ad ad

समाज


सहरमा बढ्यो चहलपहल, कसरी रहने सुरक्षित?

सहरमा बढ्यो चहलपहल, कसरी रहने सुरक्षित?

यज्ञराज जोशी
बैशाख ३०, २०७७ मंगलबार ७:५५,

सरकारले बैशाख २६ गतेबाट लकडाउनलाई खुकुलो बनाएसँगै काठमाडौं उपत्यकामा पहलपहल बढेको छ।

बाहिरबाट उपत्यका भित्रिनेहरुको संख्या पनि बढ्दै गएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि कोरोना परीक्षण गर्नेको संख्या ह्वात्तै बढेको छ।

अस्पतालका निर्देशक सागर राजभण्डारीका अनुसार सो अस्पताल आउनेमध्ये अधिकांश ‘बाहिर बाट आएकाहरुलाई घरबेटीले कोरोना परीक्षण गराएर मात्र आउनु’ भनेका कारण परीक्षणका लागि आएका हुन्।

‘दैनिक डेढ सयदेखि २ सयसम्म कोराना परीक्षण गराउन आउने गरेका छन्,’ राजभण्डारीले नेपालखबरसँग भने, ‘अधिकांश काठमाडौं फर्कने र कोठामा बस्नेहरु छन्।’

यस्तै वित्तीय कार्यालयहरु खुलेपछि काठमाडौंका विभिन्न स्थानमा भिडभाड समेत बढ्न थालेको छ। चहलपहलमा कोरोना भाइरसको संक्रमण फैलन नदिन नागरिकहरु र सरकार दुवै सचेत हुनुपर्नेमा जनस्वास्थ्यका विज्ञहरुले जोड दिएका छन्।

‘सधैँभरि पूर्ण लकडाउन गरेर धान्न सकिदैँन। आर्थिक क्रियाकपलाहरु सुचारु गर्नुपर्ने नै थियो,’ जनस्वास्थविद् डा. सिद्दी अर्यालले भने, ‘चहलपहल बढेपछि कोरोना जोखिम बढ्न नदिन व्यक्ति र सरकार दुबै जिम्मेवार बन्नुपर्छ।’

उनले कार्यालयमा दूरी कायम गरेर काम गर्ने, अनिवार्य मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग गर्ने, तापक्रम नापेर मात्रै प्रवेश दिने गर्नाले चहलपहलका बीच पनि सुरक्षित रहन सकिने बताए।

अर्यालले लकडाउन खुकुलो भए पनि कोरोना संक्रमितहरु बढ्दै गएको औंल्याउँदै सरकारले कोरोना नदेखिएका स्थानहरुलाई जोगाउन एक ठाउबाट अर्को ठाउमा हुने आवातजावतमा कडाई गर्नुपर्नेमा जोड दिए।

‘कोराना नदेखिएका मुख्य मुख्य शहरमा आउने जाने क्रममा कडारुपमा चेकजाँच गर्नुपर्छ,’ उनले भने, ‘कुनैपनि मानिसको तापक्रम नजाँची तथा यात्रा विवरण (ट्राभल हिस्ट्री) नहेरीकन आउन जान दिए खतरा हुनसक्छ।’

नेपाल विकासोन्मुख देश भएकाले सबै ठाउमा सरकारको पहुँच हुननसक्ने उनले बताए। गाउँ तथा टोलहरुमा स्थानीय बासिन्दाहरु नै काममा तदारुपकताका साथ लागे रोकथाम गर्न सकिने उनले सुझाव दिए।

आफू चीनमा रहँदाको उदाहरण दिदैँ उनले भने, ‘चीनमा एक ठाउँबाट अर्काे ठाउँमा छिर्ने मुख्यमुख्य नाकामा स्वयंसेवीहरुले डेस्क राखेर तापक्रम नापिन्छ। मास्क अनिवार्य छ। त्यही मोडेल यहाँ समुदायस्तरमा सञ्चालन गरे जोखिम कम गर्न सकिन्छ।’

अर्का जनस्वास्थ्यविद् डा. रबिन्द्र पाण्डेले पनि खुकुलो भएको लकडाउनलाई व्यवस्थित गर्न नसक्दा जोखिम बढ्ने बताए। उद्योग कलकारखानाका मजदुरहरुलाई उद्योग परिसरभित्रै खानपिन तथा बसोबासको व्यवस्था मिलाउनुपर्ने उनले सुझाव दिए।

‘मान्छेलाई डर कायम नभए हेलचेक्राई गर्छ,’ डा. पाण्डे भन्छन्, ‘मास्क नलगाउने, दूरी कायम नगर्ने, अनावश्यक घरबाट निस्कनेलाई जरिवानासहित कारवाही गर्नुपर्छ। सडकमा एक–दुई जनाबाहेक बढीलाई सँगै हिड्नै दिनुहुन्न।’

उनले अहिले राजधानीमा चलिरहेका सामुहिक तरकारी बजारबाट मुख्य रुपमा कोरोना सर्ने जोखिम रहेकाले खुद्रा पसलमा तरकारी तथा फलफुल किन्ने व्यवस्था गर्नुपर्ने बताए। यस्तै भित्री गल्ली तथा टोलमा चहलपहल बढी हुने भएकाले त्यहाँ अनुगमन कडा गर्न उनले सुझाव दिए।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न सेवा सुचारु भएसँगै दैनिक जीवनयापन सहज भएको महसुस हुनुका साथै चहलपहल बढ्दा संक्रमण भने फैलनसक्ने बताए।

‘अहिले थप अत्यावश्यक सेवाहरु सुचारु भएका छन्। यस्तोमा थप सतर्कता आवश्यक हुन्छ,’ डा. देवकोटाले भने, ‘दूरी कायम गर्ने, सामानहरु घरमा भित्र्याएपछि पानीले सफा गरेर प्रयोग गर्ने, कार्यालय, घरमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने, स्यानीटाइजर प्रयोग गर्ने अभ्यास गरेमा संक्रमण फैलनबाट जोगिन सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .