जति रोए पनि छोरा फर्कदैँन भन्ने त लाग्थ्यो नै। तर पनि आमाको मन न हो, कहाँ बुझ्छ र सजिलै। 

जब छोराको दुर्घटनामा परेर मृत्यु भयो, तब उनले मेघनाथलाई विदेश पठाउन र बुहारीलाई पसल राख्नका लागि भन्दै निकालेको १५/१६ लाख रुपैयाँ ऋणको भारी थुप्रियो। यो पीडाले पनि रातभर अनिँदो बस्ने भानुमतीको मनमा थोरै भए पनि आशा पलाएको उनी बताउँछिन्। 

सम्मानसहित केही राहत पनि दिने भन्ने खबर गाउँका समाजसेवी मोहन बहादुर कार्कीले मंगलबार (आज) बिहान उनलाई सुनाएका छन्। 

यो खबरले आफ्नो छाती गर्वले फुलेको भानुमतीले बताइन्। ‘आँखाका आँशु रोकिएकाे छैन, खाने र सुत्नेको त ठेगान नै छैन नानी मेरो,’ नेपालखबरकर्मीसँग भानु्मतीले रुँदै भनिन्, ‘बसमा भएका त्यत्रा मान्छेलाई बचाएर गयो। आफू पनि बाँचेको भए मैले मेरो मुटुको टुक्रालाई गुमाउन पर्ने थिएन। तर पनि सरकारले उसको कामकाे कदर गर्न लागेको सुन्दा खुसी नै लागेको छ। मेरो छोरो अमर रहोस्!’

काँधमा ऋणको भारीले झनै गलेकी भानुमतीलाई यो ऋण कसरी तिरौंला भन्ने पिरलो छ। 

सरकारले गर्ने सम्मान र राहतले यती ऋण तिर्न पुगे मर्ने बेलामा पनि आफ्नो श्वास सजिलै जाने उनी बताउँछिन्। ‘यो थलोमा बस्न थालेको ४० बर्ष भयो। यही बिहे भयो। छोराछोरी यही थलोमा हुर्किए। तर आजसम्म घर भएको जग्गाको पुर्जा छैन। बेचबिखन गरेर काम टारौं भने पनि बाटो छैन,’ भानुमतीले गुनासो गरिन्। 

मेघनाथको दुई वर्षअघि मात्रै सुनवलकै शोभा विकसँग बिवाह भएको थियो। गत मंसिरमा मात्रै उनीहरूबीच सम्बन्ध विच्छेद भएको भानुमतीले जानकारी दिइन्। 

सम्बन्ध विच्छेद गर्दा आफूले ऋण काढेरै रकम दिएको उनले बताइन्। 

उनले भनिन्, ‘ऋणको पिर त त्यति धेरै लागेको थिएन, जब मेरो छोरा जीवितै थियो। उसैले कमाएर तिर्ला भनेर ढुक्कै बसेको थिएँ। तर छाेराेसँगै मेरो सबैथोक ढल्यो। सहारा नै नभएपछि मैले कसरी मन बुझाउनु?’ 

सरकारले के कति राहत दिन्छ? कस्तो सम्मान गर्छ? भन्ने सार्वजनिक त गरिसकेको छैन। तर पनि याे निर्णयले मेघनाथकी आमा भानुमती मात्रै होइन, उनको गाउँ रम्भापुर नै उज्यालो भएजस्तै भएको स्थानीय मोहनबहादुर कार्की बताउँछन्। 

‘उहाँको अवस्था निकै दयनिय छ,’ कार्कीले भने, ‘सानो घर छ। छानाबाट पानी चुकिन्छ। जग्गाकाे लालपुर्जा केही छैन। कमाउने र खाने मात्रै हो। आमालाई पाल्न त उहाँको जेठो छोरा पनि हुनुहुन्छ। तर उहाँलाई ठूलो चिन्ता नै १५/१६ लाख ऋणको छ।’ 

शोकमाथि पनि चिन्तामा डुबेकाले भानुमती आमा निकै गलेको उनले बताए। ‘सरकारले सम्मान दिए मेगनाथको आत्माले शान्ति पाउँछ। अन्य चालकलाई पनि गर्व महशुस हुन्छ,’ उनले भने, राहत दिए सरकारलाई भानुमती आमाको आर्शिवाद लाग्नेछ।’ 

लु २ ख ६५६६ नम्बरको बस बुटवलबाट काठमाडौँको लागि छुटेको थियो। बसमा करिब ३० जनाभन्दा बढी यात्रु थिए। सोही बस चलाइरहेका थिए, बिक। 

गाडीमा सवार ३० जनाको ज्यान जोगिँदा मेघराज भने संसारबाटै अस्ताए। सडकमाथिबाट आएको एउटा ढुंगो मेघराजको टाउकोमा बज्रिएको थियो। रातको समय प्रायः सबै यात्रुहरु निदाइरहेकाे अवस्थामा घटना भएकाे थियाे।

तर बसको क्याविनमै बसेका एक पुरुष यात्रु त्यो घटना देखेर बेस्सरी चिच्याए। चालक विककाे टाउकोबाट रगत बग्न थाल्यो।

उनको टाउकोमा लागेको ढुंगा उछिट्एिर बसको सिसा समेत फुटेको थियो। त्यसपछि मेघराजले आँखा लोलाउँदै करिब ५० मिटर पर लगेर बस रोके। सबै यात्रुको ज्यान जोगाए। तर उनी भने बाँचेनन्। उनलाई उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .