ad ad

समाज


बारामा विषाक्त खानाले एकै परिवारका ३ बालबालिकाको मृत्यु

नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएका थिए उनीहरुले
बारामा विषाक्त खानाले एकै परिवारका ३ बालबालिकाको मृत्यु

नेपालखबर
साउन २९, २०८१ मंगलबार ७:१७, काठमाडौँ

विषाक्त खानाकाे कारण बाराको सिम्रौनगढमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ। 

सिम्रौनगढ नगरपालिका- ७ झवानी टोल निवासी नरेश रामका तीनजना छोराछोरीको विषाक्त खाना (फूड प्वाइजन)को कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। 

‘घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरु शनिबार राति सिकिस्त बिरामी भएपछि अस्पताल लगिएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले नेपालखबरसँग भने, ‘सोमबार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो।’

मृत्यु हुनेमा ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन राम छन्। उनीहरुको उपचारकाे क्रममा कलैया र वीरगञ्जका अस्पतालमा मृत्यु भएको हो।

चिकित्सकहरुले उनीहरुको मृत्यु फुड प्वाइजनबाट भएको बताएका छन्। खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल पुर्याएका थिए। 

परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अभिभावक भने बिरामी नपरेका डीएसपी सापकोटाले बताए।

‘अहिलेसम्म हामीलाई प्राप्त जानकारीअनुसार तीनजना बालबालिकाको मृत्यु भए पनि ठूला मान्छेलाई केही भएको छैन,’ सापकोटाले भने, ‘माछाभातले फूड प्वाइजन हुँदा त सँगै खाना खाने ठूला मान्छेलाई पनि हुनुपर्ने हो। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

उनले इलाका प्रहरी कार्यालय सिम्राैनगढका प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए। 

खाना खाएपछि स्वास्थ्यमा समस्या देखिएपछि बालबालिकालाई सुरुमा उपचारका लागि स्थानीय सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा लगिएको थियो। 

तर त्यहाँका स्वास्थ्यकर्मीले बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया लैजान भनेका थिए। 

अस्पताल पुग्नुअघि नै ९ वर्षीया लालिमाको मृत्यु भएको थियो। बाँकी दुईजना बालबालिकाको स्वास्थ्य अवस्था थप जटिल भएपछि कलैया अस्पतालले पनि वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा रेफर गरेको थियो। 

नेसनल मेडिकल कलेजमा उपचारको क्रममा पुष्पा राम र कृष्णनन्दन रामकोसमेत मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृतक तीनैजना बालबालिकाको शव पोष्टमार्टमपछि अभिभावकलाई जिम्मा लगाइएको डीएसपी सापकोटाले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .