ad ad

समाज


कर्नाटकमा घरभित्र भेटिए एकै परिवारका ५ जनाको कंकाल!

कर्नाटकमा घरभित्र भेटिए एकै परिवारका ५ जनाको कंकाल!

नेपालखबर
पुस १५, २०८० आइतबार ९:२३, काठमाडौँ

भारतस्थित कर्नाटकको चित्रदुर्ग जिल्लाको उपनगरीय क्षेत्रमा एक सेवानिवृत्त कार्यकारी इन्जिनियरको घरमा पाँचवटा मानव कंकाल फेला परेपछि सनसनी मच्चिएको छ।

घटना सार्वजनिक भएपछि अलग्गै लगभग एकान्तमा घर बनाएर  बसेको यो परिवारको निकै चर्चा भइरहेको छ।

उक्त परिवारका प्रमुख जगन्नाथ रेड्डी (८५ वर्ष), उनका श्रीमती प्रेमा (८० वर्ष), छोरी त्रिवेणी (६२ वर्ष) र दुई छोरा कृष्ण (६० वर्ष) र नरेन्द्र (५७ वर्ष) आफन्तहरूबाट अलग्गै/टाढा बसेको पाइएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। 

उनीहरू मानिसहरूबाट यति टाढा बसेका थिए कि २०१९ जुन–जुलाईदेखि उनीहरूको घर बन्द थियो। त्यसैले कसैले वास्तै गरेनन्।  

तर दुई दिनअघि केही व्यक्तिले घरको मुख्य ढोका खुला देखेपछि यो कुरा बाहिर आएको हो। तीमध्ये केहीले पत्रकारलाई यसबारे जानकारी दिए।

पत्रकारले यसबारे जानकारी गराएपछि प्रहरीले घटनास्थल पुगेर परिवारका पाँचै जनाको कंकाल बरामद गरेको हो। 

प्रहरीले के भन्यो?
बीबीसी हिन्दीलाई यस विषयमा जानकारी दिँदै चित्रदुर्गका प्रहरी उपरीक्षक धर्मेन्द्र कुमार मिणाले भनेका छन्, ‘जगन्नाथ रेड्डीका आफन्तका अनुसार परिवार कुनै आश्रममा जाने योजनामा ​​थिए।’

त्यसैले लामो समयसम्म घर बन्द भएको देखेर मानिसहरूले उनीहरू आश्रम गएको हुनसक्ने ठाने। यो कुराको पुष्टि परिवारका सदस्यहरूले कुनै मुद्दाको सम्बन्धमा सेवा लिएका वकिलले पनि गरे।

तर रेड्डी परिवारलाई अन्तिमपटक कहिले भेटिएको थियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। रेड्डी परिवार ठूलो घरमा बस्थे।

यो घर वरपर निकै थोरै छिमेकी मात्र थिए। किनभने यो नयाँ बसोबास गरिएको उपनगरीय क्षेत्र थियो। दुई वर्षमा यहाँ केही घर मात्र बनेका छन्। उनको घरबाट नजिकको घर कम्तीमा १०० फिट टाढा थियो।

उनको घरको ठीक अगाडि एउटा घर थियो। तर यस परिवारका मानिसहरू पनि रेड्डी परिवारको वास्ता गर्थेनन्, किनभने रेड्डी परिवारका सदस्य छिमेकीसँग हेलमेल गर्थेनन्। 

कसैले ढोका ढकढक्याए पनि उनीहरू बाहिर निस्किन्थेनन्, झ्यालबाट मात्रै कुरा गर्थे। केही वर्षदेखि यस घर वरपरका मानिसहरूले यस क्षेत्रमा दुर्गन्ध आइरहेको गुनासो गरे पनि प्रहरीले खासै चासो दिएन। घर बन्द भएकाले प्रहरीले पनि धेरै समय वास्ता गरेन। यसको बाहिरी गेट पनि बन्द थियो।

झण्डै दुई महिनाअघि गेट तथा दुई दिनअघि घरको ढोका पनि फुटेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले गरेको अनुसन्धानका क्रममा उक्त घरबाट कागजपत्र र विभिन्न अस्पतालका मेडिकल रिपोर्ट फेला परेको बीबीसी हिन्दीले जनाएको छ। 

यी रिपोर्ट बेंगलुरु र अन्य अस्पतालका छन्। निम्हान्स अस्पतालको रिपोर्ट पनि फेला परेको छ, जसमा जगन्नाथ रेड्डीको शरीरमा रगत जमेको रोग उल्लेख गरिएको छ। 

छोरी स्पन्डिलाइटिसबाट पीडित थिइन् भने कृष्ण मोटोपना र मुटुको रोगबाट पीडित थिइन् भन्ने पनि रेकर्डले देखाएको छ। कान्छा नरेन्द्रको स्वास्थ्यसम्बन्धी समस्याबारे खासै केही पत्ता लागेन।

प्रहरी उपरीक्षक धर्मेन्द्र कुमारले भने, ‘प्रहरीले यी रिपोर्ट सरकारी डाक्टरबाट जाँच गराइरहेको छ।’

एक प्रहरी अधिकारीले बीबीसी हिन्दीलाई बताएअनुसार कन्नड भाषामा लेखिएको एउटा नोट पनि फेला परेको छ, जसमा परिवारले कुनै चरम कदम चाल्न सक्छ भन्ने संकेत छ, तर त्यसमा न मिति तोकिएको छ, न कुनै हस्ताक्षर नै छ। 

नाम नबताउने सर्तमा ती प्रहरी अधिकारीले भने, ‘परिवारका कुन सदस्यले यो लेखेको हो भन्ने थाहा हुन सकेको छैन। र, यो अधुरो पनि छ।’ 

रेड्डी परिवार रोगका कारण समस्यामा परेको हुनसक्ने अनुमान गरिएको म भने छोरीको बिहे नहुने चिन्ता पनि उक्त परिवारलाई रहेको बताइन्छ। 

नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले अहिले भेटिएका प्रमाणबाट यो घरमा पटकपटक तोडफोड भएको हुन सक्ने बताएका छन्। 

प्रहरी भित्र पसेर हेर्दा आमा–छोरीको कंकाल एउटै ओछ्यानमा फेला परे भने एउटै कोठाको भुइँमा बाबु र छोराको कंकाल फेला परेका थिए। कान्छो छोराको कंकाल भने अर्को कोठामा फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .