ad ad

समाज


२९ वर्ष पढाएको विद्यालयबाट जब प्रधानाध्यापकलाई बिदाइ गरियो...

२९ वर्ष पढाएको विद्यालयबाट जब प्रधानाध्यापकलाई बिदाइ गरियो...

नेपालखबर
पुस १८, २०८० बुधबार १०:३९, सर्लाही

सर्लाहीको हरिवन नगरपालिका–८ मा रहेको महादेव जनता मावि (मजमावि)का प्रधानाध्यापक जयशंकर सिंह मंगलबार अन्य दिनजस्तो उत्साहित थिएनन्। उनको अनुहार खिन्न देखिन्थ्यो। 

विद्यालय प्रांगणमा उनको बिदाइ समारोह चल्दै थियो। शिक्षक गिरीराज रानालाई निमित्त प्रअको जिम्मेबारी सुम्पिएर २९ वर्षसम्म सेवा गरेको विद्यालयबाट बिदा (अनिवार्य अवकास) हुँदै गर्दा उनी भावविह्वल बने। 

कार्यक्रमका प्रमुख अतिथि थिए– हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)। उनले दोसल्ला ओडाएर कदर पत्र दिँदै प्रअ सिंहलाई सम्मान गरे। 

बीएससी सरको नामलेसमेत परिचित सिंहलाई कार्यक्रममा उपमेयर हरिमाया घलान, वडाध्यक्ष प्रज्वल ढुंगाना, विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि, शिक्षक, अभिभावक,  पूर्व विद्यार्थी समाजका प्रतिनिधि र विद्यार्थीले माला तथा अबिर पहिर्याए, फूलका गुच्छा दिँदै बिदाइ गरे। 

प्रअ सिंहलाई स्कुलबाट बिदाइ गरिरहँदा विद्यालयका अन्य शिक्षक र विद्यार्थी पनि भावुक बने। प्रअ सिंहसँगै मंगलबारै मजमाविका अर्का शिक्षक सुरेन्द्र कार्कीको पनि बिदाइ भएको छ। कार्कीले पनि अनिवार्य अवकास पाएका हुन्।

वक्ताहरुले १० वर्षसम्म विद्यालयको मुख्य नेतृत्व (प्रअ) र त्यसअघिको १९ वर्षसम्म शिक्षक भएर मजमाविको शैक्षिक विकासमा सिंहले पुर्याएको योगदानको प्रशंसा गरे। 

२९ वर्षसम्म मजमाविमा गणित र विज्ञान विषय पढाएका सिंहले मंगलबार स्कुलबाट बिदाइ हुँदै गर्दा आफ्नो रिटायर जीवन पनि हरिवन क्षेत्रकै शैक्षिक उन्नयनमा खर्चिने घोषणा गरेका छन्। उनको यो घोषणाको हरिवन क्षेत्रमा प्रशंसा भएको छ।

१० वर्षअघि सिंहले नेतृत्व सम्हाल्दै गर्दा मजमाविमा ७ सयको हाराहारीमा मात्रै विद्यार्थी थिए। हाल मजमाविमा विद्यार्थी संख्या २१ सयको हाराहारीमा छ। 

कक्षा १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पढाई गर्दै आएको मजमाविले प्रअ सिंहकै नेतृत्वमा छोटो समयमै शैक्षिक र भौतिक विकासमा ठूलो फड्को मारेको छ। विद्यार्थी संख्याको आधारमा मजमावि लालबन्दीमा रहेको जनज्योति मावि पछि जिल्लामै दोस्रो स्थानमा छ।

मजमाविमा यतिबेला १० जोड २ मा साइन्स विषय पनि पढाइ हुन्छ। कक्षा नौदेखि १२ सम्म मजमाविले बाली विज्ञानको पनि पढाई गर्दै आएको छ। 

आजभोलि हरेक वर्ष शैक्षिक सत्रको सुरुमा वरपरका बोर्डिङ स्कुल छाडेर मजमाविमा भर्ना हुन आउने विद्यार्थीको घुइँचो लाग्ने गरेको छ।

सरकारी विद्यालयले नै अंग्रेजी माध्यमबाट गुणस्तरीय पढाई सुरु गरेपछि मजमाविमा विद्यार्थी संख्या थाम्नै नसकिनेगरी बढेको छ। अहिले हरेक कक्षामा ४/५ वटा सेक्सन चलेका छन्। हरेक कक्षामा नेपाली माध्यमको पढाइमा एउटा मात्रै सेक्सन छ। तर, अंग्रेजी माध्यमको पढाइमा भने ४/५ वटा सेक्सन सञ्चालित छन्। 
 
पढाइको गुणस्तर सुधार गरेको भन्दै सरकारले मजमाविलाई ६ वर्षअघि नमूना विद्यालयमा समेटेको थियो। त्यसले विद्यालयको भौतिक र शैक्षिक सुधारमा धेरै ठूलो सहयोग पुगेको विद्यालयका निमित्त प्रधानाध्यापक गिरीराज राना बताउँछन्। 

‘सरकारले हाम्रो विद्यालयलाई नमूना विद्यालय घोषणा गरेपछि हामीमा उत्साह थपियो,’ प्रअ सिंहले आफ्नो बिदाइ समारोहमा भने, ‘तर, अहिले विद्यार्थी चापको कारण विद्यालयमा शिक्षकको अभाव छ। जेनतेन हामीले निजी स्रोतबाट शिक्षक राखेर भएपछि पढाइलाई बिग्रन दिएका छैनौँ।’ 

मजमाविमा हाल शिक्षक कर्मचारी गरेर ५९ जना कार्यरत छन्। जसमा निजी स्रोतबाट तलब खाने शिक्षकको संख्या ३७ छ। 

मजमाविमा बाली विज्ञान तर्फ कक्षा ९ र १० मा ३२/३२ जना विद्यार्थी पढिरहेका छन्। बाली विद्यान पढेको एउटा व्याचले १२ कक्षा उत्तीर्ण गरिसकेको छ। 

‘म मेरो अवकास जीवन स्वयंसेवकीय रुपमै भए पनि हरिवन नगर क्षेत्रका सामुदायिक विद्यालयको पढाइ सुधारमा समर्पित गर्ने छु। खासगरी गणित र विज्ञान विषयको पढाइ सुधारमा म अब लागिपर्ने छु,’ प्रअ सिंहले आफ्नो बिदाइ समारोहमा भने, ‘गणित विषय पढ्नमा विद्यार्थी त्यति रुची गर्दैनन्, त्यसको कारण मलाई थाहा छ। म मेरो अनुभव र ज्ञानलाई अब झन् समर्पित ढंगले यस क्षेत्रका विद्यार्थीको हितमा लगाउँने छु।’ 

प्रअ सिंहले स्वयंसेवकीय रुपमै भएपनि नगर क्षेत्रका स्कुल स्कुलमा गएर गणित र विज्ञानको पढाइ सुधार्न लागिपर्ने प्रतिवद्धता जनाउँदा हरिवनवासीले त्यसको प्रशंसा गरेका छन्।

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले नगरपालिकाले आगामी शैक्षिक सत्र अघि नै शिक्षा ऐन र नियमावली बनाउने बताए।  

उनले हरिवन नगर क्षेत्रका सबै सामुदायिक विद्यालयमा प्रतिस्पर्धाबाट प्रअ नियुक्त गर्ने घोषणा गरे। ‘अब हामी प्रतिस्पर्धाबाट सबै विद्यालयमा प्रअ नियुक्त गर्ने छौँ,’ उनले भने, ‘त्यसको टुंगो नगरपालिकाले निर्माण गर्ने ऐनले लगाउने छ।’

उनले मजमाविको पढाइ गुणस्तरीय बनाउन शिक्षक, कर्मचारीले गरेको मेहनतको प्रशंसा गरे। ‘हामीले नगर क्षेत्रका सबै विद्यालयको पढाई मजमाविकै जसरी सुधार गर्नुपर्नेछ,’ उनले भने। 

कार्यक्रममा उपमेयर हरिमाया घलानले मजमावि जिल्लामै उत्कृष्ठ विद्यालयको रुपमा विकास भइरहेको देख्दा खुसी लागेको बताइन्। हरिवन-८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले आफूलाई पढाएका शिक्षकहरुलाई आफैँले बिदाइ गर्नुपर्दा भावुक बनेको बताए।

कार्यक्रममा एमालेका चुडामणि वाग्ले, सीताराम पाेखरेल, माओवादी केन्द्रका राजकुमार यादव, अर्जुन पन्त, उद्योग बाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ, पूर्व विद्यार्थी समाजका प्रतिनिधि, विद्यार्थी र अभिभावकको उपस्थिति थियो। शिक्षक गीता घिमिरेले सन्चालन गरेकाे कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माेहन कार्कीकाे अध्यक्षातामा भएको थियाे। कार्यक्रममा मजमाविका पूर्वप्रअ ङमेन्द्र घिमिरेले पनि मन्तव्य व्यक्त गरेका थिए। 

कार्यक्रममा विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए भने स्काउटका विद्यार्थीले विभिन्न प्रकारका खेल देखाएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .