ad ad

समाज


बारामा सँगै माछाभात खाएका ३ बालबालिकाको मृत्यु हुँदा वयस्कलाई किन केही भएन?

इन्सपेक्टर नवीन राई भन्छन्- घटना रहस्यमय देखिन्छ
बारामा सँगै माछाभात खाएका ३ बालबालिकाको मृत्यु हुँदा वयस्कलाई किन केही भएन?

मृतक तीन बालबालिकाकाकी आमा आफ्ना कान्छा छाेरासँग


नेपालखबर
साउन २९, २०८१ मंगलबार ८:५९, काठमाडौँ

विषाक्त खानाका कारण बाराको सिम्रौनगढमा एकै परिवारका तीनजना  बालबालिकाको मृत्यु भएपछि प्रहरीले घटनाको सूक्ष्म ढंगले अनुसन्धान अघि बढाएको बताएको छ।  

सिम्रौनगढ नगरपालिका-७, झवानी टोल निवासी नरेश रामको परिवारले शनिबार साँझको खानामा माछा र भात खाएको थियो। 

सँगै खाना खाएका परिवारका ६ जनामध्ये तीनजना बालबालिकाको ‘फुड प्वइजन’को कारण मृत्यु भएको चिकित्सकले बताएका छन्। बालबालिकासँगै बसेर उही खाना खाने तीनजना वयस्कलाई भने केही नभएपछि प्रहरीले घटनालाई रहस्यमय मान्दै अनुसन्धान अघि बढाएको हाे। 

‘त्यो परिवारमा ८ जना रहेछन्,’ इलाका प्रहरी कार्यालय, सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले मंगलबार बिहान नेपालखबरसँग भने, ‘शनिबार साँझ तीन बालबालिकासहित परिवारका ६ जनाले सँगै बसेर खाना खाएका रहेछन्। तर, बालबालिकाको फुड प्वइजनबाट मृत्यु हुँदा पनि वयस्क तीन जनालाई भने केही भएको छैन। यो घटना अलिक रहस्यमय देखिएको छ।’ 

घरमूली नरेश रोजगारीको लागि भारतको पञ्जावमा बस्छन्। घरमा नरेशका आमाबुवा, पत्नी र चार छोराछोरी बस्दै थिए। 

तीन बालबालिका विषाक्त खाना (फुड प्वाइजन)को कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ। नरेशका कान्छा छाेरा भने सकुशल छन्।

‘शनिबार साँझ घरनजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका बालबालिका राति सिकिस्त बिरामी भएपछि अस्पताल लगिएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी प्रकाश सापकोटाले नेपालखबरसँग भने, ‘आइतबार र सोमबार उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो।’

मृत्यु हुनेमा ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन राम छन्। उनीहरूको कलैया र वीरगन्जका अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल लगेका थिए। 

‘वीरगन्जस्थित नेसनल मेडिकल कलेजका डाक्टर अशोक गुप्ताले बालबालिकाको मृत्यु फुड प्वाइजनबाट भएको पुष्टि गरेका छन्,’ इन्सपेक्टर राईले भने, ‘तर घटना रहस्यमय देखिएकाले हामीले भिसेरा परीक्षणको लागि नमूना काठमाडौँ पठाएका छौँ। रिपोर्ट आएपछि थप विषय खुल्ला।’

परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अभिभावक भने बिरामी नपरेपछि प्रहरीले घटनालाई रहस्यमय मानेको हो।

‘अहिलेसम्म हामीलाई प्राप्त जानकारीअनुसार तीनजना बालबालिकाको मृत्यु भए पनि ठूला मान्छे सामान्य बिरामी पनि भएका छैनन्,’ सापकोटाले भने, ‘माछाभातले फुड प्वइजन हुँदा त ठूला मान्छेलाई पनि हुनुपर्ने हो। हामी थप अनुसन्धानकै क्रममा छौँ।’

उनले इलाका प्रहरी कार्यालय सिम्राैनगढका प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा प्रहरीले घटनाको अनुसन्धान अघि बढाएकाे बताए। 

इन्सपेक्टर राईले माछा र भातकाे कारणले मात्रै फुड प्वाइजन भएर बालबालिकाको मृत्यु भएको भन्न नसकिने बताए।

‘त्यो माछा नजिकैको पोखरीबाट ल्याइएको रहेछ। फेरि त्यो परिवारले मात्रै पनि त्यो पाेखरीकाे माछा खाएको होइन। स्थानीय धेरै परिवारले खाएको देखिन्छ,’ इन्सपेक्टर राईले भने, ‘तर गाउँका कसैलाई पनि केही भएको छैन। सँगै खाना खाने ती बालबालिकाकी आमा र हजुरबा-हजुरआमालाई पनि केही भएको छैन।’

आफ्ना सबै छोराछोरीको मृत्युपछि आमा विक्षिप्त अवस्थामा छिन्।

‘अहिले उनलाई थप सोधपुछ गर्ने अवस्था पनि छैन,’ राईले भने, ‘तर ती बालबालिकाले माछाभात मात्रै खाँदा फुड प्वइजन भएजस्तो देखिँदैन। शनिबार राति करिब ८ बजे खाना खाएर सुतेका बालबालिका राति दुई बजेतिर सिकिस्त बिरामी परेको देखिन्छ। उनीहरूलाई भोलिपल्ट बिहान ७ बजे मात्रै अस्पताल लगिएको रहेछ। याे अत्यन्तै गरिब परिवार हाे।’

आफ्ना सबै छोराछोरीको मृत्यु भएको खबर पाएपछि नरेश राम भारतको पन्जाबबाट सोमबार घर आइपुगेका छन्। पोस्टमार्टमपछि उनले आफ्ना तीन छाेराछाेरीकै शव अस्पतालबाट बुझेर लगेका प्रहरीले जनाएको छ। 

बिरामी परेपछि बालबालिकालाई सुरुमा उपचारका लागि स्थानीय सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा लगिएको थियो। तर त्यहाँका स्वास्थ्यकर्मीले बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया लैजान भनेका थिए। 

अस्पताल पुग्नुअघि नै ९ वर्षीया लालिमाको मृत्यु भएको थियो। बाँकी दुईजना बालबालिकाको स्वास्थ्य अवस्था थप जटिल भएपछि कलैया अस्पतालले पनि वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा रेफर गरेको थियो। 

नेसनल मेडिकल कलेजमा उपचारको क्रममा साेमबार पुष्पा राम र कृष्णनन्दन रामकोसमेत मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .