ad ad

खेल


क्रिकेटका प्रभावशाली नेता

क्रिकेटका प्रभावशाली नेता

यज्ञराज जोशी
मंसिर ७, २०७६ शनिबार ६:३३,

१९ वर्षअघि रोशन सिंहले एक दिन जिल्ला खेलकुद विकास समिति (महोत्तरी)मा ताला ठोके। उनका २ सूत्रीय माग थिए– कि तत्कालीन जिल्ला क्रिकेट संघको नेतृत्वले काम गर्नुपर्यो कि पद छाड्नुपर्यो।

त्यसबेला जिल्ला क्रिकेटको नेतृत्वमा गिर्जानन्दन मिश्रा थिए। उनी ६ वर्ष नेतृत्वमा रहँदा पनि त्यहाँको क्रिकेटले गति लिन सकेको थिएन। त्यसबाट आजित भएकाहरूको दरिलो साथ पाएका रोशनले जिल्ला खेलकुदको सर्वोच्च निकायमा ताला ठोक्ने आँट गरेका थिए।

जिल्ला खेलकुदमा ताला ठोकेपछि अर्को दिन जिल्ला प्रशासन कार्यालयबाट उनलाई बोलावट भयो। ‘सुरुमा त ताला किन लगाइस् भनेर केही गर्ने हो कि भन्ने डर लागेको थिए,’ रोशनले सम्झे ‘पछि प्रमुख जिल्ला अधिकारी(प्रजिअ) पनि जनताकै कुरा सुन्न त हो नि भनेर त्यसतर्फ लागें।’

प्रजिअसामु रोशनले सरसर्ती पदमा रहेर पनि क्रिकेटको विकासमा काम नगर्नेहरूले कि काम गर्नुपर्यो कि पद छाड्नुपर्यो भनेर ताला ठोकेको बताए। प्रजिअले पनि थप छलफलका लागि अर्को दिन अध्यक्षलाई पत्र काट्ने भए।

प्रजिअले पत्र काटेर अध्यक्षलाई बोलाएका दिन मटियानी, धिरापुर, सिमरदायी, बनराकट्टी, गौशालालगायत ठाउँबाट रोशनलाई समर्थक गर्न सयौं संख्यामा मानिसहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

‘खेलाडी हुँदा मेरो खेल राम्रो भएकाले पनि मलाई धेरैले चिन्थे। अर्कातिर कसैलाई केही सहयोग चाहियो भने म अघि बढ्थे। त्यसैले उनीहरू मेरो समर्थनमा त्यहाँ जम्मा भएका थिए,’ रोशनले भने, ‘सयौंको संख्याका मानिसहरूको आफ्नो काम गराइबारे चित्त नबुझेको थाहा पाएपछि तत्कालीन अध्यक्षले फोनबाटै पद छाडेको घोषणा गर्नुभयो।’

त्यो खबर पाएपछि बाहिर रहेका उनका समर्थकहरूले हर्षोल्लास मनाए। रोशनलाई काँधमा बोकेर उठाए। उनका नाममा हाइहाइका नारा लागे। सबैको माग रोशन अध्यक्ष हुनुपर्छ भन्ने थियो। तर, रोशनले भने त्यसबेला आफूभन्दा सिनियर खेलाडी तथा क्रिकेटलाई योगदान पुर्याउँदै आएका राजु पन्तलाई अध्यक्ष बन्न आग्रह गरे। राजुले आफू नसक्ने तिमी अध्यक्ष बन्नुपर्छ म सहयोग गर्छु भनेपछि रोशन निर्विरोध जिल्ला अध्यक्ष हुने चुनिए।

२०५७ सालको त्यो दृश्य, समर्थकहरूको मायँ सम्झिँदा अहिले पनि रोशन जिम्मेवारी बोधले भावुक हुन्छन्। यसै हप्ता नेपालखबरसँग ती कुरा सम्झिँदै गर्दा उनका आखाँमा आँशु छचल्किए।

rosha singh25
जिल्ला नेतृत्वमा आउदा स्थानीयबाट पाएको मायाँ सम्झदा अहिलेपनि उनका आखाँमा आँशु छचल्किए। तस्बिर: स्नेहा केसी

‘उनीहरूले अब जिल्लाको क्रिकेटले गति लिने विश्वाससाथ मलाई काँधमा बोकेर घुमाएका थिए,’ रोशन सम्झन्छन्, ‘त्यहीबेला मैले निःस्वार्थ भावले क्रिकेटका लागि केही गर्छु भनेर कसम खाएको थिएँ र अहिलेसम्म पनि त्यही पथमा छु।’

रोशन अहिले महोत्तरी क्रिकेटका पर्याय बनेका छन्। चार कार्यकालसम्म जिल्ला अध्यक्ष रहँदा पनि उनको विकल्प कोही देखिएन। सधैं उनलाई निर्विरोध चयन गरियो। त्यसको कारण पनि थियो, उनी खेलाडी र खेललाई चाहिएका बेला खुला दिलले आफ्नै खल्तीबाट पैसा खर्चिन्छन्। ‘वर्षको दुई÷तीन लाख त क्रिकेटकै लागि छुट्याउनुपर्छ,’ जिल्लामा निर्माण कम्पनीसँगै व्यवसायसमेत सञ्चालन गरिरहेका रोशनले भने।

रोशन जिल्लामा मात्रै होइन, देशभर नै लोकप्रिय छन् भन्ने पुष्टि गत असोज ११(२०७६) मा भएको नेपाल क्रिकेट संघ(क्यान)को चुनावमा भयो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)बाट निलम्बनमा परेको साढे ३ वर्षपछि क्यानको विशेष साधारण सभामा देशभरका ५९ प्रतिनिधि सहभागी थिए। उम्मेदवारहरूमध्ये सर्वाधिक(४५) लोकप्रिय मत ल्याएर उनी विजयी भए। रोशनकै लोकप्रियताको प्रभावस्वरूप उनको पूरै प्यानलले नै क्यानको निर्वाचनमा क्लिन स्विप गर्‍यो।

विनयराज पाण्डे क्यानको अध्यक्ष(२००५–२०१०) हुँदा समेत रोशन केन्द्रीय सदस्य थिए। त्यसबेला खेलाडीको भत्ता जम्मा ३ सय रुपैयाँ थियो। पदाधिकारीले विभिन्न नाममा लिने सेवा–सुविधाभन्दा खेलाडीको निकै कम भएको भन्दै जोडतोडले आवाज उठाउने पहिलो व्यक्ति रोशन नै थिए। त्यहीबेलादेखि हक्की, निडर र सकारात्मक अडान स्पष्ट राख्ने व्यक्तिका रूपमा उनको पहिचान बनेको थियो।

‘सायद त्यही पहिचानले पनि काम गर्‍यो  होला,’ लोकप्रिय मतका साथ विजयी हुनाको कारणबारे अनुमान लाउँदै रोशनले भने, ‘जिल्लादेखि नै म क्रिकेटमा सक्रिय भएर काम गर्दै आएको छु। क्रिकेटमा केही गर्न सक्ने मान्छे हुँ भन्ने बुझी साथीहरूले ठूलो जिम्मेवारीको बोझ ममाथि थुपारिदिनुभएको हो।’

चुनौतीपूर्ण जिम्मेवारी
आईसीसीले क्यानलाई निलम्बन गर्दा देखाएका विभिन्न कारणमध्ये एक आर्थिक अपारदर्शिता मुख्य थियो। नियमित रूपमा आफूले पठाएको बजेटको चुस्त–दुरुस्त हिसाब नराखेको र नपठाएको आईसीसीको आरोप थियो।

क्यान निलम्बन फुकुवा गर्दा पनि आईसीसीले ससर्त फुकुवा गरेको हो। उसले राखेको सर्तमा आर्थिक हिसाब–किताब चुस्त–दुरुस्त हुनुपर्ने जनाएको छ। त्यही चुनौतीपूर्ण जिम्मेवारीसाथ रोशन सर्वाधिक मतसहित क्यानको जिम्मेवारीमा चुनिएका हुन्। त्यसबारे सचेत उनी भन्छन्, ‘जहिलेसम्म म क्रिकेटमा रहें एक पैसा पनि तलमाथि हुन दिन्नँ। मलाई क्रिकेटको मात्रै लोभ हो। क्रिकेटबाट आउने पैसासँग लोभ छैन।’

rosha singh2
क्यानमा उनी आर्थिक पारदर्शिता कायम राख्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारीमा छन्। तस्बिर: स्नेहा केसी

विगतभन्दा आफ्नो पालामा आर्थिक अनुशासन राम्रो हुने उनले दाबी गरे। ‘सबैले विश्वास गरेर मलाई जुन जिम्मेवारी दिनुभएको छ। म त्यसको सम्मान हुने गरी काम गर्नेछु। मेरो काम गराइबाट कहिल्यै गलत काम गरेको कसैले सुन्न पाउने छैन।’

सुरुवाती संघर्ष
जलेश्वरमा रोशन १२–१३ वर्षको उमेरमा स्कुल पढ्दा त्यहाँ सिनियर दाइहरू क्रिकेट खेल्थे। सुरुमा बाउन्ड्री बाहिर आएको बल भित्र फालिदिने रोशनलाई पछि ती दाइहरूले टिममा राख्दै खेलाउन थाले।

क्रिकेट भारतमा सबैभन्दा लोकिप्रय खेलका रूपमा स्थापित छ। रोशनको घर नेपाल–भारत सीमाभन्दा ५ किलोमिटरमात्रै वर  पर्थ्यो। अधिकतर प्रतियोगिता सीमापारिका सीतामढी, चरोड, मधवा, सुसन्दलगायत ठाँउमा हुन्थे। त्यहाँको प्रभाव जलेश्वरमा पनि त्यत्तिकै थियो। त्यसबेला नेपाल–भारतका गाउँगाउँका टोलीबीच क्रिकेट म्याच चल्थ्यो।

सोही क्रममा सीमावर्ती भारतको सकडी भन्ने टिमसँग १४ वर्षको हुँदा सिनियर दाइहरूसँग पहिलो खेल खेलेको उनलाई अहिले पनि सम्झना छ। ‘त्यस खेलमा ५ विकेट लिनुका साथै र १७ रन हानेपछि म सबैको रोजाइमा पर्न थाले,’ उनी सम्झन्छन्।

यो पनि: खेलकुद मन्त्रीको खटाइ : मन्त्रालयमा भन्दा बढी रंगशालामा

अर्को वर्ष थप क्रिकेट अघि बढाउन उनी उत्तरप्रदेशको मदवानी जिल्लाबाट यू–१९ को ट्रायल दिन पुगे। छनोट पनि भए। त्यहाँबाट पटना हुँदै उनी दिल्लीसम्म खेल्न गए। दिल्लीमा खेल्दा साहरा(कम्पनी)को २५ वर्ष पुगेको अवसरमा उनलाई राम्रो खेलेको भन्दै ब्याट पुरस्कार दिइएको थियो। त्यो पाउँदा गर्व लाग्नाका साथै अब जिल्ला गएर केही गर्नुपर्छ भन्ने इख पलाएको उनी बताउँछन्।

जलेश्वर फर्केर रोशनले आफ्ना साथी रवीन्द्रबहादुर सिंह(हाल डीएसपी)लगायतसँग मिलेर जलेश्वर क्रिकेट क्लब खेले। क्लबमा सामाग्री जुटाउन पुस्तकालयको अवधारणा निस्कियो। सीमावर्ती भारतीय बजारबाट उनीहरू बालबालिकाले पढ्ने कमिक्स पुस्तकहरू ल्याएर पुस्तकालयमा राख्थे। त्यो पढ्न चाहनेले केही पैसा दिएर भाडामा लैजान पाउँथ्यो। त्यसबाट जम्मा भएका पैसाले उनीहरूले बल ब्याटलगायत क्रिकेट सामाग्रीहरू भेला पारे। ‘त्यही हाम्रो सामाग्रीको लोभले पनि सिनियर दाइहरूले हामीलाई निरन्तर टिममा राख्थे,’ रोशन सम्झन्छन्।

rosha singh24
यू-१९ स्तरसम्म रोशन अलराउण्डर क्रिकेटर थिए। तस्बिर: स्नेहा केसी।

त्यसबेला वीरगन्ज क्रिकेट क्षेत्र नम्बर २ मा पर्थ्यो। उनी राष्ट्रिय प्रतियोगिताका लागि क्षेत्रीय टोली छनोट खेल्न वीरगन्ज पुगेका थिए। ‘मेरो प्रदर्शन राम्रै भएको थियो। तर छनोटकर्ताले तिमी नयाँ अनुहार छौ। तिमी अर्कोपटक ट्राइ गर भने,’ रोशनले सम्झे, ‘म अलि सन्की खालको पनि थिएँ। मभन्दा पनि तल्लो प्रदर्शन भएकाहरू टिममा परे पनि मैले छनोटकर्तालाई अपशब्दै प्रयोग गरेर त्यसबेलादेखि क्रिकेटै खेल्न छाडिदिएँ।’

त्यसपछि रोशन क्रिकेट मैदानमा नउत्रिनाको अर्को कारण पारिवारिक पनि थियो। त्यहीबेला उनको पारिवारिक व्यवसाय पनि धरासयी भएको थियो। उनीहरूको बस थियो, तर त्यसमा लगातार घाटा भइरहेको थियो।

‘परिवारको अंश भइसकेपछि मेरो पनि परिवारलाई उठाउने जिम्मेवारी बन्छ,’ १९ वर्षे कलिलै उमेरमा परिवारप्रतिको जिम्मेवारी बोध गरेका रोशनले भने, ‘त्यसपछि म विदेश पनि गएँ। ३-४ वर्ष हामीलाई पारिवारिक व्यवसाय ठीक ठाँउमा ल्याउन लाग्यो। मेरो सम्पूर्ण ध्यान त्यसैमा केन्द्रित भयो।’

यो पनि: च्याम्पियनलाई एक मौका नै काफी

यो पनि: ‘क्रियटिभ’ क्रिकेटर ज्ञानेन्द्र

तीन-चार वर्ष पूरै पारिवारिक काममा व्यस्त रोशन एक हिसाबले क्रिकेट मैदानबाट टाढा भइसकेका थिए। तर, उनलाई क्रिकेटले भने छाडेन।

एक दिन केही स्थानीय खेलाडीले उनीसामु आएर गुनासो पोखे, ‘जिल्ला क्रिकेट संघले केही काम गर्दैन। हामी अभिभावकविहीन जस्तै भयौं। दाइ अब तपाई आइदिनुपर्यो।’

रोशनले पनि सम्पूर्ण स्थिति बुझे। तत्कालीन क्रिकेटको नेतृत्वबारे बुझ्दा बलसमेत उपलब्ध गराउन नसक्ने, पुरस्कार वितरणका लागि बोलाउँदा पनि मसँग केही माग्छ कि भन्ने डर राखेर नआउने खालको मान्छे भएको भेट्टाए। त्यसपछि स्थानीय क्रिकेटरको साथ पाएका उनले जिल्ला खेलकुद विकास समितिमा सुरुमा नेतृत्वले काम गर्नुपर्ने कि पद छाड्नुपर्ने भन्दै पत्र बुझाए। त्यसको पनि सुनुवाई नभएपछि ताला ठोके।

रोशनको सपना

rosha singh27
आफ्नो क्षेत्रमा इन्डोर क्रिकेट बनाउँने रोशनको सपना छ। तस्बिर: स्नेहा केसी।

महोत्तरीका जनताको मुख्य समस्या बाढी हो। वर्षामा आउने बाढीले त्यहाँको जनजीवनसँगै क्रिकेटलाई पनि प्रभाव पार्ने गरेको छ। लगानी गरेर बनाएका खेल मैदान पनि बाढीले बिगारिदिन्छ।सोही कारण रोशनको जलेश्वरमा इन्डोर क्रिकेट बनाउने सपना छ। जसमा बाह्रैँ महिना क्रिकेट खेल्न सकियोस्। बाढीले असर नपुर्याओस्। त्यसका लागि उनी जग्गाको खोजीमा छन्।

‘हामीले जलेश्वर नगरपालिकाको मेयरसँग पनि १५ कठ्ठा जग्गा आवश्यक हुनेबारे सल्लाह गरिसकेको छु,’ उहाँहरू पनि सकारात्मक हुनुहुन्छ,’ रोशनले आफ्नो सपना सुनाए, ‘त्यही एउटा इन्डोर क्रिकेट बनाउन पाए बाह्रै महिना खेलाडीले खेल्न पाउने थिए। क्रिकेट मासिदैनथ्यो।’

यो पनि: रुविना क्षेत्री: आमाले हुर्काएकी स्टार 

यो पनि- अप्सरी अठोट: अब निर्धक्क क्रिकेट खेल्छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .