ad ad

समाज


७५ वर्षका यी वृद्धलाई छोरा-बुहारीले अनकन्टार जंगलमा लगेर छाडेका हुन्?

७५ वर्षका यी वृद्धलाई छोरा-बुहारीले अनकन्टार जंगलमा लगेर छाडेका हुन्?

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १३:४४, काठमाडौँ

यही साउन १ गते मोरङको सुन्दरहरैँचा क्षेत्रको जंगलमा शारीरिक रुपमा अत्यन्तै कमजाेर अवस्थाका एक वृद्ध फेला परे। अनकन्टार जंगलमा एक्लै फेला परेका ती वृद्धको सुरुमा पहिचानसमेत खुल्न सकेन। 

सेतै फुलेको कपाल, शरीरमा मैलो कट्टु र गन्जी मात्रै लगाएका ती वृद्ध बोल्न सक्ने अवस्थामा थिएनन्। उनलाई जंगलमा देख्नासाथ धेरैले आफन्तले नै उनलाई जंगलमा लगेर मिल्काएको अनुमान गरे। धेरै मिडियाले यस्तै हल्लाको आधारमा समाचार बनाए। 

प्रहरीले अनुसन्धान गर्दै जाँदा ती वृद्ध सुन्दर हरैचा नगरपालिका–१ डाँगी टोलका ७५ वर्षीय जामुनलाल ऋषिदेव (मुसहर) भएको पत्ता लागेको छ। अहिले ती वृद्ध कसरी जंगलमा पुगे भन्ने अनुसन्धान प्रहरीले गरिरहेको छ। 

‘बेलबारी नगरपालिका १ र ४ को सिमानास्थित बेलबारी–चिसाङ साझेदारी वनको झाँडीभित्र एक्लै ती वृद्ध कसरी पुगे भन्ने यकिन त भइसकेको छैन,’ जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले नेपालखबरसँग भने, ‘तर कतिपयले उनलाई आफ्नै जेठा छोरा बुहारीले जंगलमा लगेर मिल्काएको भनेर पनि प्रचार गरेको पाइयो। तर, त्यो सत्य होइन रहेछ।’  

उनले ती वृद्ध गाउँबाट हिँडेको (हराएको) १५ वर्षपछि गाउँमा देखिएको प्रहरी अनुसन्धानबाट खुलेको बताए। 

स्थानीय जनप्रतिनिधिलगायतसँग समन्वय गरेर थप खोजी गर्ने क्रममा प्रहरीले उनी सुन्दरहरैँचा–१ डाँगी टोलका जामुनलाल ऋषिदेव भएको पत्ता लगाएको हो। उनको घरको ठेगाना पत्ता लगाउन पनि प्रहरीलाई हम्मेहम्मे परेको थियो। 

‘सुरुमा त उनका जेठा छोरा-बुहारीले ती वृद्धलाई जंगलमा लगेर छाडेको हल्ला चलेको थियो। तर, हाम्रो अनुसन्धानले त्यो गलत ठहरियो,’ एसपी कार्कीले भने, ‘१५ वर्षअघि नै उनले घर छाडेर हिँडेका रहेछन्। १५ वर्षसम्म उनी एकपटक पनि घरमा आएको देखिँदैन। छोरा बुहारीले उनी हराउने बित्तिकै निकै खोजेका पनि रहेछन्। तर फेला पार्न सकेका रहेनछन्। गाउँलेहरुले हामीलाई पनि यही बताएका छन्।’

शारीरिक रुपमा अत्यन्तै कमजोर ती वृद्धको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ। ‘उनी निकै बिरामी र कमजोर छन्। उनमा किड्नीको समस्यासमेत देखिएको डाक्टरहरुले बताएका छन्,’ एसपी कार्कीले भने। 

१५ वर्षअघि गाउँ छाडेर हिँडेका उनको यस अवधिमा आफ्नै छोरा-बुहारीसँगसमेत भेटघाट नभएको पाइएको एसपी कार्कीले बताए। 

‘उनका जेठा छोरा ५५ वर्षीय जल्वा ऋषिदेव पनि बिरामी रहेछन्,’ एसपी कार्कीले भने, ‘उनलाई हामीले प्रहरीकै गाडीमा राखेर कोसी अस्पताल लगेर बुवासँग भेट गरायौँ। उनीहरुले आपसमा निकैबेर गफ गरे। उनीहरुबीच १५ वर्षपछि अहिले पहिलोपटक भेटघाट भएको हो।’

घर छाडेर हिँडेका उनले कतै टाढा गएर लामो समयसम्म काम गरेर बसेको अनुमान प्रहरीले गरेको छ।

‘उनी बिरामी भएर काम गर्न नसक्ने भएपछि कि आफैँ छोरा-बुहारी सम्झेर घर फर्किएका हुन सक्छन्, कि कसैले ल्याएर जंगलमा छाडेकाे हुन सक्छ। तर, छोरा-बुहारीले जंगलमा ल्याएर फालेको चाहिँ होइन,’ एसपी कार्कीले भने। 

यस अवधिमा उनी कहाँ थिए भन्नेसमेत नखुलेको एसपी कार्कीले बताए। ‘उनी आफैँ बिरामी छन्। शारीरिक रुपमा पनि अत्यन्तै कमजोर। नेपाली राम्ररी बोल्न र बुझ्नु पनि सक्दैनन्,’ कार्कीले भने, ‘बिरामी अवस्थामा आफ्नो घर खोज्दै आउँने क्रममा उनी बाटोमा अलपत्र परेको हो कि भन्ने देखिन्छ। उनी फेला परेको स्थान राजमार्ग छेउकै जंगल हो। अनकन्टार भित्री जंगल पनि होइन। सडक छेउकै जंगल हो।’ 

पैदलै हिँडेर सोध्दै खोज्दै घर फर्किने क्रममा उनी त्यो जंगलमा आइपुगेको र थप अशक्त भएपछि त्यहाँबाट अघि बढ्न नसकेको अनुमान प्रहरीले गरेको छ। 

जंगलमा अलपत्र अवस्थामा उनलाई सुरुमा वन हेरालुले फेला पारेका थिए। 

त्यसपछि बेलबारी नगरपालिकाका स्वास्थ्यकर्मी, नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेर सुरुमा उपचारका लागि उनलाई बेलबारी नगर अस्पताल पुर्याएका थिए। तर, वद्धको स्वास्थ्य अवस्था निकै कमजोर देखिएपछि प्रहरीले उनलाई थप उपचारका लागि बुधबार विराटनगरको कोसी अस्पताल लगेर भर्ना गरेको एसपी काकीले जानकारी दिए।

उनको वास्तविकता पत्ता लगाउन इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको एसपी कार्कीले बताए। 

उनकी पत्नीको यसअघि नै मृत्यु भइसकेको खुलेको छ। उनका कान्छो छोरा दिनेश ऋषिदेव परिवारसहित भारतको हरियाणामा बस्दै आएका आफन्तले बताएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .