ad ad

राजनीति


अमेरिकी र बेलायती राजदूतबीच मःमः र बाराको बाजी

अमेरिकी र बेलायती राजदूतबीच मःमः र बाराको बाजी

नेपालखबर
असोज ७, २०७६ मंगलबार १३:४१,

नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी र बेलायती राजदूत रिचार्ड मोरिसबीच मःमः र बाराको बाजी परेको छ भनेर सुन्दा तपाईंलाई अचम्म लाग्ला।

पत्याउनोस्, नपत्याउनोस्, यो कुरा साँचो हो।

सार्वजनिक रुपमै वास्तविक!

कुनै बेलाको विश्व शक्ति बेलायत र वर्तमानको विश्व महाशक्ति अमेरिकाका राजदूतबीच रग्वी विश्वकप खेलका लागि काठमाडौंको परम्परागत खाना मःमः र बाराको बाजी परेको हो।

अमेरिकी राजदूत बेरीले मंगलबार दिउँसो ट्विटरमा बेलायती राजदूत मोरिसलाई मेन्सन गर्दै रग्वी विश्वपक हेरिरहेका छौ भनेर सोधेका थिए।

त्यही पोष्टमा उनले प्रस्ताव राखे, ‘भोलिको खेलमा अमेरिकी रग्वी टोली विजयी हुन्छ भन्ने मेरो पूर्वानुमान छ। यो बाजी हार्नेले मःमः र बाराको पैसा तिर्नुपर्छ।’

bara momoराजदूतले बाजी राखेको परिकार: टेकूस्थित गांग्री सुमाईमा पाइने काठमाडौं शैलीको कोथे मःमः

बेलायती राजदूत मोरिसले एक घन्टापछि अमेरिकी राजदूतलाई जवाफ फर्काए, मःमः र बाराको बाजी आफूलाई स्वीकार्य रहेको उल्लेख गरे। हार्नेले बफ कोथे मःमः खुवाउनु पर्ने उनले नयाँ सर्त पनि अघि सारे। कोथे भनेको प्यानमा हल्का फ्राई गरेको मःमः हो।

‘त्यो बाजी खुशी साथ स्वीकार्य छ, मलाई लाग्छ मःमः को पैसा तिमिले तिर्नु पर्नेछ’, बेलायती राजदूत मोरिसले भनेका छन्।

अमेरिकी राजदूत बेरीले ट्विटरमा दुबै देशबीच भोली (बुधबार) राति खेल हुने उल्लेख गरेका थिए।

उनको गल्ती समाउँदै बेलायती राजदूत मोरिसले भनेका छन्, ‘चाँडै खेल होस् भन्ने तिम्रो चाहना म बुझ्छु तर खेल चाहिँ बिहीबार हुन्छ।’

जापानमा भइरहेको रग्वी विश्वकप २०१९ मा अमेरिका र इङ्ल्याण्ड (बेलायत) एउटै समूहमा छन्। कोबेस्थित कोबे मिसाकी रंगशालामा समूह सी का यी दुई टोलीबीच बिहीबार खेल हुँदैछ। सो समूहमा अर्जेन्टिना, फ्रान्स र टोगा पनि छन्।

दुबै राजदूतले मःमः र बाराको बाजी राखेको विषयप्रति केहीले प्रतिक्रिया समेत जनाएका छन्। रग्वीमा इङ्ल्याण्डलाई अमेरिकाले जित्नु भनेको बेसबलमा अमेरिकालाई इङ्ल्याण्डले हराउनुजस्तै हुने केहीको तर्क छ।

bara patanराजदूतबीच बाजी परेको अर्को परिकार: पाटनस्थित कृष्ण मन्दिर नजिकै पाइने बारा।

बेसबलमा अमेरिका शक्तिशाली मानिन्छ।

सामाजिक सञ्जाल ट्विटर प्रयोगमा नेपालस्थित अमेरिकी राजदूत बेरी सक्रिय छन्। प्रत्येक दिनजसो उनी ट्विटरमा पोष्ट गर्छन्, सम्बन्धित विषय भए जावफ समेत दिन्छन्। अमेरिकी दूतावासको आधिकारिक ह्यान्डल नेपालमा संगठित ट्विटर प्रयोगको उदाहरण नै हो।

बेलायती राजदूत मोरिस औपचारिक कार्यक्रम तथा आफू पुगेका स्थानहरुका तस्विरहरु मात्र ट्विटरमार्फत् सार्वजनिक गर्छन्।

नीति निर्माणदेखि सार्वजनिक बहससम्म ट्विटरको प्रभाव अकाट्य हुन थालेपछि नेपालस्थित कुटनीतिक नियोग र तिनका प्रमुखहरु पछिल्लो समय यो सामाजिक सञ्जालमा जोडिने, सक्रिय हुने क्रम बढ्दो छ। पछिल्लो समय नेपालस्थित चिनियाँ राजदूत समेत ट्विटरमा जोडिएकी छिन्। भारतीय दूतावासले पहिल्यैदेखि आफ्ना गतिविधि ट्विटरबाट सञ्चालन गर्दै आएको छ।

ट्विटर प्रयोगको प्रवृत्ति जे भए पनि यी दुई राजदूतबीचको मःमः र बाराको बाजी रोचक छ।

बाजी कसले जित्ला त? त्यो थाहा पाउन बिहीबार रातिसम्म पर्खनै पर्छ। अमेरिकी राजदूत बेरीको ट्विटर ह्यान्डल फलो गर्नैपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .