ad ad

समाज


बझाङमा भूकम्पले भत्किएको विद्यालय भवन चन्दा संकलन गरेर निर्माण

बझाङमा भूकम्पले भत्किएको विद्यालय भवन चन्दा संकलन गरेर निर्माण

नेपालखबर
जेठ २३, २०८१ बुधबार १०:३०, बझाङ

सपना विष्ट कक्षा ७ मा अध्ययनरत छिन्। कक्षामा पढिरहेका बेला गत असोज १६ गते अपराह्न २ बजेको भूकम्पले भागाभाग भएको थियो। थलारा गाउँपालिका–९ मा रहेको भवानी आधारभूत विद्यालयका सपनासहितका विद्यार्थी कापीकलम छाडेर भागेका थिए।

भूइचालोले भवानी आधारभूत विद्यालयको भवन भग्नावशेषमा परिणत भएपछि विद्यार्थीहरू चौरमा बसेर पढे। ‘चौरमा बस्दा पनि भूकम्प हुने र ढुङ्गाहरू खस्ने डर भइरह्यो’, विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर विष्टले भने, “विद्यालय बन्द गर्ने कुरा  भएन । चौरमा पढाउन पनि डर भयो । भिरालो ठाउँमा जोखिम मोलेर गुजार्यौँ।’

उक्त विद्यालयका बालबालिका खुला चौरमा पढ्न बाध्य भएको खबर सार्वजनिक भएपछि नेपाल रेडक्रसले चासो देखाएको प्रधानाध्यापक विष्ट सम्झन्छन्। ‘समाचार सार्वजनिक भएपछि रेडक्रसको काठमाडौँ शाखाले विद्यार्थीको समस्या समाधानको चासो देखायो । हामी निकै उत्साहित भयौँ,’ उनले भने।

शाखाले काठमाडौंका विद्यालयमा सञ्चालन गरेको ‘मेरो एक दिनको खाजा भूकम्प प्रभावित साथीलाई’ कार्यक्रम चलाएर रकम सङ्कलन गर्दै विद्यालयको खातामा जम्मा गर्यो ।  विद्यालय भवन निमार्णको काम भइरह्यो र निर्माण कम्पनीसँग सम्झौता भएको तीन महिनामै भवन निर्माण गरेर रेडक्रस काठमाडौं शाखाले हस्तान्तरण गर्यो।

काठमाडौं शाखाले रेडक्रसकै विभिन्न उपशाखा, संस्था, व्यक्तिसंग हात फिजाएर रकम जम्मा गर्दै विद्यालय भवन निर्माण गरेको नेपाल रेडक्रस सोसाइटी काठमाडौं शाखाका सभापति श्यामकाजी डोटेलले बताए । उनले समाचारमा पढेको पीडालाई सहन नसकेर सबैलाई सहयोग माग्दै भवन निर्माण गरेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढेपबहादुर विष्टलाई भवन हस्तान्तरण गर्दै सभापति डोटेलले भने, ‘रेडक्रस भनेको पीडितको घाउमा मल्हम लगाउने संस्था हो।’

विद्यालय भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णबहादुर विष्टले विद्यार्थीलाई खुला चौरमा पठनपाठन गराउँदा कापीकलम उडेर खोलामा पुग्ने समस्या अब टरेको बताए। ‘पहिले खुलाचौरमा शिक्षक विद्यार्थीलाई अति नै समस्या थियो। त्यसै बेलामा काठमाडौं रेडक्रसलाई भगवान्ले टुप्लक्क पठाएजस्तै भयो। बेसहारालाई सहारा दिए।  विद्यालय परिवार खुसी छ’, उनले भने।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिबी विष्टले पनि समाचारका आधारमा विद्यालय भवन बनाउने काठमाडौं शाखाको कामको प्रशंसा गरे। ‘सानो लगानीमा बलियो तीनकोठे भवन बन्छ भन्ने कसैलाई विश्वास थिएन । तर, सम्भव भयो’, उनले भने।

काठमाडौं रेडक्रसले भवानी आधारभूत विद्यालयको तीनकोठे भवन निर्माण गरेको छ।

‘विद्यार्थीको पीडा सुनेर नयाँ शैक्षिकसत्रदेखि पठनपाठन हुनेगरी तयारी गरेका थियौँ’, रेडक्रस काठमाडौँ शाखाका सभापति डोटेलले भने, ‘हाम्रो अभियान सफल भयो । अब बालबालिकालाई सहज हुनेछ । हामी पनि खुसी छौँ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .