चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले कैलालीको धनगढीमा अनशन सुरु गरेका छन्। शुक्रबार साँझ ७ बजेदेखि केसी धनगढीको लक्ष्मी नारायण मन्दिरमा अनशन बसेकाे उनका सहयोगी अमृत जैसीले जानकारी दिए।
चिकित्सा शिक्षा सुधार सम्बन्धमा सरकारले आफूसँग गरेका सहमति कार्यान्वयन नगरेको भन्दै केसीले तीनदिने अनशन थालेका हुन्।
यसअघि २०७९ भदौमा केसीले २०औँ अनशन धनगढीकै लक्ष्मी नारायण मन्दिरमा गरेका थिए।
गेटामा अवरोध
शुक्रबार कैलाली आएका केसी गेटा मेडिकल कलेजमा अनशन बस्ने तयारीमा थिए। प्रस्तावित सहिद दशरथचन्द चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अनशन बस्न जाँदा उनलाई स्थानीयले अवरोध गरे।
विश्वविद्यालय हाताभित्र उनी प्रवेश गर्नै पाएनन्। रोकेर उनलाई स्थानीयले र्याख्तीर्याख्ती पारे। यसमा विश्वविद्यालय स्थापनार्थ संघर्ष गरिरहेका स्थानीय संलग्न थिए।
केसीले अनशन घोषणा गर्नुअघि जारी गरेको विज्ञप्तिमा गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्नुपर्ने माग राखेका छन्। विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले त्यसैलाई तारो बनाउँदै केसीलाई त्यहाँ अनशन बस्न नदिएको हो।
‘अस्पताल सञ्चालन हुनुपर्छ, हामी पहिलादेखि नै लडिरहेका छाैँ। यहाँका नेताहरु प्राइभेट मेडिकल कलेज सञ्चालन गर्न लागेका छन्’, केसीले विज्ञप्तिमा भनेका छन्, ‘विश्वविद्यालय, मेडिकल कलेज, प्रतिष्ठानमा कुनै आपत्ति छैन। चाँडै खोल्नुपर्यो। रोकेर राख्नुभएन।’
विश्वविद्यालय स्थापनार्थ संघर्षरत स्थानीयले छलफल गर्नै नमानेको केसीका सहयोगी जैसीको भनाइ छ। विश्वविद्यालय घोषणा भएको गेटालाई प्रतिष्ठान किन भनेको भनेर स्थानीयले केसीलाई झम्टेका थिए।
‘नेताहरुले रोक्न खोजेर आन्दोलन रोकिन्न’
स्थानीयले गेटाको हाताभित्र प्रवेश गर्न नदिएपछि डा. केसी पनि आक्रोशित देखिन्थे। उनले आफू नडराउने प्रतिक्रिया दिए।
‘म प्रोफेसर हुँ। डाक्टर हुँ। प्रतिष्ठान के हो, विश्वविद्यालय के हो भन्ने मलाई थाहा छ। आर्थिक मन्दी छ भने विश्वविद्यालय बनाउन त बेसी पैसा चाहिन्छ नि! मेरो आन्दोलन कसैले रोक्न खोजेर रोकिन्न’, उनले भने, ‘देउवाजीले रोक्न खोजे। प्रचण्डले कोसिस गरे। ओलीले रोक्न खोजे। नेताहरुले रोक्न खोजेर मेरो आन्दोलन रोकिन्न। म लड्न रोकिनेवाला छैन।’
गेटामा अनशन बस्न नपाएपछि केसी धनगढीको लक्ष्मी नारायण मन्दिर पुगेका हुन्। सुदूरपश्चिमका जनताको भावनाविपरीत गेटामा प्रतिष्ठान बनाउनुपर्ने धारणाका साथ अनशन बस्न आएका केसीको आधिकारिक धारणा बुझ्न खोजेको संघर्षरत स्थानीयको भनाइ छ।
‘सरकारले विश्वविद्यालय बनाउने तय गरिसकेको छ। विधेयक राष्ट्रिय सभामा पारित हुने अवस्थामा छ’, संघर्ष समितिका संयोजक लोकराज पाण्डेले भने, ‘मेडिकल प्रतिष्ठान बन्नुपर्ने एजेन्डा लिएर अनशन बस्न थालेको जानकारी आयो। हामीले मेडिकल विश्वविद्यालयको आवाज उठाइदिनुपर्यो भन्यौँ। उहाँ रिसाएर जानुभएको हो।’
सरकारले २०७९ माघमा प्रस्तावित गेटा मेडिकल कलेजलाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।
यस्ता छन् माग
गेटाका बाहेक डा. केसीले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्। सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्याय शीघ्र टुंगोमा पुर्याउनुपर्ने माग पनि उनले अघि सारेका छन्।
डा. केसीले विगतमा भएका सम्झौता, सरकारी अस्पतालमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधि पाइने सुनिश्चित गर्ने माग राखेका छन्।
चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने, जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि सम्झौता भएबमोजिम इलाम, उदयपुर, डडेलधुरामा सरकारी मेडिकल कलेज खोल्ने माग अगाडि सारेका छन्।
सय शय्याभन्दा बढी क्षमता भएका सरकारी अस्पतालमा नर्सिङलगायत अन्य स्वास्थ्यसम्बन्धी विषयका कार्यक्रम सुरु गरिनुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानुनी व्यवस्था गर्नुपर्ने, ऐन जारी नहुँदासम्म दलीय भागबन्डा निषेध गर्दै यसअगाडिका सम्झौताबमोजिम मापदण्डअनुसार तुरुन्त विश्वविद्यालयमा नियुक्ति गर्ने र एकीकृत प्रतिष्ठान ऐन शीघ्र जारी गर्ने माग केसीले राखेका छन्।
Shares
प्रतिक्रिया